भ्रष्टाचारी ठहरिएकालाई मन्त्रीले नै सल्लाहकार नियुक्त गरेपछि…

जनकपुरधाम ।  प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री रामसरोज यादवले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहरिएका जीवनाथ चौधरीलाई सल्लाहकार नियुक्त गरेका हुन् ।

विशेष अदालतले भ्रष्टाचारको मुद्दामा चौधरीलाई दाेषी ठहर गर्दै ४ महिना जेल सजाय र ६ लाख ७५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो । फैसलामा चित्त नबुझेको भन्दै  उनी पुनरावेदनका लागि सर्वोच्च अदालत पुगेका छन् । हाल उक्त मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।

तत्कालीन जिल्ला विकास समिति धनुषाका सह-लेखापालको रुपमा कार्यरत रहँदा चौधरीले  भ्रष्टाचार गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको थियो । उनी अहिले पनि निलम्बनमै छन् ।

निलम्बन रहेको र अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा उनलाई मन्त्रालयको सल्लाहकार पदमा नियुक्त गरिएको हो ।

जिल्ला विकास समितिका कर्मचारी चौधरीले अकुत सम्पत्ति आर्जन गरेको विशेष अदालतले ठहर नै गरिसकेको छ । होटेल व्यवसायीसमेत रहेका उनीमाथि जनकपुरको गुठीको बिघौं बिघा जग्गा कब्जा गरेको आरोपसमेत समय-समयमा लाग्ने गरेको छ ।

धनुषा जिविसका करोडौँको भ्रष्टाचार काण्डमा मुछिएका चौधरीले अदालतमा मुद्दा चलिरहेकै बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकलाई २०७२ वैशाख १२ मा भूकम्प गएको दिन जनकपुरस्थित आफ्नै होटेलमा एक कार्यक्रम आयोजना गरी सम्मान गरेका थिए ।

उनी विभिन्न सामाजिक संघ संस्थामा समेत आवद्ध छन् । रामानन्द युवा क्लबका पूर्वअध्यक्ष समेत रहेका उनी पछिल्लो समय मैथिली विकास कोष नामक संस्थामा आवद्ध छन् । तर सोही संस्थाका कतिपय सदस्यले चौधरीले कोषलाई निजी कम्पनी बनाएको आरोप लगाउने गरेका छन् । उनीहरूले चौधरीले कोषलाई आजसम्म सीता प्यालेस होटेलबाट बाहिर निस्किन नदिएको आरोप लगाउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *