जातीय विभेद : प्रेम विवाह असफल हुँदा आत्महत्या !

जनकपुरधाम । करमाहा बजारमा सरसामान किनिरहेका सप्तरी सुरुङ्गा नगरपालिका-७ पोखरियाका प्रमोद पासवानलाई साउन २३ मा जेठी छोरी आरतीले फोन गरेर चाँडो घर आउन भनिन् । हतार हतार पासवान दम्पत्ति घर पुगे । घर पुग्दा पासवान दम्पत्ति त्यतिखेर बेहोस भए, जतिखेर कान्छी छोरीलाई भान्सा कोठामा झुण्डिएको अवस्थामा देखे ।

सप्तरीको सुरुङ्गा नगरपालिका-७ पोखरियाकी २० वर्षीया ज्योति पासवानले प्रेम विवाह असफल भएका कारण आत्महत्या गरेको ठानिएको छ ।

छिमेकी २५ वर्षीय कृष्ण मिश्रसँग ज्योतिको माया-प्रेम बस्यो । समाजले दलित करार गरेको दुसाधकी छोरी ज्योति र कथित उपल्लो जात ब्राह्मण समुदाय कृष्णको माया-प्रेम गहिरिँदै गयो ।

दुबैले सँगै जीवन बिताउने अठोट गरिसकेको भएपनि घरपरिवारमा कसैलाई थाहा थिएन । ज्योति र कृष्णले समाजमा विद्यमान जातीय भेदभावका कारण आफूहरुको प्रेम सफल नहुनेबारे पनि छलफल गरेका थिए । उनीहरुको जोडीलाई समाजले नस्वीकार्ने भएपछि त्यसको विकल्प पनि तयार पारेर राखेका थिए, भागेर बिहे गर्ने ।

कृष्णले घरपरिवारले कुनै हालतमा स्वीकार्ने अवस्था नदेखेपछि ज्योतिलाई भगाएर बिहे गर्ने योजना बुनाएका थिए । जसअनुसार कृष्णले ज्योतिका घरपरिवार र उनको समुदायलाई जानकारीसहित प्रतिवद्धता पनि व्यक्त गरे- ‘ज्योतिलाई लिएर जाने र आफूले बिहे गर्ने ।’ त्यसैअनुसार फागुन १० गते राति ज्योति र कृष्ण दुवैजना घरबाट भागे ।

भागेको चार महिनासम्म दुबैजना राम्रैसँग बसे । चार महिना पछि एक दिन ज्योतिलाई छाडेर कृष्ण आफैँ भागे । कृष्णसँग कुनै सम्पर्क हुन नसक्दा ज्योती तनाबमा परिन् । तनाब बढ्दै जाँदा उनले आत्महत्याको बाटो रोजेको उनको परिवारका सदस्य बताउँछन् ।

चार महिनापछि ज्योतिलाई होटेलमा छाडेर भागे कृष्ण
कृष्ण र ज्योति भागेर गएपछि तीन महिनासम्म अज्ञात ठाउँमा बसे । कृष्णले ज्योतिले सिन्दुर लगाएको र आफूसँगै भएको तस्बीर बेला-बेला आफ्नो फेसबुकमार्फत सार्वजनिक गरिरहन्थे । तर आफू बसेको ठाउँबारे कसैलाई जानकारी दिएनन् । ज्योतिले भागेको केही समयपछि जनकपुरस्थित एक मन्दिरमा विवाह गरेको घरपरिवारलाई बताएकी थिइन् ।

भागेको केही समयपछि माईतीमा समेत फोन गर्न छाडेकी ज्योतिले घरबाट भागेको झण्डै चार महिनापछि गत असार २ मा आमा इनरदेवी पासवानलाई फोन गरिन् ।

सिरहा लहानस्थित पुष्पाञ्जली लजमा रहेकी ज्योतिले आमालाई कृष्णले आफूलाई लजमा छाडेर भागेको फोेनमा जानकारी गराईन । ज्योतिले आमालाई कृष्णले आफूलाई छाडेर गएको दुई दिन भईसकेको र आफ्नो मोबाइल पनि लिएर गएको जानकारी गराईन ।

छोरी समस्यामा रहेको बुबा प्रमोदले गाउँ समाजमा जानकारी गराए । समाजका अगुवासहित असार ३ मा उनीहरु इलाका प्रहरी कार्यालय लहान पुगे । त्यहाँबाट प्रहरीसहित छोरी अलपत्र परेको लजमा पुगे र त्यहाँबाट ज्योतिलाई जिम्मा लिएर घर लगे ।

करिब दुई महिनादेखि आमाबुबासँगै आफ्नै घरमा बस्दै आएकी ज्योति कृष्णसँग कुनै सम्पर्क नहुँदा तनावमा थिइन् । बुवा प्रमोदले भने- ‘कृष्ण बेपत्ता भएदेखि कहिल्यै सम्पर्कमा आएनन् । कृष्णले धोका दिएकै कारण छोरी ज्योति केही दिनदेखि डिप्रेसनमा थिइन् ।’

ज्योति बिचल्लीमा परेर परिवारको सम्पर्कमा पुगेपछि आफूलाई कृष्णले मिर्चैयामा डेरा लिएर राखेको जानकारी गराएकी थिइन् ।

ज्योतिको अरुसँग बिहेको कुरा चल्दा हो-हल्ला गरेका थिए कृष्णले
फागुनतिर ज्योतिको अन्यत्रै बिहेको कुरा चलिरहेको सूचना कृष्णले पाए । उनको हात माग्न आएको सूचना पाएपछि फागुन ८ मा कृष्णले राति रक्सी खाएर हो-हल्ला गरेको बुवा प्रमोदले बताए ।

कृष्णले पासवानको घर आएर ज्योतिसँग आफूले विवाह गरिसकेको भन्दै होहल्ला गरे । बुवा-आमाले ज्योतिलाई सोध्दा उनले पनि जनकपुरको मन्दिरमा गएर विवाह गरेको बताइन् । हामीले पनि छोरीको खुसीका लागि विवाह गरिदिने निर्णय ग-यौँ पासवानले भने ।

ज्योतिसँग आफूले विवाह गरिसकेको भन्दै कृष्णले हो-हल्ला गरेपछि गाउँमा वडाध्यक्षकै रोहबरमा पञ्चायती पनि भयो । वडाध्यक्ष शिवनारायण चौधरीको रोहवरमा दलित युवतीसँग विवाह गरेपछि सम्पत्तिमा कुनै अधिकार नपाउने भन्दै कृष्णसँग उनको परिवारले कागज पनि गराएको थियो ।

कृष्णलाई परिवारजनले भगाएको आरोप
कृष्णलाई भगाउनमा उनको घरपरिवार र छरछिमेकीको पनि संलग्नता रहेको ज्योतिको परिवारको आरोप छ । ज्योति तल्लो जातकी छोरी भएकीले कृष्णलाई उनका बुबा अखिलेश मिश्रलगायत घरपरिवारले छाडेर भाग्न सल्लाह दिएको प्रमोदले दाबी गरे ।

घटनापश्चात ज्योतिका परिवारलगायत दलित अगुवाहरुले दोषी कृष्णलगायत उनको परिवारलाई कारबाहीको माग गरेका छन् । ज्योतिलाई प्रेमजालमा फसाएर चार महिनासम्म यौन शोषण गरेर धोका दिएकै कारण तनावमा आई ज्योतिले आत्महत्या गरेको दलित अगुवाहरूको निष्कर्ष छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *