अफगानिस्तान: रक्षामन्त्रीको निवासमा विद्रोहीको हमला, कम्तीमा चारको मृत्यु

काठमाडाैँ । अफगानिस्तानका रक्षामन्त्रीको निवासमा सशस्त्र विद्रोहीहरूले आक्रमण गर्दा कम्तीमा चार जनाको ज्यान गएको छ । आक्रमणका बेला रक्षामन्त्री बिस्मिल्लाह खान मोहम्मदी घरबाहिर भएकाले बच्न सफल भएका छन् ।

बन्दुकधारीहरूले मङ्गलवार काबुलको सबैभन्दा सुरक्षित मानिने ग्रीन जोनस्थित रक्षामन्त्रीको निवासमा कार बम हमला गरेका थिए । साथसाथै उनीहरूले गोली पनि चलाएका थिए । रक्षामन्त्रीको परिवारका सदस्यहरूलाई सुरक्षित रूपमा उद्धार गरियो । उक्त हमलामा संलग्न आक्रमणकारीहरू पनि सुरक्षाकर्मीद्वारा मारिएका छन् ।

हिंसा अन्त्यको आह्वान
मुख्य अफगान सहरहरूमा तालिबान विद्रोही र सरकारी फौजबीच लडाइँ जारी रहेको तथा संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌ले तत्कालै हिंसा अन्त्य गर्न आह्वान गरेका बेला उक्त आक्रमण भएको हो ।

सुरक्षा अधिकारीहरूले एएफपी समाचार संस्थालाई घटनामा चारजना मारिएको बताएका छन् । इटलियन आकस्मिक चिकित्सा परोपकारी संस्थाले चाहिँ काबुलस्थित आफ्नो स्वास्थ्य सेवा निकायमा उक्त घटनामा मारिएका चारजनाको शवका साथ ११ जना घाइते पनि ल्याइएको बताएको छ ।

उक्त आक्रमणमा सहभागी चार बन्दुकधारीहरू पनि मारिएको बताइएको छ । ‘आत्तिनु पर्ने कुरा छैन, सबै ठिकठाक छ,’ रक्षामन्त्री मोहम्मदीले घटनापछि ट्वीट गरेका छन् । अमेरिकी विदेश मन्त्रालयले उक्त हमला तालिबानले गराएको देखिने सबै लक्षणहरू भएको बताएको छ ।

आक्रमणको घण्टौँपछि काबुल निवासीहरू सडकमा निस्किएर र घरका छतहरूमा उभिएर तालिबानको आक्रमणलाई हाँक दिइरहेको सामाजिक सञ्जालमा साझा गरिएको भिडिओमा देखिएको छ । हालैका दिनमा कडा लडाइँ भइरहेको हेरत सहरमा पनि सोमवार त्यस्तैखाले दृश्य देखिएको थियो । अफगानिस्तानको दक्षिणी हेल्मन्ड प्रान्तका सहरमा अफगान फौज र तालिबानबीच भीषण लडाइँ जारी छ । -बीबीसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *