विराटनगरको एकीकृत कृषि बजार राजनीति, तालाचाबी सहकारीलाई

विराटनगर । यतिबेला एकिकृत कृषि बजारमा निक्कै चहल पहल , भिडभाड, सामान ल्याउने र लग्नेहरूलाई भ्याई नभ्याई भएको हुनुपर्ने थियो । आइतबार विराटनगरको एकिकृत कृषि बजारमा त्यस्तो थिएन । आइतबार त्यहीँ भेटिएका कटहरी गाउँपालिकाका रामनारायण राजवंशीलाई पनि कृषि बजार व्यवस्थित रुपमा संचालन हुन नसकेको जस्तो लागेको छ ।

राजवंशी हरेक दिन त्यही सडक भएर ओहोर दोहोर गर्छन् । बिहान-साँझ उनी त्यही एकीकृत कृषि बजारलाई नियालिरहेका हुन्छन् । ‘के सोचका थियौँ, अहिले भइदियो के,’ उनले भने, ‘हामीले सोचेको कृषि बजारमा धेरैतिरबाट सामानहरू आउनेछ, सबैले काम पाउनेछन् भन्ने सोचेका थियौँ, तर बजार पूर्ण रुपमा संचालनमा नै आउन सकेन ।’

हुन पनि तामझामका साथ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा निर्माण भएको एकीकृत कृषि बजारको उद्घाटन गरेका थिए । योमात्र होइन‚ झापाको दमकमा रहेको एकीकृत पशु बजारको पनि उद्घाटन भएको थियो ।

झापाको एकीकृत पशु बजार सञ्चालनमा आएको भएपनि विराटनगरको एकीकृत कृषि बजार भने संचालनमा आउन सकेन । एकीकृत कृषि बजारमा सुरक्षागार्डहरू पनि राखिएको छ । आइतबार सुरक्षा गार्ड सुतिरहेका थिए । चहल पहल केही नहुँदा उनलाई सुरक्षाको खासै चिन्ता देखिँदैन थियो ।

मूल गेट खुल्ला थियो, भित्र खुद्रा बजारका लागि बनाइएको भवनको पश्चिमपट्टी दुईजना स्थानीय टहलिन आएका थिए ।

उनीहरू त्यहाँ बसेर पहिला भएको जग्गा र अहिलेको एकीकृत कृषि बजारको बारेमा कुरा गर्दै थिए । पहिला यो एकिकृत कृषि बजार भएको ठाउँ स्थानीय, युवाहरूले फुटबल खेल्ने ठाउँ र स्थानीयको खुल्ला शौचालय थियो । केही घरहरू पनि थिए । भएको घर भत्काएर अन्यत्र सारियो । करिब दुई वर्षको अवधिमा निर्माण पूरा भएको एकिकृत कृषि बजार क्षेत्रीय कृषि बजारको रुपमा विकास गर्ने लक्ष्य राखिएको थियो । किसानलाई बिचौलियाबाट हुने ठगी रोक्नका लागि यो कृषि बजार निर्माण भएको थियो ।

लगानीमात्र धेरै
व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) ले लगभग १३ करोड ७६ लाखको लागतमा शुरु भएको परियोजनापछि केही रकम थपिएको बताइन्छ ।

कटहरीको जनप्रिय माविको नाममा रहेको ४ विगाहा १८ कठ्ठा र गाविसको नाममा रहेको १८ कठ्ठा जग्गामा संरचना निर्माण भएको छ । बैंक, कृषि उत्पादनको स्टोर, खुद्रा तथा थोकको छुट्टाछुट्टै भवन बनाएर स्टलहरू पनि राखिएका छन् । बनाइएको संरचनाभित्र आइबार खुद्रा बजारमा केही कृषि सामग्री थिए भने थोक बजारको भवनमा कुकुरहरू सुतिरहेका थिए ।

करोडौँको लगानीमा निर्माण गर्नुको अर्थ भनेको विराटनगरको मुख्य बजारमा रहेको गुद्रीबजारलाई स्थानान्तरण गरी एकीकृत रुपमा अन्तर्राष्ट्रिय मोडलमा कृषि बजार संचालन गर्नु नै थियो ।

गुद्री बजारको विस्थापनको पक्षमा विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीसहितका केही जनप्रतिनिधि नदेखिएपछि एकिकृत कृषि बजारको विकल्प खोजियो । त्यो बेला विराटनगर बसपार्क पछाडि रहेको नागेश कोइरालाको खाली जग्गामा गुद्रीलाई सार्ने काममा विराटनगरका मेयर भिम पराजुली नै लागेको स्रोतको दाबी छ ।

बनिबनाउ संरचना संचालनका लागि चासो नदिएको विराटनगर महानगरपालिकाले गुद्री अन्यत्रै संचालन हुन दिएपछि सरकारी दरमा एकीकृत कृषि बजार भाडामा लागेन । प्रदेश सरकारको स्वामित्वमा रहेको एकीकृत कृषि बजार संचालन गर्नेबारेमा धेरै चरण छलफल भएपनि स्थानीय सरकारले यसको महत्व बुझ्न नसकेको प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

तालाचाबी सहकारीलाई
प्रदेश सरकारको स्वामित्वमा रहेको एकीकृत कृषि बजार अहिले सहकारीलाई जिम्मा दिइएको छ । प्रदेश १ लाई कार्यथलो बनाएका झापा, मोरङ, सुनसरी, ईलाम र धनकुटाका ३७ वटा सहकारी संस्थाको एउटा विशिष्टिकृत सहकारी बनाइएको छ । त्यही विशिष्टीकृत सहकारी संस्थालाई ५ वर्षका लागि लीजमा दिइएको छ। विशिष्टीकृत सहकारी संस्थाका अध्यक्ष देवेन्द्र पौडेलका अनुसार फागुन १ गतेदेखि लागू हुनेगरी सहकारीले भाडामा लिएको हो ।

‘वार्षिक १९ लाख २० हजार प्रदेश १ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयलाई दिनेगरी सम्झौता भएको छ,’ अध्यक्ष पौडेलले मकालुखबरसँग भने, ‘व्यवस्थापनको सबै काम सहकारीले ने हेर्नेछ ।’

सहकारीले सम्झौता गरेपछि पसल लगाउन शुरु भइसकेकोमा लकलडाउनका कारण समस्या भएको उनले बताए । पानी बाहिर जाँदैन‚ सबै भित्र पस्छ । छानो बनाउने काम सरकारको नै थियो, सरकारले त्यसलाई व्यवस्थित गर्नेबित्तिकै सबै काम सहकारीको जिम्मेवारीभित्र आउने पौडेलको भनाइ छ ।

कोल्ड स्टोरसमेत रहने भनिएको एकीकृत तरकारी तथा फलफूल बजारमा त्योसमेत अहिलेसम्म जोडिएको छैन । अहिले विशिष्टीकृत सहकारीले कार्यालय भवनको तलको दुईवटा कोठामा प्याज स्टोर गरेर राख्ने बाहेकको कुनै पनि काम बजारबाट भएको देखिँदैन ।

अब विशिष्टीकृत सहकारीले विराटनगरका १ सय सहकारीलाई क्रेडिट कार्ड बाँडेर, मार्टको मोडेलमा भदौ १ गतेदेखि संचालनको तयारी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *