प्रदेश १

कांग्रेस महाधिवेशन: प्रदेश सभापतिमा तीनजनाको दाबेदारी

विराटनगर । नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा प्रदेश संरचनामा कसलाई सभापति बनाउने भनेर कांग्रेसभित्र आन्तरिक छलफल शुरु भएको छ । १४औँ महाधिवेशनसँगै कांग्रेस पहिलो पटक संघीय संरचनामा गएर नयाँ नेतृत्व छान्ने तयारीमा छ । नयाँ नेतृत्व प्रदेशमा कसलाई ल्याउने भन्ने बारेमा अहिलेसम्म कुनै गृहकार्य भएको देखिन्न । आकांक्षीहरु पनि प्रदेशमा मेरो यसमा उम्मेदवारी भनेर बोलिसकेका छैनन् । वडा तहमा कार्यकर्ताहरुको उम्मेदवारी घोषणा भईसकेको छ । स्थानीय तहहरुमा पनि आकांक्षीहरुले आफ्नो विचार राखिसकेका छन् ।

क्षेत्रीय सभापति कसलाई बनाउने भनेर हिसाब-किताब भएर अधिवेशको तयारीमा थिए । तल्लो तहमा कसलाई कसरी ल्याउने भनेर कसरत कम हुने भएपनि माथिल्लो तहमा भने पार्टीमा लाईन देखिने नेता कार्याकर्ताको भनाई छ । नेपाली कांग्रेस मोरङका पूर्व सचिव सञ्जय भट्टराई पार्टीभित्र कुन गुटको को हो भनेर पालिकाहरुको सभापति छान्दासम्म नदेखिने बताउँछन् । ‘वडाहुँदै पालिकासम्म त्यति धेरै गुटको राजनीति देखिँदैन,’ उनले भने, ‘क्षेत्रीय पदाधिकारी र जिल्ला पदाधिकारी छान्ने क्रममा भने गुट स्पष्ट रुपमा देखिने गरेको छ ।’

जिल्लामा पदाधिकारी छान्ने काम यसअघिका महाधिवेशनबाट हुँदै आएको भएपनि प्रदेशको पदाधिकारी पहिलो पटक छान्नु पर्ने भएकोले कसलाई सभापति बनाउने भनेर अहिले चर्चा चल्न थालेको छ । प्रदेशमा सभापति ल्याउँदा झापा, मोरङ र सुनसरी जिल्लाकै प्राथमिकतामा पर्ने नेता कार्यकर्ताको बुझाई छ । अहिलेसम्म प्रदेश सभापतिको लागि चर्चामा आएको मुख्यगरी ३ जनाको नाम हो । मोरङमा दुई कार्यकाल सभापति भएका अमृत अर्याल, सुनसरीका सभापति तथा प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइराला र झापाका उद्धव थापा हुन् । यी तीनै जना फरक फरक गुटका हुन् । अर्याल देउवा लाईनका नेता हुन् भने सुनसरीका राजिव, काइराला लाईनका हुन् त्यस्तै झापाका थापा सिटौला गुटका हुन् । झापाका सुधिर सिवाकोटीको पनि प्रदेश सभापतिमा दाबी रहेको बताउँदै आएका छन् ।

नेतृत्व दाबी गरेर पनि अन्योलमा
क्रियाशील सदस्यता अहिलेसम्म नटुङ्गिएको अवस्थामा महाधिवेशन हुनसक्ने आधार नदेखिएको उम्मेदवारीको दाबी गर्दै आएका नेताहरु देखिन्छन् । साउन १२ गते हुने भनेर सार्वजनिक भएको वडाको महाधिवेशन कार्यतालिका प्रभावित भएपछि महाधिवेशन कहिले हुने भन्ने अन्योलमा नेताहरु छन् ।

नेपाली कांग्रेस झापाका सभापति भइसकेका अद्धव थापा जसरी हुन्छ मिलाएर प्रदेशमा सहमतीय नेतृत्व आउने दाबी गर्छन् । आफू सिटौलाको लाईन मै बसेर भएपनि सहमतिको लागि नेतृत्वका लागि आकांक्षा व्यक्त गरेका नेताहरु बसेर टुङ्गो लगाउन पहल गरिने थापाले बताए । ‘हामी प्र्रतिष्पर्धी हैनौँ, सहमतीबाट सभापति बन्ने सोचमा छौँ,’ थापाले मकालुखबरसँग भने, ‘प्रदेश १ मा लाईन गौढ बिषय हो, व्यवहारिक रुपमा जुन जो पक्ष भएपनि मिलाएर र मिलेर जानु पर्छ ।’ उनले अगाडि भने, ‘साथीहरुले नाम चलाईरहेका छन् । मेरो पनि ईच्छा छ, फाईनल हुन सकेको छैन, महाधिवेशन टुङ्गो लगाएपछि मात्र हो ।’
तर आन्न्तरिक गृहकार्य भने भईरहेको उनले बताए । प्रदेश नम्बर १ अरु प्रदेश भन्दा फरक भएको कारण, यहाँको राजनीति सहमती सहकार्यको माध्यामबाट लिने गरिएको उनको भनाई छ । यही साउन १२ गते वडाको हुने भनिएको थियो त्यो महाधिवेशन पनि क्रियाशीलको टुंगो नलाग्दासम्म हुन नसक्ने देखिएपछि रोकिएको छ । प्रदेशको सभापतिको लागि नाम चलाईएकाहरु पनि महाधिवेशन हुने नहुुनेमा अन्यौल छन् ।

पहिला महाधिवेशन टुङ्गो नलाग्दासम्म केही बोलीहाल्ने अवस्था नभएको कांग्रेस केन्द्रीय सदस्य अमृत आर्याल बताउँछन् । अर्यालयका अनुसार साथीहरुले प्रदेशको सभापतिको लागि उठ्नुपर्छ भनेपनि आफू पछि हट्ने पक्षमा नरहेको मकालुखबरलाई सुनाए । दुई कार्यकाल जिल्ला सभापति भएका आर्याल देउवा लाईनबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् । ‘साथीहरुले उठ्नु पर्र्छ भनेपछि नाई भन्ने कुरा हुँदैन,’ उनले भने, ‘अहिले नै खुलेर आईसकेको छैन, पार्टीभित्र छलफल भईसकेको छ, टुङ्गो लागिसकेको छैन ।’

कांग्रेस प्रदेश १ संसदीय दलका नेता तथा सुनसरी जिल्ला सभापति राजिव कोइरालाले पार्टीले तोकेको जिम्मेवारी आफ्नो पनि हुने भएकोले प्रदेश सभापतिको जिम्मेवारी दिने तयारी हुनुलाई स्वाभाविक भएको बताए । महाधिवेशन कांग्रेस नेता कार्यकर्ताको लागि एउटा उत्साव नै भएकोले नेतृत्व चयन गर्दा सहमति, सहकार्यका आधारमा अघि बढ्ने उनको भनाई छ । ‘महाधिवेशन नै अन्योलमा परेको बेला तत्काल निर्णय गर्ने अवस्था छैन,’ उनले भने, ‘संसदीय दलको नेता भएको कारण प्रदेशको सभापति बनाउनुपर्छ भनेर साथीहरुले जोड गरेका छन् ।’ नेतृत्वले नआँट्दा साउन १२ गतेको वडाको अधिवेशनको म्याद टरेको उनको गुनासो छ ।

टर्दै महाधिवेशन
नेपाली कांग्रेसले घोषणा गरेको निर्वाचन तालिका अनुसार साउन १२ गते पहिलो चरणको अधिवेशन तालिका थियो । गाउँ नगर वडा अधिबेशन साउन १२ गते, गाउँ नगर अधिवेशन साउन १६ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन साउन २० गतेलाई तोकिएको थियो । प्र्रतिनिधि सभा क्षेत्रीय अधिवेशन एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा साउन २३ लाई तोकिएको छ ।

एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्ला अधिबेशन साउन २६ लाई तोकिएको छ । प्रदेश अधिवेशन भदौै १ र २ गते र केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने भनेर तालिका सार्वजनिक भएको थियो । तालिका सार्वजनिक गरेर पनि निर्वाचन गर्न नसकेकोप्रति कार्यकर्तामा आक्रोश देखिएको छ । वडाहरुमा कार्यकर्तालाई चुनाव लागेको थियो अब कहिले हुने भनेर फेरी अन्यौलता बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *