कांग्रेस महामन्त्री भन्छन्- ‘महाधिवेशन मंसिरमा’

पोखरा । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीको महाधिवेशन मंसिरअघि नहुने बताएका छन् । शुक्रबार खुसीलाल पाण्डे फाउण्डेसनको उद्घान कार्यक्रमलाई नवलपुरको कावासोतीबाट उद्घान गर्दै उनले आन्तरिक तयारी नपुगेका कारण महाधिवेशन तोकिएको मितिमा हुन नसकेको बताए । ‘महाधिवेशन हुनुपर्छ,’ महामन्त्री कोइरालाले भने, ‘सबैलाई लागेको छ कि समयमै महाधिवेशन हुनुपर्छ । साउनमै यसको प्रक्रिया शुरु हुनुपर्थ्यो हुन सकेन । अब मंसिरतिर जानसक्छ । मंसिरको १ महिनाअघि जिल्ला, प्रदेश र स्थानीय तहको निर्वाचन सकेर पहिलो साता महाधिवेशन हुन्छ ।’

गाउँ, नगर र जिल्लाको अधिवेशन समयमा हुन नसकेकोले महाधिवेशन सरेको उनले बताए । कोइरालाले अबको महाधिवेशन एकतासँग जोडेर सम्पन्न गर्नुपर्ने बताए । ‘यो महाधिवेशन एकताको महाधिवेशन हो । कांग्रेस अहिले पनि सबैभन्दा बलियो पार्टी हो । यसो हेर्दा एमाले जस्तो देखिन्छ । तर कांग्रेस नै सर्वश्रेष्ठ पार्टी हो,’ उनले भने, ‘हाम्रो विचार राम्रो छ, विगत राम्रो छ । कार्यकर्ता सक्षम छन् । हामी एकजुट भएर जानुपर्छ । गुट र उपगुट छोडेर महाधिवेशन गरौं । यति गर्यौँ भने कसैले पनि हामीलाई पराजित गर्न सक्दैन ।’

प्रजातन्त्र सेनानी स्व. खुसीलाल पाण्डे र उनकी धर्मपत्नी सुमित्रा पाण्डेको स्मृतिमा स्थापना गरिएको खुसी पाण्डे फाउन्डेसनको उद्घाटन गर्न नवलपुर पुगेका हुन् । उनले महाधिवेशनमा जुट्न सबैलाई आग्रहसमेत गरेका छन् ।

१४औं महाधिवेशनमा आफूलाई सभापतिको उम्मेदवार भनेर चिनाइरहेका महामन्त्री कोइरालाले बहालवाला सभापति शेरबहादुर देउवालाई ‘म मात्रै हराउन सक्छु’ भनेर घोषणा गरिसकेका छन् । देउवा कित्ताकै वर्तमान उपसभापति विमलेन्द्र निधिसँगै पटक–पटक लन्च मिटिङ्ग गरेका महामन्त्री कोइरालाले कुनै पनि हालतमा आफू पछाडि नहट्ने बताइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *