प्रदेश १ : अघिल्लो सरकारले बनाएका संरचना भत्काएर देखाउन सांसदहरूको चुनौती

विराटनगर । सरकारले भूमिहीन तथा सुकुम्बासी समस्या समाधान आयोग खारेज गरेकोमा प्रदेश सभामा सांसदहरूले आपत्ति जनाउँदै अघिल्ला सरकारले बनाएका संरचना भत्काएर देखाउन चुनौती दिएका छन् । प्रदेश सभाको आठौँ तथा बजेट अधिवेशनको बाइसौँ बैठकको शून्य समयमा बोल्दै संखुवासभाका प्रदेशससभा सदस्य तुल्सीप्रसाद न्यौपानेले भूमिहीन तथा सुकुम्बासी समस्या समाधान आयोग खारेज गरेर सकुम्बासीको पेटमा लात हान्ने काम गरेको आरोप लगाए ।

‘कन्फर्टेबल सरकारले भूमिहीन सुकुम्बासीको पेटमा लात बजार्ने काम गरेछ,’ उनले भने, ‘भूमि समस्या समाधानका लागि बनाइएको आयोगले काम गरिरहेको अवस्थामा खारेज गर्ने यस्तो जनविरोधी कार्यको जतिसुकै निन्दा गरेपनि कम हुन्छ ।’

जनताका लागि भनेर गरिएका निर्णयहरू धमाधम खारेज गरेर के गर्न खोजेको भन्दै उनले प्रश्न गरे । ‘जनताका लागि बनेको धरहरा भत्काउने ? रानी पोखरी भत्काउने ? सगरमाथाको उचाई घटाउन सकिन्छ ?’ न्यौपानेको प्रश्न थियो, ‘राम्रा कामहरू उल्टाउँदै जाने हो भने देश कालो सुरुङमा जान्छ ।’

उनले सबै निर्णय उल्टाउने र खारेज गर्दै जाने हो भने अरुण तेस्रो फोड्नुपर्‍यो, उत्तरी नाकालाई कहिल्यै निस्कन नसक्ने गरी नाकाबन्दीको कालोयुगमा धकेल्न चुनौती दिए ।

जनता समाजवादी पार्टीका सांसद रामचन्द्र लिम्बुले भारतको हेपाहा प्रवृत्तिका कारण जनताले दुःख पाएको बताए ।

No description available.

दक्षिणी सिमानामा नेपालीलाई दुःख दिँदै आएको स्मरण गराउँदै धम्क्याउने, तर्साउने र गोली हान्नेसम्मको काम गरेकोमा विरोध गर्दै लिम्बुले जयसिंह धामी तुइन तर्दै गरेको अवस्थामा एसएसबीले तुइन काटेको बारेमा सरकारले नबोलेकोमा आक्रोश व्यक्त गरे । सदनमा बोल्दै लिम्बुले जयसिंह धामीको बारेमा नेपाल सरकारले भारत सरकारसँग स्पष्टीकरण तथा कुटनीतिक पहल गर्न पनि आग्रह गरे । संघीय तथा प्रदेश सरकार र संवैधानिक क्षेत्रबाट पनि यसको विरोध हुनुपर्ने बताए ।

खोप चाहियो
प्रदेश सभामा बोल्दै राप्रपाकी सांसद ईन्दिरा राईले सर्वसुलभ स्वास्थ्य सेवाको व्यवस्था मिलाउन आग्रह गरिन् ।

नागरिकमा कोरोनाको संक्रमण बढ्दै जाँदा पनि उपचार नपाउने अवस्था आएको स्मरण गराउँदै कोरोनाको उपचार अत्यन्त महँगो भएकाले आमनागरिक उपचारबाट वञ्चित भइरहेको सभामा जानकारी गराइन् । ‘कोरोनाको नाममा अस्पतालहरूमा कालोबजारी बढ्दै गएको छ, कारबाहीको कुनै कुरै सुनिएको छैन,’ सांसद राईले भनिन्, ‘कोरोनाको उपचारलाई निःशुल्क गराउन म सरकारलाई आग्रह गर्दछु ।’

उनले सरकारले उपलब्ध गराएको खोपमा पनि स्वेच्छाचारी र कालोबजारी भएको बताएकी छन् । एउटा भ्याक्सीन लगाएर अर्को भ्याक्सीन नआएको अवस्थामा तत्काल त्यस्ता व्यक्तिलाई भ्याक्सिनको व्यवस्था गर्न राईले आग्रह गरिन् ।

खोप आएपनि कतिपय पालिकाका नागरिकमा खोप सम्बन्धि ज्ञान नै नभएको सांसदहरूले प्रश्न उठाएका छन् ।

सुनसरीकी सांसद ज्योती सुब्बाले जनचेतनाको अभावले गर्दा कतिपय पालिकामा नागरिकले खोप लगाउन नपाएको बताइन् । शहरिया र बजारका नागरिकले खोप लगाएको भएपनि ग्रामीण क्षेत्रका नागरिकमा खोपसम्बन्धी ज्ञान नहुँदा खोप नै नलगाउने गरेको सांसद सुब्बाको भनाइ छ । उनले विद्यार्थीलाई लक्षित गरी खोप कार्यक्रम ल्याउनसमेत माग गरिन् ।

शून्य समयमा बोल्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद विष्णुमाया तुम्बाहाम्फेले जातको आधारमा भन्दा वर्गको आधारमा आरक्षण हुने भनेर अदालतले दिएको आदेशप्रति आपत्ति जनाइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *