माओवादी लुम्बिनी भन्छः

‘विमलाजीलाई एमालेले बन्धक बनाएको थियो, अहिले हाम्रो साथमा सुरक्षित हुनुहुन्छ’

काठमाडौं । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट विजयी लुम्बिनी प्रदेशकी सांसद विमलाकुमारी वली अहिले चर्चामा छिन् । दल अदलबदलका कारण उनी चर्चामा आइरहन्छिन् । कहिले एमाले त कहिले माओवादीको कित्तामा उभिन पुगेकी सांसद वलीले अन्ततः माओवादी केन्द्रमै रहेको बताइन् । बुधबार (हिजो) मात्रै लुम्बिनी प्रदेशका माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीलाई सन्देश पठाउँदै सांसद वलीले भनिन्, ‘म माओवादीमै छु ।’

यसपछि प्रदेशका कतिपय सत्तासिन एमालेका नेताहरुले सांसद वली आफ्नै पार्टीमा रहेको उर्दीसमेत गरे । त्यसपछि सांसद वलीले ‘पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सुनाउँछु, म माओवादीमै छु’ भनेर प्रतिक्रिया दिएकी थिइन् । यसपछि सांसद वलीले दिउँसो १ बजे पत्रकार सम्मेलन गर्दैछिन् । ‘उहाँ माओवादी केन्द्र लुम्बिनीका संसदीय दलका सदस्य हुनुहुन्छ,’ माओवादी केन्द्र लुम्बिनी प्रदेशका सचेतक तुलाराम घर्तीले मकालुखबरसँग भने, ‘उहाँ माओवादीमै हुनुहुन्छ । यसबारे थप कुरा आजको पत्रकार सम्मेलनमार्फत उहाँले जानकारी गराउँदै हुनुहुन्छ ।’

शुरुमा माओवादी केन्द्र नै रोजेकी सांसद वलीले बीचमा एमालेतिर लागेको बताएकी थिइन् । ‘उहाँलाई एमालेले बन्धक बनाएर राखेको थियो,’ सचेतक घर्तीले भने, ‘अहिले उहाँ हाम्रो साथमा सुरक्षित हुनुहुन्छ । हामीले उहाँलाई बन्धक बनाएका छैनौं ।’

पछिल्लो समय सांसद वली एक सातायता सार्वजनिक कार्यक्रममा देखिएकी छैनन् । उनको फोनको समेत स्वीच्डअफ छ । एक नेताकाअनुसार आज बिहान पत्रकार सम्मेलनको तयारी सांसद वलीले गरिरहेकी छन् । ‘उहाँ (सांसद वली) तयारी अवस्थामा हुनुहुन्छ । विज्ञप्तिको ड्राफ्ट तयारी हुँदैछ । उहाँले पत्रकार सम्मेलनमार्फत सबै जानकारी गराउँदै हुनुहुन्छ । त्यो तयारीमा जुट्नुभएको छ ।’

गत साउन १५ देखि सांसद वली सार्वजनिक कार्यक्रममा देखिएकी छैनन् । उनी उपचारका लागि नेपालगञ्ज जाने भनिएको थियो । साथै गत साउन १९ मा सांसद वलीको नामबाट एउटा विज्ञप्ति आएको थियो । जहाँ, उनी एमालेमा फर्किएको उल्लेख थियो । तर, त्यसपछि मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको प्रदेश सभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्तावमा उनले पनि हस्ताक्षर गरेकी छन् । यसपछि उनी पुनः माओवादी केन्द्रमै फर्किएको पुष्टि भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *