ईरानका नयाँ राष्ट्रपतिद्वारा संसद्‌मा शपथग्रहण

तेहरान । ईरानका नयाँ राष्ट्रपति इब्राहिम रायसीले बिहीबार ईरानी संसद्‌मा शपथग्रहण गरेका छन् ।

आर्थिक सङ्कट, अमेरिकासँगको सम्बन्ध, स्वास्थ्य समस्या, आणविक कार्यक्रमलगायतका चुनौतीबीचमा उनले राष्ट्रपतिको जिम्मेवारी लिएका हुन् ।

ईरानको कट्टरपन्थी समूहको प्रतिनिधित्व गर्दै इब्राहिम रायसी राष्ट्रपतिमा निर्वाचित भएका हुन् । निर्वाचनमा रायसीले एक करोड ७८ लाख मत प्राप्त गरेका थिए ।

धेरै राजनीतिक अन्य प्रभावशाली नेतालाई निर्वाचन लड्न रोक लगाइएको र महामारी र असन्तुष्टिका कारण आधाभन्दा बढी मतदाताले मतदानमा सहभागिता नजनाउदा नजनाउँदै भएको निर्वाचनबाट उनलाई विजयी भएको घोषणा गरिएको छ ।

इरानका लागि ऐतिहासिक उपलब्धि मानिएको ईरान र ६ विश्वशक्ति राष्ट्रबीच २०१५ को आणविक सम्झौता गरेका मध्यमार्गी तत्कालीन राष्ट्रपति हसन रौहानीलाई उनले विस्थापित गरेका हुन् । रौहानीले दुई कार्यकाल राष्ट्रपति भएर देशको नेतृत्व गरेका थिए ।

इस्लामिक गणतन्त्र ईरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीका अति विश्वास पात्रसमेत मानिएका रायसीको चार वर्षे कार्यकाल बिहीबारदेखि शुरु भएको छ ।

ईरानको न्यायपालिका पूर्व प्रमुखसमेत रहेका रायसीलाई मानवअधिकार उल्लङ्घन गरेको आरोपमा पश्चिमी मुलुकले चर्को आलोचना गर्ने गरेका छन् ।

निर्वाचित भएपछि रायसीले आफ्नो प्रमुख विदेश नीति क्षेत्रीय देशसँगको सम्बन्ध सुधार गर्ने रहेको बताएका छन् । रायसी सन् १९६० मा इरानको मशहदमा जन्मिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *