राष्ट्रिय वाणिज्य बैंकले सुरु गर्‍यो क्रेडिट कार्ड सेवा

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले क्रेडिट कार्ड सेवा सुरु गरेको छ ।

बैंक संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीले बैंकका ग्राहक एवं एसियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दिपककुमार श्रेष्ठलाई एक कार्यक्रमका बीच क्रेडिट कार्ड हस्तान्तरण गर्दै सेवाको शुभारम्भ गरेका हुन् ।

समारोहमा बैंक संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीले ग्राहकको चाहनाअनुसार नयाँ-नयाँ बैंकिङ्ग प्रोडक्टको अनुसन्धान गर्नुपर्ने बताउँदै यस्तो सेवाले ग्राहकवर्गको आर्थिक कारोबारमा सहजता हुने बैंकले विश्वास लिएको बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले क्रेडिट कार्डको शुभारम्भपछि पूर्ण डिजिटल बैंकिङ्गतर्फ बैंक अगाडि बढिरहेको बताउँदै नेपाल, भारत र भुटानमा चल्ने यो सेवा बैंकका सबै शाखा कार्यालयबाट माग गर्न सकिने बताए ।

एशियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दिपककुमार श्रेष्ठले बैंकको पहिलो क्रेडिट कार्ड ग्राहक हुन पाउँदा खुसी लागेको बताउँदै बैंकको व्यवसाय विस्तारको लागि शुभकामना व्यक्त गरे ।

समारोहमा उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनीले प्रतिस्पर्धी बजारमा सस्तो ब्याजदरमा दिइने क्रेडिट कार्ड ग्राहकको आयश्रोत एवं भुक्तानी क्षमताको आधारमा ग्राहकलाई २० हजार देखि पाँच लाख रुपैयाँसम्मको क्रेडिट लिमिट दिन सकिने बताए ।

डिजिटल बैंकिङ्ग विभागका प्रमुख ऋषिराम ढकालले क्रेडिट कार्डबाट ग्राहकले दैनिक रकम भुक्तानी, अनलाइन सपिङ्ग, तोकिएको सीमाभित्र रहेर नगदसमेत झिक्न मिल्ने सुविधा रहेको बताए ।

बैंकको हाल ७७ जिल्लामा २४७ वटा शाखा कार्यालय, २०९ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ्ग रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 12 =