१२ वर्षपछि नातिनी हत्यामा संलग्न पक्राउ

विराटनगर । वि.सं. २०६६ वैशाख १६ गते सुनसरीमा एउटा घटना घट्यो- एक बालिकाको घाँटी निमोटेर हत्या भएको ।

साविकको भोक्राहा गाविस- २ मा घरमै रहेकी बालिकालाई उनकै हजुरबुबाले हत्या गरेको प्रहरीले पत्ता लगायो । ५ वर्षीया सोशिलाकुमारी खत्वेलाई घाँटी बटारी मारेर प्लास्टिकको बोरामा हालेर खेतमा गाडेको अवस्थामा प्रहरीले फेला परेको थियो । अनुसन्धानको क्रममा प्रहरीले फरार रहेका मृतक बालिकाका हजुरबुबा बसन्त खत्वेले घाँटी बटारेर हत्या गरेको तथ्य फेला पार्‍यो ।

अदालतमा मुद्दा पुग्यो । अदालतले खत्वेलाई २०७४ साल वैशाख २४ गते जन्मकैदको फैसला सुनायो । फरार रहेका उनलाई प्रहरीले खोजी गर्दै गयो तर‚ उनी फरारकै सूचीमा रहे । भारतीय बजार तथा नेपालका विभिन्न ठाउँमा लुकेर हिँडेका खत्वेलाई प्रहरीले केहि दिनअघि नियन्त्रणमा लियो ।

६२ वर्षीय खत्वे अहिले जेल चलान भइसकेका छन् । यो त एउटा प्रतिनिधिमुलक घटनामात्र हो । यस्ता घटनामा संलग्नलाई प्रहरीले खोजी खोजी नियन्त्रणमा लिन थालेको छ ।

२३८ जना एक महिनामा पक्राउ
जिल्ला प्रहरी कार्यालय सुनसरीले एक महिनाको अवधीमा विभिन्न मुद्दाका २३८ जनालाई पक्राउ गरेको छ । विभिन्न मुद्दामा अदालतले दोषी ठहर गरेको तर फरार व्यक्तिहरूलाई पक्राउ गरी अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ पर्नेहरू ५ दिनदेखि २० वर्षसम्म कैद सजाय तोकिएका प्रतिवादीहरू रहेको सुनसरी प्रहरीले जनाएको छ ।

साउन १ गतेदेखि २५ गतेसम्म सुनसरी अदालतबाट कैद र जरिवाना तोकी फैसला भएका तर तोकिएको सजाय भुक्तान नगरी फरार रहेका अभियुक्तहरूलाई खोजतलास गरी जिल्ला अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले बताए ।

कर्तव्य ज्यान, डाँका, अपहरण तथा शरीर बन्धक, कुटपिट, चोरी, किर्ते, जालसाजी, लागुऔषध, ज्यान मार्ने उद्योग, भ्रष्टाचारलगायतका मुद्दामा सजाय तोकिए पनि फरार रहेका उनीहरुलाई पक्राउ गरिएको थापाले बताए । उनीहरूबाट ४९ वर्ष कैद सजाय फर्छ्यौट भएको र ९ लाख ३५ हजार ३ सय १९ रुपैयाँ जरिवानासमेत असुल भएको सुनसरी प्रहरीले जनाएको छ।

‘फरार पक्राउको यस अभियानले अपराधिक घटना घटाई समाजमा निस्फिक्री हिँड्ने प्रवृत्तिविरुद्ध लक्षित छ,’ उनले भने, ‘अपराध गरी जतिसुकै भागे पनि उन्मुक्ति पाउन सकिँदैन भन्ने सन्देश यो अभियानले दिएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *