आधा किलो सुनसहित कैलालीबाट तीन जना पक्राउ

धनगढी । आधा किलो अवैध सुनसहित कैलालीबाट तीन जना पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, अपराध अनुसन्धान समूह (आरआइटी) र ईलाका प्रहरी कार्यालय मालाखेतीको संयुक्त टोलीले तीन जनालाई ४४९.७७ ग्राम सुनसहित पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनालाई कैलाली प्रहरीले बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले शैलेश्वरी सुनचाँदी पसल अत्तरियाका सञ्चालक समिर सिजापती, सोही सुनचाँदी पसलमा कार्यरत सुनसरीका राजु बिक र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका- ८ का भवानी घिमिरेलाई पक्राउ गरिएको जानकारी दिए ।

काठमाडौ‌ँबाट अत्तरिया हुँदै महेन्द्रनगरतर्फ जाँदै गरेको ना ८ ख ८३४९ नम्बरको महाकाली यातायातको बसलाई चेकजाँच गर्दा बसका कन्डक्टर घिमिरेको साथबाट ४९.९५ ग्राम अवैध सुनको बाला र नगद २६ हजार बरामद गरिएपछि अन्त्य दुई जना पक्राउ गरिएको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

उनका अनुसार सोही बसमै सवार राजु विकको साथबाट सुनको बाला र सिक्री गरी जम्मा ३४९.८७ ग्राम अवैध सुन बरामद गरिएको हो । उनको साथबाट नगद ६ हजार ९ सय बरामद गरिएको छ ।

उनीहरुसँग सोधपुछ गर्ने क्रममा सुन अत्तरियाका व्यवसायी समिर सिजापतीको खुलेपछि सिजापतीलाई पनि पक्राउ गरिएको हो । सिजापतीको खानतलासी गर्दा उनको साथबाट ४९.९५ ग्राम अवैध सुनको बाला र १६ हजार तीन सय नगद बरामद भएको प्रहरीले जनाएको छ ।

भवानी घिमिरे र समिर सिजापतीको साथमा कतार दोहाको बिल रहेको तर किन्ने व्यक्तिको विवरण फरक रहेको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट ४९ हजार बढी नगद र ५ थान मोबाइल पनि बरामद गरिएको छ ।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय, कोहलपुर पठाइने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *