निजी विद्यालयका प्रिन्सिपलद्वारा विद्यार्थीको परिवारमाथि नै कुटपिट

जनकपुरधाम । सिरहाको एक निजी विद्यालयका प्रिन्सिपलले विद्यार्थीको अभिभावकलाई कुटपिट गरेका छन् । उनले समयमै शुल्क बुझाउन नसक्दा एक विद्यार्थीको सिंगो परिवारलाई नै निर्घात कुटपिट गरेका हुन् ।

जिल्लाको मिर्चैया नगरपालिका-१० स्थित रादजेवी इङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल रामकुमार साहले स्थानीय अशोक साहको परिवारलाई कुटपिट गरेको परिवारले जनाएको छ । मिथिलेश्वर बजारमा पान पसल सञ्चालन गर्दै आएका अशोकको तीन छोरी र एक छोरा गरी चार सन्तान छन् । चार सन्तानमध्ये अशोकका कान्छो छोरा नविनकुमार साह सोही विद्यालयमा युकेजीमा अध्ययनरत रहेको र विद्यालयको ५/६ हजार जति शुल्क बाँकी रहेकाेमा त्यो शुल्क बुझाउन नसक्दा कुटपिट गरेको परिवारले बताएको छ ।

सोमबार दिउँसो साढे १२ बजेतिर अशोक पान पसलमै बसिरहेको बेला बाँकी पैसा माग्न प्रिन्सिपल साह पसलमा आए । अशोकले लकडाउनका कारण आर्थिक समस्या रहेको भन्दै पैसा तिर्न केही दिनको समय मागेपछि प्रिन्सिपल साहले अहिले नै पैसा दिनुपर्छ भन्दै अपशब्द बोल्दै गाली गर्न थालेपछि आफूले त्यसरी नबोल्न भन्दा कुटपिट गर्न थालेको अशोकले बताए ।

‘लकडाउनका कारण व्यापार व्यवसाय नचलेपछि बिहान बेलुकाको छाक टार्न समेत धौधौ परिरहेको छ, जसकारण समयमै शुल्क बुझाउन सकिन,’ अशोकले भने, ‘केही दिनको समय मागेपछि अहिले नै दिनुपर्ने भन्दै उहाँले गालीगलौज र कुटपिट गर्न थाल्नुभयो ।’

अशोकलाई कुटपिट गरिरहेको देखेपछि छुटाउन गएका परिवारका अन्य सदस्यलाई समेत प्रिन्सिपल साहले कुटपिट गरेको अशोकले बताए । प्रिन्सिपल साहको कुटपिटबाट अशोककी पत्नी सुनिता देवी साह, जेठी छोरी सरिता साह, माइली छोरी अञ्जली साह घाइते भएका छन् । कुटपिटबाट अशोक र जेठी छोरी सरिता गम्भीर घाइते छन् ।

अशोकको टाउकोमा हेलमेटले हान्दा उनी बेहोस छन् भने छोरी सरिताको हात भाँचिनुका साथै टाउको पनि फुटेको छ । उनीहरु दुबैलाई मिर्चैयामा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगर पठाइएको छ । अन्यको भने स्थानीय स्तरमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनापछि प्रिन्सिपल साह फरार छन् । उनको खोजीकार्य भइरहेको मिर्चैया प्रहरीले जनाएको छ । प्रिन्सिपल फरार भएपनि उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले बताए ।

प्रतिक्रिया

One thought on “निजी विद्यालयका प्रिन्सिपलद्वारा विद्यार्थीको परिवारमाथि नै कुटपिट

  1. जात नै तेलिया साह हो एक रूपैया कहा छोड्छ र… तर हामी जनता पनि के कम कुटेर तेल पेराऊछौ… न की स्कूल चलाऊं दिन्छु

Leave a Reply

Your email address will not be published. Required fields are marked *