शक्तिशाली सुनसरी

विराटनगर । प्रदेश १ मा सुनसरी सबैभन्दा शक्तिशाली जिल्ला बनेको छ । प्रदेशको संरचना स्थापनासँगै प्रदेश सभा र सरकारमा सुनसरीमा लगभग सबै पद परेका छन् । अहिलेसम्मको तथ्याङ्कलाई आधार मान्ने हो भने १४ जना प्रदेशसभा सदस्य रहेको जिल्लाले सभामुख र उपसभामुख नै पाएको छ । सुनसरीका एकजना मन्त्री, एकजना संसदीय समितिको सभापति, प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता पनि सुनसरीकै छन् ।

को कस्ता ?
सभामुख प्रदिपकुमार भण्डारी धरानका स्थायी बासिन्दा हुन् । सुनसरी निर्वाचन क्षेत्र १ (ख)बाट निर्वाचित भएका भण्डारी अहिले प्रदेशसभाको मुख्य व्यक्ति सभामुखको भूमिकामा छन् । प्रदेश सभाको दोस्रो मर्यादा अर्थात उपसभामुख रहेकी सरस्वती पोखरेल नेकपा माओवादी केन्द्रको समानुपातिकबाट प्रदेश सभा सदस्य भएकी हुन् ।

प्रदेशसभामा शक्ति सञ्चयको रुपमा रहेको प्रमुख प्रतिपक्षी दलका नेता पनि सुनसरीकै राजीव कोइराला हुन् । नेपाली कांग्रेसबाट निर्वाचन क्षेत्र २ (ख)बाट निर्वाचित कोइराला भद्र स्वाभावका व्यक्तिमा गनिन्छन् । प्रत्यक्ष निर्वाचित कोइराला राजनीतिक दाउपेचभन्दा पनि विकास निर्माणको कुरामा बढी ध्यान दिने नेताका रुपमा चिनिन्छन् ।

प्रदेश सरकार गठन भएपछि नेकपाभित्र आएको उथलपुथलमा पनि निरन्तर मन्त्री पदमा रहेका व्यक्ति हुन् नेकपा एमालेबाट प्रत्यक्षतर्फ सुनसरी क्षेत्र नम्बर ४ (क)बाट निर्वाचित जगदीशप्रसाद कुसियैत । ओली समूहमा रहेका कारण कुसियैत अहिलेसम्म पनि मन्त्री छन् । कुसियैत आफ्नो निर्वाचन क्षेत्रमा ठूला परियोजना पार्नमा उद्धत भएको आरोप लाग्दै आएको छ ।

संसदीय समितिको सभापति हुनुभन्दा पहिलासम्म भौतिक पुर्वाधारको क्षेत्रमा गुणस्तरीय काम नभएको भनेर कट्टर आलोचकको छवि बनाएका सुनसरी निर्वाचन क्षेत्र नम्बर २ (क)बाट निर्वाचित प्रदेशसभा सदस्य सर्वध्वज साँवा लिम्बु भौतिक पुर्वाधार विकास समितिका सभापति हुन् । नेकपा एमालेबाट चुनाव जितेका साँवा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका विश्वास पात्रको रुपमा छन् ।

त्यस्तै प्रदेश सभा सदस्यमा सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ (ख)बाट निर्वाचित भीमप्रसाद आचार्य नेकपा एमालेको राष्ट्रिय राजनीतिमा पनि चर्चामा आइरहने व्यक्ति हुन् । उनी प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसँग संसदीय दलको नेताको चुनाबमा पराजित भएका थिए । नेकपा एमाले हुँदा पार्टीको सचिवको भूमिकामा पुगेका आचार्य प्रदेश १ को ईन्चार्जको भूमिका पनि निर्वाह गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *