कथा

नचिनेकी मान्छे

प्रिय मान्छे,

आज एक्कासी तिम्रो याद आयो अनि सम्झिएँ । तिम्रो नजरमा त म आफ्नो मान्छे होइन नै । तिम्रो चेतनामै मेरो स्वरूप पनि नहोला । नहुँला म तिम्रो सम्झनाको अँध्यारो कुनामा पनि । तर तिमीलाई सम्बोधन नगरेरै आज यो पत्र लेख्दैछु । यदि सम्बोधन गर्दो हुँ त यो पत्र लेख्नै धक मान्थे हुँला । लेखेपछि पठाउनै डर मान्थे हुँला । तर तिम्रो नजरमा नचिनेको मान्छे हुनुको जुन परिचय छ मेरो, यसैको भरोसाले यो पत्र कोर्दैछु ।

यो संसारमा मान्छे पहिले बन्यो होला कि उसको मन ? मन पहिले बन्यो होला कि त्योभित्र पलाउने प्रेम ? प्रेम पहिले बन्यो होला कि घृणा ? यो ठूलो संसारको कुरा त म सानो मान्छेले कहाँ जानुँला र, तर यत्ति पक्का भन्न सक्छु तिम्रो र मेरो बीचमा शुरुमा प्रेम बन्यो अनि मात्र घृणा । तर तिमीलाई त यो पनि थाहा छैन कि तिमीलाई बेहिसाब प्रेम गर्ने मान्छे को हो भनेर । यो पनि थाहा छैन तिमीले घृणा गरेको मान्छे को हो भनेर । तिमीलाई केही थाहा छैन प्रिय तिमीलाई पछ्याउने मान्छे को थियो ? को थियो तिमीलाई आफ्नो हृदयमा राख्न मुटुको आँगनभरि फूलहरु बिछ्याउने मान्छे ? को थियो एकान्तमा तिम्रै नाम चिच्याउने मान्छे ? तिमीलाई केही थाहा छैन तिम्रो एक झलक पाउन तिमी हिँड्ने बाटोमा घन्टौं कुरिरहने मान्छे को थियो भनेर ।

थाहा थिएन, छल्दै छल्दै नियतिले मलाई तिम्रै टोलमा ल्याइपुर्‍याउला भनेर । तर दुर्घटनाबाट बाँचेर, कैयौँ हेला, तिरस्कार र अपमानहरू सहेर आइपुगेको थिएँ म त्यहाँसम्म । ग्रिल पसलको अँध्यारो कुनाबाट म देख्न सक्थें उन्मुक्त भएर हाँसिरहेकी तिमीलाई । कालो चश्मा लगाएर दिनरात आगोका झिल्काहरुबीचमा फलाम जोडिरहने मलाई के थाहा कलिला मुटुहरु जोड्न कति कठीन हुन्छ भनेर । एकछिन भए पनि आँखाहरुलाई शित्तल हुने गर्दथे, जब तिमी हाम्रै पसलको छेउ भएर हिँड्थ्यौ । तिमीलाई थाहा छ, बहुमूल्य गहनाहरु राखिने बट्टाहरु, सेफहरु पनि उत्तिकै शानदार हुन्छन् ? मलाई तिमी पनि त्यही बहुमूल्य गहनाहरूजस्तै, असर्फीहरूजस्तै लाग्दथ्यो जो मजस्ता कुरूप अँगालोमा, गरिब हत्केलाहरूमा कदापि सुहाउन्नन् ।

तर प्रेम भनेको त कहाँ अनुहार हेरीहेरी, हैसियत हेरीहेरी, जात, धर्म अनि वर्ग हेरीहेरी आउँदो रहेछ र । यो त बर्खामा झरी आएजस्तो सबैलाई उत्तिकै रुझाउन आउँदो रहेछ । तिमीले कहिल्यै घामले गरिबलाई मात्र पोल्छु भनेर गर्मी गराएको देखेकी छौ ? कहिल्यै जाडोले सबैलाई चिसो गराउँदिन भनेको सुनेकी छौ ? जाडो मान्दिनँ भनेर हुनेहरुले न्याना लुगा लगाउनु अलग कुरा हो । गर्मी मान्दिनँ भनेर हुनेहरुले एसीमा बस्नु अलग कुरा हो । हो मलाई त्यही एउटा डर थियो, तिमीले मलाई प्रेम गर्दिनँ भन्यौ भने नि ?

यो संसारमा मान्छे पहिले बन्यो होला कि उसको मन ? मन पहिले बन्यो होला कि त्योभित्र पलाउने प्रेम ? प्रेम पहिले बन्यो होला कि घृणा ?

सोचेको थिएँ तिमीले मसँग प्रेम गर्दिनँ भन्यौ भने म चुपचाप जानेछु । तर चिन्दै नचिने पो चुपचाप जान सकिन्छ । चिनिसकेपछि त सम्बन्धको सांग्लोले खुट्टाहरु अल्झाइदिने रहेछन् । नचिने पनि फरक नपर्ने मान्छे चुपचाप जाँदा सजिलो हुँदो हो । तर चिन्न मन लागेको मान्छे, अलिकति भए पनि कुतुहल जागेर परिचयको घिडघिड़ो बाँकी रहेको मान्छे चुपचाप जाँदा सहन गाह्रो हुन्छ । त्यसैले तिमीलाई कष्ट नहोस् भनेर म आज तिमीलाई पुराना कुराहरु सम्झाउने चेष्टा गर्दैछु ।

चोकमा तिमी निकैबेर माइक्रोबस कुरेर बस्थ्यौ । जस्तै भिडभाडमा पनि तिमीले एउटा सीट भेट्टाउँथ्यौ । कुनै कुनै माइक्रोबसको सहचालक त तिमीसँग भाडा माग्नै बिर्सिन्थे । तिमी खुसीले गदगद हुन्थ्यौ । को थियो त्यो मान्छे जसले तिम्रो खुसीको हिसाब बुझाउँथ्यो ? तिमीले खाने पानीपुरीमा एक प्लेटमा तीनवटा पुरी बढी आउँथ्यो । को थियो त्यो‚ जसले तिम्रो खुसीको हिसाब साँझपख बुझाउँथ्यो ? तरकारी पसलेले तिमीलाई टमाटर बढी राखिदिन्थ्यो । धनियाँको बोनस बाँड्थ्यो । अनि कसको खातामा गएर चढ्थ्यो तिम्रो त्यो उज्यालो चेहराको ब्याज ?

थाहा छ तिमीलाई, तिमीलाई पछ्याउँदै हिँड्ने मान्छे को थियो ? तिमी हिँड्ने बाटोभरि फूलहरु फुलुन्, काँडाहरु नहुन् भनेर प्रार्थना गर्ने मान्छे को थियो ? के थाहा तिमीलाई, तिम्रो नराम्रो सुन्नै नसक्ने मान्छे को थियो ? तिम्रो कुरा काट्नेहरुसँग झगडा गरी हिँड्ने को थियो ? तिमीलाई थाहै नदिई प्रेम गर्नुमा पनि मजा थियो । तिमीलाई अन्जानैमा सताउनुको मजा पनि बेग्लै थियो ।

एउटै होटलमा सँगै खाना खाने साथीहरू थिए माइक्रोबसका सहचालकहरु, जसले कहिल्यै पनि मेराबारेमा तिमीलाई बताएनन् । न त मेरै डेराछेउमा बस्ने तरकारी पसलेले मेरो पोल खोलिदियो । पानीपुरीवाला पनि ज्ञानी थियो जसले मेरो उपस्थितिको सुइँकोसम्म पनि दिएन तिमीलाई । तैपनि कतै बाहिर निस्कँदा अपर्झट तिमीलाई बाटोमा देख्थें, र आत्तिन्थेँ ।

मान्छे, कसैलाई पाउने अभिलाषा हुनु नराम्रो हैन । तर प्रेमको अन्तिम गन्तव्य नै प्राप्ति सोचियो भने आफू झन् कमजोर होइने रहेछ । प्रेम कमजोर हुने रहेछ । प्रेममा त झन् लिनुभन्दा दिनुको मजा धेरै हुने रहेछ । पाउनुभन्दा गुमाउनुको मजा ज्यादा हुने रहेछ । जब आफूले चाहेको मान्छे आफ्ना लागि लेखेकै छैन भनेर थाहा हुन्छ नि, तब त्यसबेलाको त्याग पनि मीठो लाग्ने रहेछ ।

तर तिमीलाई त यो पनि थाहा छैन कि तिमीलाई बेहिसाब प्रेम गर्ने मान्छे को हो भनेर । यो पनि थाहा छैन तिमीले घृणा गरेको मान्छे को हो भनेर ।

मलाई त्यतिबेला नै मैले साहस गरेको त्याग मीठो लाग्न थालेको थियो । मलाई केही गुनासो छैन मलाई तिमीले नचिन्नुमा । केही नराम्रो लागेको छैन तिमीले गरेको घृणामा । तिमीलाई त अझै कुतुहलले व्यग्र बनाइसकेको होला है आखिर को हो यो मान्छे जसलाई थाहै नपाई मैले घृणा गरेछु भनेर ?

रुपरङ्ग केही हैन, मन असल हुनु पर्दछ भनेर भन्न कति सजिलो हुने रहेछ । कति सजिलो हुने रहेछ आदर्शका कुराहरू छाँट्न । तर त्यही कुरा व्यवहारमा उतार्न कति अप्ठेरो हुँदो रहेछ है ? आज तिम्रा अनुहारमा खेलिरहने आभा कुनैदिन अँध्यारोको अनकन्टार गुफामा पुगेर हरायो भने तिमी के गर्छौ ? तिमी त डण्डीफोरको सानो पिड्को आउँदा पनि हतास भएर दुखी हुन्छौ होला । अलिकति सानो डार्क सर्कल आइदिए आँखाका वरिपरी, अलिकति पोतो देखिए गालाको डिलमा, तिमी कति धेरै अत्तास्सिन्छौ होला है मान्छे ?

मान्छे, तिमीलाई याद हुनुपर्ने वर्षौँअघिको त्यो तिम्रो कलेजको पिकनिक । न त आज‚ न त त्यतिबेला नै मलाई चिनेकी थियौ तिमीले । तैपनि प्रारब्धले हामीलाई यति लामो जीवनको एउटा छोटो दिनसँगै एउटै यात्रामा हिँड्न जुराएको थियो । भाग्य भनौँ या दुर्भाग्यले मलाई तिमीसँग भेटाएको थियो । क्याटरिङको एउटा सामान्य कर्मचारी म तिम्रो हँसमुख चेहरासँग कति धेरै नजिकिएको थिएँ । तिमी त उता साथीहरुसँग नाच्न र यता हामीले पकाइरहेको खानेकुरा चाख्न पनि कति मज्जाले भ्याएकी थियौ । तिम्रो चुलबुलेपना देख्दा लाग्थ्यो तेलमा फुरिरहेको फुरुन्दाना भन्दा ज्यादा तिमी खुसीले फुर्केकी छौ ।

मलाई अझै याद छ तिमी कति मज्जाले जिस्केकी थियौ मसँग । मलाई सघाउन भनेर तिमी डाडु खोस्न आइपुग्थ्यौ । साथीहरुले ‘जोडी सुहायो’ भनेर जिस्काउँदा कति मज्जाले मसँग उभिएर ‘मीठो मीठो पकाएर खान दिने भए अरु को चाहियो’ भनेर खित्खिताएकी थियौ । मान्छे, त्यतिबेला मेरो मुटु पुरीजसरी बाटुलो बनेर ढक्क फुलेको थियो । मलाई त तिम्रो मजाकमै पनि कल्पनाको एउटा सिङ्गो युग बाँच्न मन लागेको थियो ।

त्यसपछि जे भयो सायद तिमीलाई सम्झिन मन छैन होला, न त मलाई नै सम्झिन मन छ । तिम्रो चकचक र खेलाँचीले ढलेको ग्याँसको सिलिन्डर अनि झन्डै झन्डै त्यसैमा लड्न लागेकी तिमीलाई मैले तानेको मात्र सम्झना छ मलाई । ‘आगो आगो ! आगो लाग्यो, आगो लाग्यो’ भनेको शब्द सुनिरहँदा म कुनै उखरमाउलो भट्टीमा झोसिएको धमिलो धमिलो सम्झना आउँछ । लगत्तै कसैले केही ओढाइदिएको याद आउँछ ।

अस्पतालका दिनहरुमा तिमीले मेरो दुर्घटनाको कारण आफूलाई बनाएर दिनरात पश्चातापमा रोएकी छौ होला भन्ने कल्पनाले एक मनले त सन्तोष नै मान्थ्यो । अर्को मनले भने अब कहिल्यै तिम्रो अगाडि उभिन सक्दिनँ होला भनेर रुन मन लाग्थ्यो । कमसेकम तिम्रो अनुहारको उज्यालो जोगाउन मैले मेरो अनुहार अन्धकार बनाएको थिएँ । तिम्रो ओठको हाँसो नसुकोस् भनेर मैले आफ्नो आँशुको धारा बगाएको थिएँ । तिमीलाई त फूलले पनि दुखाउला जस्तो लाग्थ्यो । तिम्रो भागमा परेको त्यो आगोको मुस्लो मैले आफ्नो शरीरमा थापेर तिमीलाई बचाएको थिएँ । तर तिमी त एकचोटी पनि अस्पतालमा मलाई कस्तो छ होला भनेर पनि बुझ्न आइनौ । हुन त जाबो क्याटरिंगवाला केटोका लागि कसले चिन्ता लेओस् र है ।

जब तिमी हाम्रै पसलको छेउ भएर हिँड्थ्यौ । तिमीलाई थाहा छ, बहुमूल्य गहनाहरु राखिने बट्टाहरु, सेफहरु पनि उत्तिकै शानदार हुन्छन् ? मलाई तिमी पनि त्यही बहुमूल्य गहनाहरूजस्तै, असर्फीहरूजस्तै लाग्दथ्यो जो मजस्ता कुरूप अँगालोमा, गरिब हत्केलाहरूमा कदापि सुहाउन्नन् ।

थाहा थिएन नियतिले मलाई फेरि तिम्रै अघिल्तिर लगेर उभ्याउला भनेर । क्षतविक्षत अनुहारले मेरो क्याटरिंगको जागिर छुटायो । तर म हिम्मत हार्ने मान्छे कहाँ थिएँ र । आगोले हराएको म आगोलाई नै जित्न निस्किएँ । अनुहार फेरियो, फेरियो शहर अनि पेशा । वेल्डिंगको काम सिकेर म आइपुगें तिम्रै टोलमा ।

थाहा थिएन तिमीसँग फेरि भेट होला । कल्पनै गरेको थिइनँ‚ जुन ठाउँको बतासमा म सास फेर्न आइपुगेको थिएँ, त्यहाँ तिम्रै महक फैलिएको छ भनेर । जुन ठाउँको माटोमा पाइला चाल्न आइपुगेको थिएँ, त्यहाँ तिम्रै पैतालाको डोब भेटिन्छ भनेर । पसलको ढोकाबाट म अकस्मात् निस्किँदा साथीसँग एकसुरमा हाँस्दै खिलखिलाउँदै आइपुगेकी तिमीसँग बाटैमा जम्काभेट भएको त्यो दिन मेरो मुटु हत्केलामा धड्किरहेको थियो । उफ्रेर कतै हराउला भनेर कसिलोगरि मुट्ठी कसेको थिएँ त्यसदिन । नर्भस भएर मुस्काएको थिएँ म तिमीलाई हेरेर ।

मान्छे, अब हाम्रो भेट कहिले पनि हुने छैन । केही यही चिठीमा भेटिनेछौं, केही तिम्रा यादहरूमा, केही मेरा सम्झनाहरुमा भेटिरहने छौँ हामी । है !

सोचेको थिएँ, ‘ओह्हो सन्चै हुनुहुन्छ ? त्यस घटनापछि त तपाईंलाई भेट्नै पाइनँ, कस्तो हुनुहुन्छ अहिले ? मैले गर्दा तपाईंले दुःख पाउनु भयो है ?’ यस्तै यस्तै सहानुभुतिका शब्दहरु भन्नेछौ मेरा लागि । तर तिमी त एक्कासी तर्सिएर, ‘छि: कस्तो डरलाग्दो मान्छे’ भनेर गयौ ।

मान्छे, निन्याउरो मनले सोचेको थिएँ मैले त्यसबेला, कति निस्ठुरी रहिछौ तिमी । तर माया गर्नेको मनमा त नराम्रो ख्याल आउँदै आउँदो रहेनछ । चिनेकी भए पक्कै मसँग मीठो बोली बोल्थ्यौ होला । सञ्चो बिसञ्चो सोध्थ्यौ होला । मैले पनि आफू त्यही क्याटरिंगवाला हुँ भनेर बताउँदा के जान्थ्यो त ।

तर बताइनँ मैले केही कुरा, घमण्डी म आफैँ हो । तिमीलाई त के जरुरी छ र हरेक बाटोमा भेटिनेहरुसँग सहानुभूति राख्दै हिँड्न । के जरुरी हुन्छ र कसैलाई हरेक ऐरेगैरेसँग माया बाँडेर हिँड्नलाई । मायाप्रेम के त्यति सस्तो चिज हो र हरकोहीलाई दिँदै हिड्न ? जब मायाप्रेम सस्तो हुन थाल्छ नि, त्यसलाई माया हैन दया भनिन थालिन्छ । मान्छे, मलाई तिम्रो दया पाउने रहर कदापि हैन । मलाई त घाँटीसम्म हुनेगरी भरिएर अड्किएको आफ्नो भावनाको भक्कानो तिम्रासामु फुटाउनु थियो र त आज तिम्रो टोल छोडेको महिनौं दिनपछि यो पत्र कोर्न सकें ।

मैले यति धेरै कुरा बताइसकेपछि तिमीलाई पुराना दिनहरू ताजा भएर याद आए होलान् । सायद मेरो अनुहारको धमिलो चित्र पनि मानसपटलमा खेले होलान् । म भन्दिनँ तिमी मलाई माया गर । भन्दिन मलाई खोज । मलाई थाहा छ मान्छे, तिम्रो दुनियाँमा म अटाउन सक्दिनँ र मेरो दुनियाँमा तिमी बाँच्न सक्दिनौ । तर के सँगै बाँच्ने अनि एउटाको जिन्दगीमा अर्कोको अधिकार कायम हुनुमात्र प्रेम सफल हुनु हो त ? मलाई त त्यस्तो लाग्दैन । बस्, अन्तिम पटक तिमीसामु संयोगले उभिन पुग्दा ‘छि: कस्तो घिनलाग्दो मान्छे’ भनेर तिमीले बोलेका शब्दहरू मेरा कानमा अझै गुन्जिरहेका छन् । तिमी त्यति धेरै निष्ठुरी होइनौ । खराब त झन् हुँदै होइनौ । मान्छेको चेतना ऊ बाँचेको समाजले बोकी ल्याएको उसको इतिहासको बिरासतले निर्दिष्ट भएको हुन्छ । यसमा तिम्रो कुनै गल्ती छैन, मान्छे । तर परिस्थितिले अनुहार कुरूप हुनुमा मेरो पनि त गल्ती छैन । त्यसैले यदि मनमा मेरा लागि सहानुभूति पलायो भने अबदेखि कसैलाई पनि रुपका आधारमा घृणा गर्ने छैन भनेर वाचा गर ल ? यति गर्‍यौ भने म मेरो प्रेम सफल भएको ठान्नेछु ।

मान्छे, अब हाम्रो भेट कहिले पनि हुने छैन । केही यही चिठीमा भेटिनेछौं, केही तिम्रा यादहरूमा, केही मेरा सम्झनाहरुमा भेटिरहने छौँ हामी । है !

उही
तिमिले नचिनेको मान्छे ।

प्रतिक्रिया

One thought on “नचिनेकी मान्छे

  1. हरेक शब्दहरूमा एथार्थता र भाबुकपन मिसाएर आएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *