भारतको टेलिकम उद्योग

मुकेश मालामाल तर टेलिकमकै अरु व्यवसायी किन घाटामा ?

काठमाडौं । एसियाका सबैभन्दा धनी व्यक्ति मुकेश अंबानी दूरसञ्चार (टेलिकम) कारोबारमा मालामाल भइरहँदा उनकै कान्छा भाइ र कुमार मंगलम् विडलाको टेलिकम व्यवसाय भने धरासायी भइरहेको छ ।

सवा अर्बभन्दा बढी जनसंख्या रहेको भारतमा के गरिब के धनी सबैको हातमा मोबाइल छ । दिनप्रतिदिन परिकृत र परिमार्जत हुँदै गरेको प्रविधियुक्त टेलिकम बजारमा मुनाफा कमाउन कुन व्यवसायीलाई मन नहोला र ? तर, सिक्काको अर्को पाटो पनि हुन्छ भनेजस्तै अर्को दुःखद् घाटाको कहानी पनि छ । भारतको टेलिकम कारोबारमा पहिला रिलायन्स कम्युनिकेसन्स (आरकम) का मालिक अनिल अंबानीको बर्बादीको कहानी लेखियो । अब देशकै चर्चित व्यवसायी तथा भोडाफोन इन्डियाका प्रबद्र्धक कुमार मंगलम बिडलाको दुःखको कहानी लेखिन थालेको छ ।

कुमार मंगलम् बिडला ती व्यवसायी हुन् जो हिंडाल्को, अल्ट्राटेक सिमेन्ट, ग्रासिम इन्डस्ट्रिज, सेञ्चुरी टेक्सटाइल्स जस्ता चर्चित कम्पनीका प्रवर्द्धक हुन् । घाटामा चलिरहेको बिडलाको भोडाफोन आइडियाले केही वर्षअघि मात्रै बेलायती कम्पनी भोडाफोनमा साझेदारी गरेर टेलिकम बजारको क्षेत्रमा मुनाफा कमाउने दाउ सुरु गरेको थियो । तर, उनको यो दाउले पनि काम गरिरहेको देखिँदैन । भोडाफोन आइडियामा बेलायती कम्पनी भोडाफोनको ४४.३९ प्रतिशत र आदित्य बिडलाको २७.६६ प्रतिशत साझेदारी छ ।

देशको कुल वायरलेस कारोबारमा करिब २५ प्रतिशतको हिस्सा रहेको यस कम्पनीले बैंकको हजारौं करोड रुपैयाँ ऋण तिर्न बाँकी छ । साथै ५८ हजार करोड भारतीय रुपयाँको सरकारी भुक्तानी गर्नुपर्ने दायित्व पनि यस कम्पनीमाथि छ । यो दायित्व एडजस्टेड ग्रस रेभिन्यु (एजीआर)को हो ।

एजीआरको विषयलाई लिएर भारतका टेलिकम कम्पनी तथा सरकारबीच लामो समयदेखि विवाद चलिरहेको छ । सजिलो भाषामा भन्ने हो भने मुनाफा कमाइरहेका टेलिकम कम्पनीले मुनाफाको एक हिस्सा टेलिकम विभागलाई पनि बुझाउनुपर्छ । यही नै एडजस्टेड ग्रस रेभिन्यु(राजस्व) हो ।

वर्ष २००५ देखि ‘एडजस्टेड ग्रस रेभिन्यु’को परिभाषालाई लिएर सरकार र टेलिकम कम्पनीबीच विवाद चलिरहेको छ । टेलिकम कारोबारबाट हुने कमाइलाई मात्रै एजीआरको दायरामा राख्नुपर्छ भन्ने टेलिकम कम्पनीहरुको धारणा छ । तर, सरकारले योभन्दा बढी वा ठूलो दायराबाट एजीआरको गणना गर्ने गरेको छ ।

यो मामला सर्वोच्च अदालतसम्म पुग्यो । र, अदालतले सरकारको दाबीमा सहमत हुँदै टेलिकम कम्पनीले एजीआर भुक्तानी गर्नै पर्ने आदेश दियो । यस दायित्व भुक्तानीको कुनै उपाय नदेखेका आदित्य बिडला ग्रुपका अध्यक्ष कुमार मंगलम बिडला भोडाफोन आइडिया लिमिटेडमा आफ्नो प्रवर्द्धक सेयर त्यागेर बाहिरिन तयार भएका छन् । यो कम्पनीमा उनको २७ प्रतिशत सेयर स्वामित्व छ ।

यो मुद्दालाई लिएर कुमार मंगलम बिडलाले जुन महिनाको अन्तिममा केन्द्रीय मन्त्रिपरिषद्का सचिव राजीव गाबालाई एक पत्र लेखे । र, अस्तित्व बचाउनका लागि उनी उक्त कम्पनीको सेयर स्वामित्व कुनै सरकारी या घरेलु वित्त कम्पनीलाई दिन तयार रहेको बताए ।

कुमार मंगलम बिडला

रोचक त यो छ कि बिडलाको पूरै सेयर स्वामित्व बेच्दा पनि कम्पनीबाट सरकारले लिनुपर्ने भुक्तानी असुलउपर हुन सक्दैन । किनभने वर्तमान अवस्थामा उक्त कम्पनीको बजार पूँजीकरण २४ हजार करोड भारु मात्र छ ।

यद्यपी, देशका झण्डै २८ करोड जनता भोडाफोन आइडियाको सेवासँग जोडिएकोले यस कम्पनीको आर्थिक स्वास्थ्य सुधार्न सरकारले विदेशी लगानीकर्तालाई विश्वासमा लिएर लगानी गर्न सघाउनु पर्ने कुमार मंगलम बिडलाको धारणा छ ।

आधिकारीक तथ्यांक अनुसार भोडाफोन इन्डियाप्रति एजीआरको कुल दायित्व ५८२५४ करोड अर्थात ५ खर्ब ८२ अर्ब ५४ करोड भारु रहेको छ । यस मध्ये कम्पनीले ७८ अर्ब ५४ करोड भारु भुक्तान गरिसकेको छ । र, ५ अर्ब ३ अर्ब ९९ करोड भारु भुक्तानी गर्न बाँकी छ ।

कम्पनीले किन नाफा कमाउन सकेन ?
भारतको टेलिकम बजारमा एयरटेल, रिलायन्स कम्युनिकेसन्स र आइडिया तीन कम्पनी असाध्यै कडा प्रतिपर्धी बनेर प्रवेश गरे । यी बाहेक दुई सरकारी कम्पनी बीएसएनएल र एमटीएनएलले पहिल्यैदेखि भारतीय टेलिकम बजारमा कारोबार गरिरहेका थिए । यस क्षेत्रमा भएको वृद्धि अनुसार नै कम्पनीको मुनाफा बढ्नु पर्नेमा त्यस्तो भएन । टेलिकम क्षेत्र लगातार वृद्धि हुँदै गयो । तर, मूल्य-प्रतिस्पर्धा (प्राइस-वार), महँगा स्पेक्ट्रम, दिनप्रतिदिन परिस्कार हुँदै गएको प्रविधि र केही कम्पनीको अस्वस्थ व्यवस्थापन तथा प्रतिस्पर्धाले हालत खराब बनाइदियो ।

टेलिकम विज्ञ महेश उप्पल भन्छन्- ‘सरकारी नियामक निकायको नियमित नियमन नहुँदा केही कम्पनीले यसबाट समस्या भयो भने केहीलाई फाइदा नै भएको छ । यो यस क्षेत्रकै लागि दुःखको विषय हो । यद्यपी सरकारले जानेरै टेलिकम कम्पनीमाथि भेदभाव गर्याे भनेर भन्न सकिने अवस्था छैन ।’

उनी भन्छन्, ‘रिलायन्स जियोसहित जुन कम्पनीको कारोबार अन्य क्षेत्रमा पनि थियो, तिनीहरु लामो समयसम्म नोक्सान भोग्ने अवस्थामा थिए । उनीहरुले कलको शुल्क दर, डाटा सेवाको शुल्क दर घटाए र अर्को कम्पनीको व्यवसाय आफ्नोमा ल्याए । घाटै खाएको अवस्थामा पनि केही कम्पनीले ग्राहक गुमाउने डरले शुल्क बढाउन सकेनन् ।’

मोबाइल नम्बरको पोर्टेबिलिटी पनि नयाँ कम्पनीका लागि बरदान सावित भएको जानकारहरु बताउँछन् । उप्पल भन्छन्, ‘मोबाइल पोर्टेबिलिटीको फाइदा यो भयो कि ग्राहकले नम्बर परिवर्तन नगरिकनै पनि आफूले चाहेको कम्पनीको सेवा लिन सक्ने भए । जियोले फोरजी सेवा मात्रै दियो भने अन्य कम्पनीले टुजी र थ्रिजी नेटवर्क सेवा चलाइरहेका छन् ।’

समयमा सही निर्णय लिन नसक्दा पनि कम्पनीले भुक्तानीको दलदलमा फस्नु पर्यो । एक अर्का टेलिकम विज्ञ मनोज गैरोलका अनुसार कम्पनीको कमजोर व्यवस्थापनले नै कम्पनीलाई घाटामा पु¥याएको हो । गैरोल भन्छन्- ‘यदी यो क्षेत्रमा समस्या भएको भने एयरटेल र जिओ जस्ता कम्पनीले कसरी कमाउँथे र । यो सत्य हो कि टूजी तथा थ्रीजीको स्पेक्ट्रमको भुक्तानी नभएको बेला जियो यस क्षेत्रमा आएको थियो । तर उसले नेटवर्क तथा प्रविधिमा धेरै लगानी गरेको छ ।’

रिलायन्स जियोले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ३६५१ करोड मुनाफा कमायो । जबकी भारती एयरटेलले उक्त अवधिमा २८४ करोड रुपैयाँ मुनाफा कमाएको थियो । तर, भोडाफोन आइडियाले पहिलो त्रैमासमा ७ हजार करोड नोक्सानी व्यहोरेको थियो ।

गैरोला भन्छन्- ‘जुन कम्पनीले मुनाफा कमाइरहेका छन्, ती कम्पनीका व्यवस्थापन सही थिए, उनीहरु लगातार परिमार्जित भइरहेको प्रविधिमा लगानी गरिरहेका थिए । भोडाफोन आइडिया जस्तो कम्पनीमा कमजोर व्यवस्थापनका कारण उसको ग्राहकमा धेरै कमी आयो ।’

मुकेश मालामाल
वर्ष २०१९ सम्म रिलायन्स जियोसँग मात्र ३५ करोड ग्राहक थिए । भोडाफोन आइडियालाई भइरहेको नोक्सानीको सबैभन्दा बढी फाइदा जियोलाई भयो ।

जानकारका अनुसार वर्ष २०२२ सम्म जियोले आफ्नो नाफा दुई गुणाले बढाउने प्रक्षेपण गरिएको छ । त्यतिबेलासम्म कम्पनीको उपभोक्तासमेत ५० करोडभन्दा माथि पुग्ने अनुमान गरिएको छ ।

हाल ब्रोडब्याड सेवातर्फ कुल बजारको ५४ प्रतिशत हिस्सा जियोसँग छ । जबकी मोबाइल फोन सेवामा उनसको हिस्सेदारी ३५ प्रतिशत छ । मुकेश अंबानीले आफ्नो फ्ल्यागसिप कम्पी रिलायन्स इन्डिस्ट्रिजमार्फत रिलायन्स जिओमा लगानी गरे । र, तीन-चार वर्षमा नै विश्कै लगानीकर्तालाई देखाए की यो कारोबार कति ठूलो मुनाफा दिलाउन सक्ने खालको हुनसक्छ ।

टेलिकम विज्ञ गैरोला भन्छन्, ‘मुकेशको यो रणनीति ज्यादै सफल भयो । पहिले जिओको प्रविधि तथा नेटवर्किङ विस्तारमा लाखौं करोडको लगानी गरे । जब दुनियाँले नतिजा देखे, हेर्दा हेर्दै उनको टेलिकम कारोबारमा ३० अर्ब डलरभन्दा बढी लगानी हुन पुग्यो ।’

रिलायन्स जियोमा लगानी गर्ने मध्ये फेसबुक, जनरल अटलान्टिक, सिल्बर लेक पार्टनर्स, केकेआर जस्ता प्रतिष्ठित कम्पनी पनि समावेस छन् । मुकेश अंवानीको यो रणनीतिले रिलायन्स इन्डिस्ट्रिजलाई एकै झट्कामा ऋणमुक्त गरिदिएको छ । (बीबीसीबाट)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + nineteen =