क्यानडेली नागरिकको मृत्युदण्डविरुद्धको अपील चिनियाँ अदालतद्वारा अस्वीकार

काठमाडौँ । चिनियाँ अदालतले एक क्यानडेली नागरिकलाई सुनाएको मृत्युदण्डको फैसलाविरुद्धको अपिललाई चिनियाँ पुनरावेदन अदालतले अस्वीकार गरेको छ । सन् २०१८ मा लागुऔषध ओसारपसारमा क्यानडेली नागरिक रोबर्ट लोइड सेलेनबर्ग पक्राउ परेका थिए ।
अमेरिकी च्यानल सीएनएनका अनुसार चीनको लियाओनिङ उच्च जनअदालतले मंगलबार फैसला सुनाउँदै पहिलो ट्रायलकै फैसलामा प्रमाण र सत्यतथ्य भएको भन्दै मृत्युदण्डको फैसलालाई सदर गरेको हो । क्यानडाका परराष्ट्रमन्त्री मार्क गार्नेउले भने चिनियाँ अदालतको फैसलाको विरोध गरेका छन् ।
सन् २०१९ को अदालतले क्यानडेली नागरिकलाई सन् २०१४ को नोभेम्बरमा २२२ किलोग्राम मेथामफेतामिन अस्ट्रेलियामा तस्करी गरेर लाँदै गरेको अभियोगमा उक्त सजाय सुनाएको थियो । पछिल्लो समयमा चिनियाँ र क्यानडेली सरकारबीच विवाद चुलिएको छ ।
हुवावेका प्रमुख आर्थिक अधिकारी मेङ वाङजोलाई सन् २०१८ डिसेम्बरमा पक्राउ गरेपछि यो विवाद चुलिएको हो । क्यानडाले हुवावेका उच्च अधिकारी पक्राउ गरेलगत्तै चीनले पनि माइकेल स्पाभोर र माइकेल कोभ्रिकलाई चीनको ‘राष्ट्रिय सुरक्षा’मा असर पारेको भन्दै पक्राउ गरेको थियो ।
अहिले यी दुवै देश एक-अर्कालाई आरोप प्रत्यारोप लगाउँदै आएका छन् ।








