गीत : कालीगण्डकी

ए कालीगण्डकी …!
हे आमा गण्डकी …!
माकुरोको माउ भयो
तिम्रो जिन्दगी

तिम्रो अमृतधारा पिई
हुर्किएका सन्तान
तिम्रै मुटु कलेजा पो
कुटुकुटु खान्छन्

ए कालीगण्डकी …

तिम्रो नाम कैलाशदेखि
काशी गङ्गासम्म
तर तिम्रै काख रित्तो
लुटे शालिग्राम

ए कालीगण्डकी …

तिम्रो निश्चल बगाइमा
हिमाल ऐना हेर्थ्यो
कौडा नाच्थे डाँफे मुनाल
घामले भाका फेर्थ्यो

ए कालीगण्डकी …

यता गैह्रो उता पैह्रो
त्चँ ! त्चँ ! कठैबरा
कुन विरह बोकी बसाइँ
सर्‍यो पानीचरा

ए कालीगण्डकी …

पुर्खा थिए माहुरीझैँ
तिमी तिनको रानी
तर तिम्रा सन्तान चैँ
तिम्रै मलाम् जानी

ए कालीगण्डकी …

लाज‚ घिन‚ पाप‚ धर्म
छैन कुनै डर
आफ्नै आमा बेची मान्छे
बनाउँदैछन् घर

ए कालीगण्डकी …
हे आमा गण्डकी …!
माकुरोको माउ भयो
तिम्रो जिन्दगी

०००

गीतकार तथा कवि मुकारुङले यो गीत कालीगण्डकी बचाऔँ अभियानप्रति ऐक्यबद्धता जनाउँदै अहिले भइरहेको कालीगण्डकी दाेहनमाथि लेखेका हुन्‚ जसलाई उनले ‘लिरिकल पोइम : कालिगण्डकी ब्लूज’ भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *