तत्काल भारतीय मजदुर ल्याउन देऊ : इँटा व्यवसायी

विराटनगर । इँटा व्यवसायीले इँटा उद्योगमा मजदुर समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएको छ । नेपाल उद्योग परिसंघ प्रदेश १ को तर्फबाट प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई भेटेर वर्तमान आवस्थामा इँटा उद्योगका समस्या र मजदुर अभावको बारेमा ध्यानाकर्षण गराएको हो ।

अहिलेको मजदुर अभाव र यसको सहजीकरणका लागि मुख्यमन्त्री शेरधन राई र आन्तरिक मामिला तथा कानुमन्त्री हिक्मतकुमार कार्कीलाई ज्ञापन पत्र दिँदै उद्योगको समस्याका विषयमा राज्यको सहजीकरण चाहिएको उल्लेख गरेका छन् ।

नेपाल उद्योग परिसंघको तर्फबाट प्रदेश १ का अध्यक्ष भीम घिमिरेद्वारा बुझाइएको ध्यानाकर्षण पत्रमा कोभिडका कारण विगत वर्षदेखि १० प्रतिशत उद्योगमात्र सीमित समयमात्र संचालन गरेर मजदुरको अभावमा बन्द गर्नुपरेको बताइएको छ । सीमित उत्पादनका कारण बजारमा इँटाको आपुर्तिमा समस्या भई निर्माणकार्य अवरुद्ध भई विकास निर्माण नै प्रभावित भएको उद्योगीको भनाइ छ ।

यो वर्ष पनि अवस्थामा सुधार नआएको स्मरण गराउँदै इँटा उद्योगहरूको मौज्दात नरहेकाले विकास निर्माणदेखि सर्वसाधारणलाई समेत आवश्यक पर्ने इँटा आपुर्ति गर्न समस्या सिर्जना हुने संघका अध्यक्ष घिमिरेले बताए । ‘नेपालमा रहेका इँटा उद्योगहरूमा दक्ष कामदार भारतीय मजदुरको भर पर्नुपर्ने बाध्यता रहेकाले समयमै दक्ष मजदुर ल्याउनका लागि उद्योगहरू भारतीय मजदुरहरूलाई लगानी गरिराखेको करोडौँ रकम डुब्ने अवस्था विद्यमान छ, प्रदेश १ का इँटा व्यवसायीले भने, दक्ष मजदुर समयमै ल्याउन नपाए र समयमै इँटा उत्पादन शुरु नभए भौतिक संरचना निर्माणमा इँटा अभाव हुनेछ ।’

भारतीय मजदुरको भरमा चलेका पुर्बका इटा उद्योगलाई चाहिने मजदुर ल्याउन सहजीकरणका लागि सरकारको ध्यानाकर्षण गराउनुपर्ने अवस्था आएको उनले बताए । आधिकारिक इँटा उद्योग संघको सिफारिसमा आउने मजदुरलाई निर्वाध रुपमा नेपाल प्रवेश गर्न दिनुपर्ने उनीहरूको माग छ ।

उनीहरूले मजदुरको सहज आवागमनका लागि वातावरण बनाउन प्रदेशभित्रका झापा, मोरङ र सुनसरी जिल्ला प्रहरी प्रशासन र सहजीकरणका लागि सरकारलाई आग्रह गरेका हुन् । नेपाल उद्योग परिसंघको तर्फबाट प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालय, गृह मन्त्रालय, उद्योग मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयसहित झापा, मोरङ र सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पनि ज्ञापन पत्र बुझाइएको संघका महानिर्देशक विजयहरि शर्माले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *