बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ । चक्रपथबाट बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बुढानिलकण्ठ नगरपालिका-३ पञ्चकन्या मार्ग बस्ने ६२ वर्षीय ठाकुर प्रताप थापालाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उच्च अदालत पाटनको २०७६ भदौ ३ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३९ लाख ९६ हजार ४ सय रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौँ चक्रपथबाट पक्राउ गरेको हो ।
थापाले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालालाई झुक्यानमा पारी देव विकास बैंकको चेक काटेकाले बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।








