छानबिन टोली भारतीय बाटो हुँदै घटनास्थल प्रस्थान

धनगढी । दार्चुलाको व्यास गाउँपालिका- २ मा तुइन तर्नेक्रममा जयसिंह धामी बेपत्ता भएको घटनाको अध्ययनका लागि छानबिन टोली भारतीय बाटो हुँदै घटनास्थल प्रस्थान गरेको छ । गृहमन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको टोली बिहीबार बिहान साढे १० बजे जिल्ला सदरमुकाम खलङ्गाबाट घटनास्थल गस्कु मालघाटका लागि हिँडेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले जानकारी दिए ।

उनका अनुसार गस्कु महाकाली नदीपारि भारतीय भूमि हो भने मालघाट नेपाली भूमि हो । यही ठाउँमा लगाइएको तुइन तर्ने क्रममा सोही ठाउँका जयसिंह खसेर महाकाली नदीमा बेपत्ता भएका हुन् । उनको अवस्था अझै पत्ता लाग्न सकेको छैन ।

जयसिंह बेपत्ता प्रकरणमा टोलीले सूक्ष्म ढंगले अध्ययन गरेरै प्रतिवेदन तयार पार्ने जनाएको छ । यस्तै समितिले भारतीय एसएसबी र स्थानीयले भारतीय प्रहरी थानामा दिएको उजुरीको सम्बन्धमा पनि जानकारी लिने प्रहरी निरीक्षक चन्दले बताए ।

गत साउन १५ गते व्यास गाउँपालिका २ का मालका जयसिह धामी सदरमुकाम खलंगामा महाकालीमा बेपत्ता भएका थिए । जयसिंह तुइन तर्ने क्रममा भारतीय एसएसबीले तुइनको तार फुकालिदिँदा घटना घटेको आरोप लागेको छ । तर भारतीय प्रशासनले एसएसबीले गस्ती गरेको स्वीकार गरेपनि तुइन नकाटेको दाबीसहित नेपाली प्रशासनलाई पत्र पठाएको छ ।

टोलीले बुधबार जिल्ला सदरमुकाम खलङ्गामा घटनाका प्रत्यक्षदर्शी, पत्रकार, मानवअधिकारकर्मी, राजनीतिक दल, र व्यास गाउँपालिकाका जनप्रतिनिधिसँग छलफल गरेको थियो ।

टोलीलाई १० दिनभित्र छानबिन प्रतिवेदन बुझाउन भनिएको छ । समितिमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्नता भट्ट सदस्य छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *