रेल्वे कम्पनीका प्रहाप्रबन्धक भट्टराईले दिए राजीनामा

काठमाडौँ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले पदबाट राजीनामा दिएका छन् । सरकारले पदीय जिम्मेवारीभन्दा बहिरका विषयहरू जोडी आफूलाई स्पष्टीकरण सोधेको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा राजीनामा बुझाएका हुन् ।
‘विभिन्न बहाना बनाई मेरो पदीय जिम्मेवारीभन्दा बाहिरका असान्दर्भिक विषयहरू जोडी नागरिकको संविधानप्रदत्त मौलिक हकअन्तर्गतको वाक् स्वतन्त्रता कुण्ठित गर्ने ढङ्गले सरकारमा सामेल गठबन्धनभित्रका राजनीतिक दल र गुटविशेषका नेताहरूको आदेश र निर्देशनमा मलाई सफाइ पेश गर्ने सम्बन्धमा लेखिएको पत्र प्राप्त भई व्यहोरा अवगत भयो‚’ राजीनामा पत्रमा लेखिएको छ ।
आफूले इमान्दारिपूर्वक काम गरिरहँदा पनि संविधानमा व्यवस्था नै नभएको विषयमा आरोप लगाई स्पष्टीकरणको नाटक मञ्चन गरिएको भन्दै आफ्नो पदीय जिम्मेवारीबाट राजीनामा दिने निर्णय गरेको पत्रमा उल्लेख गरिएको छ ।
वर्तमान सरकारलाई अवाञ्छित स्वार्थहरूले बनेको गङ्गटे सरकारको संज्ञा दिँदै भट्टराईले यस्तो सरकारका जनविरोधी कामको मुकदर्शक बनेर बस्न नसकिने बताएका छन् ।










