खोपका कारण तनावमा वडाध्यक्षहरु, भन्छन्- पर्याप्त मात्रामा नआए लगाउँदैनौँ

विराटनगर । अहिले अधिकांश वडाहरुमा जाने खोपको परिमाण वडाध्यक्षहरुको टाउकोदुखाइको विषय बनिरहेको छ । यता विराटनगर महानगरपालिकामा पनि अवस्था फरक छैन । विभिन्न उमेर समूहलाई दिँदै आएको खोपको परिमाणका कारण वडाहरुमा समस्या भएको छ ।

उमेर समूहको आधारमा खोप दिनसक्ने अवस्था नहुँदा वडाध्यक्षहरु तनावमा छन् । एथेष्ट खोप नआउँदा उमेर समूह भनेर वडामा थेग्न नसकिने अवस्था रहेको वडाध्यक्षहरुको गुनासो छ । उनीहरु भन्न थालेका छन्— ‘फेरि पनि थोरै खोप आए लगाउन सकिँदैन । वडामा उत्पन्न किचलो थेग्न सकिँदैन ।’

000

संवाद समूह मोरङले आयोजना गरेको संवादको क्रममा छुटेका जेष्ठ नागरिकलाई सहजै खोप दिने व्यवस्था मिलाउने तर, अन्य व्यक्तिको हकमा जो पहिले आउँछ उसैलाई खोप दिने व्यवस्था मिलाउने निष्कर्षमा वडाध्यक्षहरु पुगेका छन् । ‘सबै वडामा समानुपातिक खोप वितरण गरिएकोले समस्या भएको छ,’ विराटनगर महानगरपालिकाका अधिकांश वडाध्यक्षहरुले भन्दै आएका छन्, ‘समानुपातिक वितरण भयो, खोप जनसंख्याका आधारमा वितरण हुनुपर्थ्यो । त्यसो भएको खण्डमा खोप लगाउन सजिलो हुन्थ्यो ।’

ठूला वडामा खोप केन्द्र बढाउन पहल गरी भीड व्यवस्थापन गर्ने तथा सबै वडामा खोप लगाउने उमेर समूह र समान मापदण्ड बनाउन वडाहरुहरुबीच छलफल गरेर एकरुपता कामय गर्नुपर्नेमा वडाध्यक्षले जोड दिएका छन् ।

कतिपय वडामा ४० वर्ष उमेर समूहकाभन्दा माथिकाले पनि खोप लगाइसकेका छन् भने कतिपय वडामा ३५ वर्ष उमेर समूहको हाराहारीमा खोप लगाएका छन् । यसो हुँदा अबको खोपको प्राथमिकतामा युवा पनि पर्नुपर्ने वडाध्यक्षहरुले बताउँदै आएका छन् ।

के भन्छन् वडाअध्यक्षहरु ?

विराटनगर महानगरपालिका वडा नं. १९ का वडाध्यक्ष बद्री सरदार उमेरको समूह लागू गर्दागर्दै पनि समस्या आएको बताउँछन् । कोरोनाको तेस्रो लहर आउँदै छ भन्दा खासगरी युवाहरु आक्रामक हुने गरेको अनुभव वडाध्यक्ष सरदारसँग छ ।

यस्तै विराटनगर महानगरपालिका वडा नं. ५ का वडाध्यक्ष मिनकुमार आचार्यले शुरुमा खोप लगाउने उमेर समूह नै फरक पर्दा समस्या आएको सुनाउँछन् । ‘पहिलो चरणबाटै १८ वर्ष माथिकालाई लगाउँदै जाउँ भनेर गएको भए तनाव कम हुने थियो,’ आचार्य भन्छन्, ‘घरबाहिर समूह रहेकोले उनीहरुलाई लगाउनुपर्ने अवस्था थियो, काम गराइ उल्टो खालको हुँदा समस्या भयो ।’

‘आवश्यक्तालाई ध्यान दिउँ’

विराटनगर महानगरपालिकाका कुनै वडामा ३ हजार खोपले पुग्ने अवस्था छ भने कतिपय वडामा त्यो खोप ‘हात्तीको मुखमा जिरा’जस्तै हुन्छ । बढी जनसंख्या भएको वडालाई बढी नै खोप र कम जनसंख्या भएको वडालाई त्यति नै मात्रामा खोप उपलब्ध गराउनुपर्नेमा त्यसो नगरिँदा समस्या भएको छ । यसले खासगरी जनसंख्याका आधारमा ठूलो वडालाई समस्या भएको छ ।

वडा नं. ३ का अध्यक्ष विनोद बस्नेतले कोभिडशिल्ड लगाएकाहरु अहिले अलपत्र परेको बताउँछन् । पछिल्लो समय आएका खोपहरु पनि उमेर समूहलाई आधार बनाएर लगाउँदा कम भएको वडाध्यक्ष बस्नेत बताउँछन् । खोप र उमेर समूहको तालमेल नमिल्दा आएका खोपहरुको समेत सही उपयोगमा गाह्रो भएको उनको भनाइ छ ।

अब युवा समूहमा खोप लगाउनुपर्ने अवस्था रहेकोले वडा नं. ३ मा ६ हजार डोज खोप हुने हो भने समस्याको समाधान हुने उनले औंल्याए । ‘जहाँ बढी खोप चाहिने हो त्यो ठाउँमा खोप आउन सकेको छैन,’ वडाध्यक्ष बस्नेतले भने, ‘यहाँ ६ हजार खोप दिने हो भने म सबैलाई खोप दिन सक्छु ।’

उमेर समूहका आधारमा लगाइएको खोपमा पनि जेष्ठ नागरिकले नै छोरा तथा नातीलाई सिफारिस गरिदिँदा पनि समस्या भएको वडा नं. ११ का वडाध्यक्ष तिर्थेन्द्र न्यौपाने बताउँछन् । ‘शुरुमा ६५ वर्षमाथिको भन्दा आएनन्, अहिले बुढापाकाले सिफारिस गरेर छोरा तथा नातीलाई लगाइदिनुपर्यो भनेर आए,’ न्यौपानेले भने, ‘अमेरिकन खोप (जोन्सन एन्ड जोन्सन) आएपछि अत्याधिक भीड भयो । यसले निकै समस्या सिर्जना भएको छ ।’

राजनीतिक दलहरुकै कारण पनि वडाध्यक्षहरुलाई समस्या हुँदै आएको छ । यसको मान्छे र त्यसको मान्छे भनेर दबाब आउने गरेको वडाध्यक्षहरुको गुनासो छ । ‘आएको खोपलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा कसैले सोच्दैनन्,’ न्यौपानेले भने, ‘सबैले व्यवस्थापन भएन भनेर गाली गर्छन् ।’ उनले अबका दिनमा एथेष्ट खोप आएन भने उमेर समूह भनेर थेग्न सक्ने अवस्था नभएको बताए । वडाध्यक्ष न्यौपानोले आफ्नो वडामा ५ हजार व्यक्तिलाई चाहिने खोप आयो भने व्यवस्थापन गर्न सकिने बताए ।

निष्कर्षमा, सबै वडाध्यक्षको एउटै स्वर छ— ‘प्रशस्त खोप आएन भने खोप लगाउन सक्ने अवस्था छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *