प्रदेश १ सभामा प्रतिपक्षीको प्रश्न : सरकारको जवाफ खै ?

विराटनगर । प्रदेश सभाको शून्य समय र विशेष समयमा बोल्ने सांंसदहरूले आफूहरूले उठाएको विषयमा सरकारले चासो नदिएको आरोप लाग्दै आएको छ । यसअघि पनि सांसदहरूले आफ्नो विषयमा चासो नदिएको बताउँदै आएको भए पनि विशेष समय लिएर नेपाली कांग्रेस र माओवादीका संसदीय दलका नेताले प्रदेश सभामा उठाइएका विषयमा सरकारले चासो नदिने गरेको आरोप लगाए ।

बिहीबारको प्रदेश सभाको बैठकमा बिषेश समय लिएर बोल्दै प्रदेश सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले विशेष समय र शून्य समयमा बोलिएका विषयलाई सरकारले प्राथमिकता नदिएको आरोप लगाए ।

‘सम्मानित प्रदेश सभामा आफ्नो निर्वाचन क्षेत्र र जिल्लाको समस्याबारे उठान भएको हुन्छ,’ कोइरालाले भने, ‘अहिलेसम्म उठाइएको विषयमा सरकारी पक्षबाट चित्तबुझ्दो जवाफ पाइएको छैन ।’ प्रदेश सरकार शून्यताको अवस्थामा पुगेको देखिएको कोइरालाको भनाइ छ । प्रदेश सरकारको प्रशासनिक एकाई कहाँ हो, बजेट कसरी कार्यान्वयन हुन्छ भन्ने गम्भीर प्रश्न आएको विषलाई लिएर उनले सरकारको ध्यानाकर्षण गराए ।

सरकारले सधैँ उधारो सहमति गर्ने काम भएकोप्रति असन्तुष्टि जनाउँदै कोइरालाले पुर्वाधार क्षेत्र विकासका कार्यक्रमहरू पनि उधारोमा राखेको बताए । नयाँ कार्यक्रममा रकम नहाल्ने भने पनि कतिपय नयाँ योजनामा करोडौँ रकम हाल्ने गरेको उनले सुनाए ।

विशेष समयमा बोल्दै माओवादी केन्द्र संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले विशेष र शून्य समयमा बोलिएका विषयहरूको सम्बोधन नभएको आरोप लगाए । प्रदेश सभामा माननीयज्यूहरूबाट उठान भएका गम्भीर विषयवस्तु शून्य र विशेष समय लिएर बोल्ने गरिएको भएपनि ती विषयमा सरकारलले ध्यान नदिने र जवाफ नदिने गरेको आरोप उनको छ ।

‘हामीले जनताको समस्या उठान गर्ने हो,’ उनले भने, ‘सदनमा माननीयज्यूहरूबाट उठाइएका विषयमा सरकारले जवाफ दिएको छैन ।’ प्रदेश सभामा बोलिने विषयहरू मात्र सार्वजनिक खपतका लागि बोलिने विषय नभएकाले सरकारको ध्यान जानुपर्ने र सम्बोधन हुनुपर्ने आङ्बोको माग छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *