एमाले नेताको दादागिरी : दलितको घरमै पसेर कुटपिट

जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टी (एमाले) नेताको एक समूहले धनुषाका एक दलित परिवारलाई घरभित्रै पसेर मरणासन्न हुनेगरी कुटपिट गरेका छन् । मंगलबार राति उनीहरूको कुटपिटबाट दलित समुदायका आधा दर्जनभन्दा बढी व्यक्तिहरू घाइते भएका हुन् ।
जिल्लाको धनुषाधाम नगरपालिकाका एमाले नेता योगकुमार यादवका आफन्त तथा उनको समूहले कुटपिट गर्दा नगरपालिका- ४ का दलित समुदायका आधा दर्जनभन्दा बढी व्यक्तिहरू घाइते भएको स्थानीयहरूले बताएका छन् ।
घाइते हुनेहरूमा श्रीचन महरा, हिरादेवी महरा, ओपिन महरा, उर्मिला महरालगायत छन् । उनीहरूको धनुषाधामस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
धनुषाधाम नगरपालिकामा एमालेबाट मेयरका प्रत्यासी यादवका आफन्तहरू सञ्जय यादव, कृष्णा यादव, विजय यादव, धनेश यादवलगायका समूहले घरमै पसेर कुटपिट गरेको घाइते श्रीचन महराले बताए । जग्गा विवादको विषयलाई निहुँ बनाएर यादव समूहले पटक-पटक आफूहरूमाथी आक्रमण गर्ने गरेको महराले बताए ।
सामाजिक झै-झगडाको विषयमा विवाद हुँदा एमाले नेता यादवका आफन्तहरूले उनीहरूलाई कुटपिट गरेको सूचना प्राप्त भएको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुरेश ठाकुरले बताए । प्रहरीको टोली घटनास्थल पुग्दा कुटपिट गर्नेहरू भागिसकेको उनले बताए । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको र दोषीलाई कारबाही गरिने प्रहरी निरीक्षक ठाकुरले बताए ।








