त्रिविमा आंशिक प्राध्यापकलाई करारमा नियुक्त गर्ने प्रधानमन्त्रीको आश्वासन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयमा कार्यरत आंशिक प्राध्यापकलाई करारमा नियुक्तिको व्यवस्था गर्ने आश्वासन दिएका छन् । त्रिवि आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिका प्रतिनिधिसँगको भेटमा प्रधानमन्त्री देउवाले सरकारको यसअघिको निर्णय कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको संघर्ष समितिका संयोजक गोकुल लिम्बूले जानकारी दिए ।

२०७४ मंसिर ८ गते देउवा नेतृत्वको मन्त्रिपरिषद्ले १ हजार ४ सय २० जना आंशिकलाई करार नियुक्ति गर्ने निर्णय गरेको थियो । तर बजेट अभावलगायतका कारण देखाउँदै त्रिविले कार्यान्वयन नगरेको भन्दै संघर्ष समितिले यसअघि पटकपटक धर्नालगायत आन्दोलन गर्दै आएको छ ।

सरकारको त्यो निर्णयपछि पनि ५ सय ८० जना आंशिक प्राध्यापक थपिएको संघर्ष समितिले बताउँदै आएको छ ।

समितिले यसअघि त्रिवि सेवा आयोगलगायत निकायमा तालाबन्दी गरेपछि त्रिविको वार्ता समितिसँग १ हजार ४ सय २० जनालाई करार गरिहाल्ने र थपिएका भनिएका ५ सय ८० जना आंशिक प्राध्यापकलाई करार गर्ने प्रक्रिया थाल्न त्रिविको कार्यकारी परिषद्‌मा पठाउने सहमति भएको पनि संयोजक लिम्बुले जानकारी दिए ।

त्रिविमा सात हजारभन्दा धेरै दरबन्दी खाली रहँदा पनि नयाँ नियुक्तिका लागि थोरैमात्र विज्ञापन हुने गरेको र त्यो पनि नियमित नभएको भन्दै आंशिक प्राध्यापकहरु विभिन्न संगठन नै बनाएर केही वर्षदेखि निरन्तर आन्दोलन गरिरहेका छन् ।

यो पनि
त्रिविमा सात हजारभन्दा बढी दरबन्दी रिक्त रहेको खुलासा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *