भीम आचार्य भन्छन्ः

‘एमाले फुटाउने प्रयत्न भइरहेको छ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव भीम आचार्यले एमाले फुटाउने प्रयत्न भइरहेको बताएका छन् । बुधबार (आज) ८ बुँदे अपिलपत्र जारी गर्दै आचार्यले यस्तो बताएका हुन् । ‘दुनियाँभरकै प्रतिक्रियावादी शक्तिहरू, देशभित्रका प्रतिगामी सत्ताच्यूत तत्वहरू र राम्रो काम गरेर होइन अरूलाई बिगारेर, छिर्के लगाएर, फुटाएर सत्तामा जान लालायीत प्रतिश्पर्धी शक्ति नेकपा एमालेलाई फुटाउने प्रयत्न गरिरहेको छ,’ आचार्यले अपिलपत्रमार्फत भनेका छन् ।

पार्टी एकताको पक्षमा कुरा गर्नेमाथि आक्रमण शुरु भएकोसमेत आचार्यले उल्लेख गरेका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेका आचार्यले त्यस्ता आक्रमण र बदनामी गराउने प्रयासबाट हतोत्साहित नहुने जिकिरसमेत गरेका छन् ।

पार्टी एकताको आधार असार २७ गते कार्यदलले तयार पारेको १० बुँदे प्रस्तावना नै भएको बताउँदै आचार्यले भनेका छन्, ‘गत असार २७ गते भएको १० बुँदे सहमति सम्मानजनक पार्टी एकताको मुख्य आधार हो । यसैमा टेकेर एकताको शुभारम्भ गर्दै थप समस्याहरू हल गर्दै जान सकिन्छ ।’

यस्तो छ आचार्यको ८ बुँदाः
(१) एकातिर गत फागुन २८ गतेबाट शुरू भएको विभाजनकारी प्रवृत्तिहरू कतिपय बोलि, बचन, काम, ब्यवहार र निर्णयहरूमा हालसम्म पनि प्रकट भइरहेका छन्।(२) अर्कोतिर त्यो प्रवृत्तिको विरोधमा पार्टी एकताको झण्डा उठाउनुपर्ने अपेक्षा गरिएको पक्षका काम, कारबाही, सर्त, माग र गतिविधि विभाजनकै पक्षमा प्रकट भइरहेका हुन् कि, भन्ने आशंका बढेर गएको छ।(३)पक्ष २ वटा प्रवृति एउटै विभाजनकारी नहोस् भन्ने आम कार्यकर्ताको अपेक्षा हो।

(४) दुनियाँभरकै प्रतिकृयावादी शक्तिहरू, देशभित्रका प्रतिगामी सत्ताच्यूत तत्वहरू र राम्रो काम गरेर होईन अरूलाई बिगारेर, छिर्के लगाएर, फुटाएर सत्तामा जान लालायीत प्रतिश्पर्धी शक्ति नेकपा एमालेलाई फुटाउने प्रयत्न गरिरहेको छ।

(५) नेकपा एमालेका देश विदेशमा भएका लाखौं कार्यकर्ता, समर्थक, शुभचिन्तक तथा जनसमुदायहरू नेपालको बामपन्थी आन्दोलन र नेकपा एमालेको एकताको पक्षका छन् तर उनीहरू पार्टी बचोस् भन्ने अपेक्षा गर्ने तर केही गर्न नसक्ने तमासे जस्ता भएका छन् र विडम्बना उनीहरु नेतृत्वविहिन पनि छन्।

(६) गत असार २७ गते भएको १० बुँदे सहमति सम्मानजनक पार्टी एकताको मुख्य आधार हो। यसैमा टेकेर एकताको शुभारम्भ गर्दै थप समस्याहरू हल गर्दै जान सकिन्छ। विना जालझेल, छलछाम र हिच्किचाहट रूपमा यसलाई लागू गर्नुपर्छ।

(७) हाल पार्टी एकताको कुरा गर्नेमाथि आक्रमण गर्ने, निरूत्साहित-हतोत्साहीत गर्न खोज्ने, अनेक आरोप लगाए र बदनाम गर्ने प्रयासहरू भइरहेका छन्। त्यसबाट एकता पक्षधरहरू हतोत्साहित हुनु हुँदैन।

(८) टुट-फुट र विभाजनकारी प्रवृत्तिलाई हतोत्साहित गर्दै संगीन घडीमा पुगेको पार्टी एकताको रक्षा गर्न र त्यसमा बल प्रदान गर्न म देश-विदेशमा रहनुभएका सम्पूर्ण न्यायप्रेमी नेपाली दाजुभाई दिदी बहिनीहरूमा हार्दिक अपिल गर्दछु।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *