टिप्पणी

दार्चुला घटना : प्रत्यक्षदर्शीलाई सुरक्षा चुनौती, नलुकोस् वास्तविकता

धनगढी । तुइन तरेर भारतको बाटो हुँदै जिल्ला सदरमुकाम खलङ्गा आउन लाग्दा दार्चुलाको ब्यास गाउँपालिका -२ मालघाटका जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भए । तुइन तरिरहेका बेला पारी भारतीय सुरक्षा बल (एसएसबी) ले तुइनको डोरी निकालेपछि उनी महाकाली नदीमा खसेको समाचार फैलियो । सुरुमा एसएसबीले तुइनको डोरी काटिदिएपछि उनी नदीमा खसेर बेपत्ता भएको खबर सार्वजनिक भयो । पछि प्रत्यक्षदर्शी भनिएकाहरुलाई सोधीखोजी गरेर बुझ्दा एसएसबीले रुखमा बाँधिएको तुइनको डोरी खोलेपछि जयसिंह नदीमा खसेको कुरा बाहिरियो ।

घटनाको प्रत्यक्षदर्शी हुँ भन्ने स्वीकारेकाहरुको भनाईलाई आधारमा मानेर भन्ने हो भने एसएसबीकै कारण नेपाली युवाले महामाली नदीमा खसेर बेपत्ता हुनुपरेको हो । घटनाको दुख र एसएसबीले नेपालीमाथि गरेको अमानवीय कुरा त एकातिर छँदैछ अर्कोतिर घटनाबारे जानकारी दिएका ‘प्रत्यक्षदर्शी’ हरूमाथि पनि चुनौती थपिएको छ ।

शुक्रबार घटना भएदेखि उनीहरुका मोबाइलमा तारन्तार घन्टी बजिरहेको छ। घटनाबारे बेलिबिस्तार लगाउन उनीहरुलाई भ्याइनभ्याई छ । सुदूरपश्चिमसहित राजधानी काठमाडौंका पत्रकार, अन्य संघ-संस्थाका फोन, प्रहरी प्रशासनलगायका व्यक्तिहरुलाई उनीहरुलाई फोन गरेर घटनाबारे सोधखोज गरिरहेका छन् ।

याे पनि : दार्चुला पुगेको छानबिन समितिले काम थाल्यो, प्रत्यक्षदर्शी प्रहरी निगरानीमा

घटनाका प्रत्यक्षदर्शी हुन् तुइन तार्ने कल्याणसिंह धामी, बिक्रम रंकोली र अनिता धामी । उनीहरुको नाम यसअघि नै सार्वजनिक भइसकेको भएपनि अहिले उनीहरुमाथि सुरक्षा चुनौती थपिएको गाउँलेहरु बताउँछन् । नाम सार्वजनिक भएपछि उनीहरूमा त्रास बढेको छ ।

अहिले उनीहरु घटनाबारे बताउन सदरमुकाम खलंगा पुगेका छन् । शुक्रबारको घटनापछि आइतबारसम्म गाउँमै रहँदा उनीहरुले सुरक्षित महशुस गरेका थिए । जति घटनाका बारेमा गाउँमै हुँदा बोलेका थिए त्यति सदरमुकाम पुगेपछि बोल्न सकेका छैनन् ।

घटनाका विषयमा अध्ययन अनुसन्धानका लागि सरकारले गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा छानविन टोली गठन गरेर दार्चुला पठाउने भएपछि उनीहरु (प्रत्यक्षदर्शी) लाई सोमबार नै सदरमुकाम खलङ्गा बोलाइएको हो । सोमबार बिहान मालघाटबाट हिँडेका उनीहरु बेलुका ५ बजे सदरमुकाम पुगे । सोमबारदेखि उनीहरु प्रहरीकै निगरानीमा छन् । उनीहरु खलङ्गा पुग्ने वित्तिकै प्रहरी कार्यालयमा लगेर केही समय घटनाबारे जानकारी लिएको छ । त्यसक्रममा केही घण्टासम्म प्रहरीले उनीहरुलाई कसैसंग पनि भेट्न दिएन । पत्रकारहरुलाई पनि साँझ ८ बजेपछि मात्रै भेट्न दिएको थियो ।

बेलुका अबेरसम्म प्रहरी कार्यालयमै राखेपछि विरोध हुने र गलत सन्देश जानसक्ने डरले प्रहरीले उनीहरुलाई सुरक्षासहित बाहिर होटलमा बस्ने प्रबन्ध गरेको छ । तर प्रहरीले उनीहरुमाथि सुरक्षा चुनौती छ भनेर सार्वजनिक भने गरिसकेको छैन । प्रत्यक्षदर्शीलाई होटलमा राख्दा सुरक्षा व्यवस्था गरिएकोबारे पनि प्रहरीले बोलेको छैन । स्वयम् उनीहरुले पनि यो विषयमा बोल्न चाहेका छैनन् । तर स्रोतहरुकाअनुसार प्रत्यक्षदर्शी तीनजनासँगै केही सुरक्षाकर्मीलाई पनि होटलमै राखिएको छ ।

घटना भएदेखि नै मालघाटबासीसँग एसएसबी रुष्ट बनेको गाउँलेहरुले बताएका छन् । घटनाबारे आफ्नो धारणा राख्न सदरमुकाम खलङ्गा आउनुअघि प्रत्यक्षदर्शी कल्याणसिंहले भनेका थिए, ‘अब भारत हुँदै खलङ्गा जाने बाटो पनि बन्द भयो । अहिले त्यो बाटो भएर खलङ्गा जानेसक्ने स्थिति नै छैन । हिँडेर एक दिन लगाएर भएपनि जान्छौं । एसएसबी त्यसै तातिएका छन् ।’ सदरमुकाम पगेपछि पनि उनीहरु डराएको हो कि जस्तो र झमेलामा परिने हो कि भन्ने त्रासमा भएको पाइएको खलंगामा उनीहरुलाई देखेभेटेकाहरु बताउँछन् ।

थप : जयसिंह नदीमा खसेकोबारे के भन्छन् प्रत्यक्षदर्शी र जनप्रतिनिधि ?

यद्यपि उनीहरुले आफूले देखेको कुरा भनेर मिडियालाई दिएको जानकारी भने प्रहरीसँगको बयानमा पनि फेरेका छैनन् । मंगलबार बेलुका पुगेको छानविन टोलीले बुधबार बाट प्रत्यक्षदर्शीसंग घटनाबारे बुझ्दैछ । त्यसक्रममा उनीहरुले आफूहरुमाथि सुरक्षा चुनौती बढेको महशुस गर्दै डरले घटनाको वास्तविकताभन्दा फरक कुरा बोल्ने हुन् कि भन्ने चिन्ता बढेको छ ।

तर उनीहरु आएदेखि प्रहरीको सुरक्षामा राखिंदा उनीहरु डराएका वा त्रासमा परेका हुनसक्ने र यसले गर्दा उनीहरुको मनोबलमा असर पर्ने हो कि भन्ने सम्भावनाबारे ध्यान दिन जरुरी छ ।

उनीहरुलाई सुरक्षाको प्रत्याभूति गराउँदै कुनै झैझमेलामा नफसिने प्रत्याभुति राज्यले गर्न सक्नुपर्छ । अन्यथा घटनाबारेको सूचना बास्तबिकताभन्दा फरक पनि आउन सक्छ । यो घटनाबारे सत्यतथ्य जानकारी बाहिर आएमात्र थप अरु घटना हुन नदिनका लागि राज्यले नै कुटनीतिक पहल गर्न सक्ने अवस्था बन्ने छ । अनुसन्धानबाट एसएसबीको गल्ति पुष्टि भए उनीहरुलाई कानूनी कारबाहीको कठघरामा उभ्याउनुपर्छ । त्यो हुनका लागि पनि घटनाबारे अनुसन्धान प्रभावकारी हुन जरुरी छ । त्यसपछि राज्यको बलियो कुटनीतिक पहलकदमीको जरुरत पर्नेछ ।

यसपटक मात्र होइन र मालाघाटमा मात्र पनि होइन भारतीय एसएसबीले नेपालीमाथी पटकपटक ज्यादती गरेको कुरा सीमामा रहेका र भारतको भर पर्नुपर्ने नेपालीहरुले बताउँदै आएको बिषय हो । यो घटना जति दुखद छ त्यति नै यस्ता घटना फेरि हुन नदिने अवसर पनि । प्रभावकारी अनुसन्धानमार्फत घटनाको यथार्थ बाहिर ल्याउन अहिले गरिहाल्नुपर्ने काम भनेको बयानका लागि सदरमुकाम पुगेका प्रत्यक्षदर्शीको मनबल गिर्न नदिनु हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *