मेलम्ची आयोजना अनिश्चित, अध्ययन गरिदिन एडीबीलाई पत्राचार

काठमाडौँ । सरकारले मेलम्ची खानेपानी आयोजनाबारे अन्यौलता प्रकट गरेको छ ।

तथापि, मेलम्चीको समस्या समाधानका लागि सरकारले आफ्नो तर्फबाट अध्ययन गर्ने, विदेशी दातृ निकायलाई समेत भौगर्भिक अध्ययन गरिदिन आग्रहलगायतका कार्य गरिरहेको सरकारी अधिकारीहरूले बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले सिन्धुपाल्चोकमा गइरहेको लेदोसहितको बाढी र त्यसले मेलम्ची आयोजनामा पारेको प्रभावबारे खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिका पदाधिकारीहरुसँग छलफलको आयोजना गरेको थियो ।

बैठकको सुरुमै आफ्नो कुरा राखेकी खानेपानी तथा सरसफाइ मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्यले निराशा प्रकट गरिन् । उनले आयोजनाको हेडवर्क्स (मुहान क्षेत्र) क्षेत्र बाढीले बगाएर ल्याएको ढुंगा, माटो र बालुवाले पुरेकाले आयोजना अनिश्चित भएको बताइन् ।

असार १ को बाढीपछि आयोजना पुनःस्थापित गर्ने कार्ययोजना बनिरहँदा आइतबारदेखि थप लेदोसहितको बाढी आएपछि आयोजनाको भविष्यबारे थप आशंका उब्जिएको उनले बताइन् ।

‘अस्तिको बाढीले झन् निराश बनायो । अस्तिको बाढीअघि माघसम्म अस्थायी रुपमै भए पनि पानी ल्याउन सकिन्छ भन्ने थियो । तर‚ अब त्यो समयसम्म काम गर्न सक्छौँ कि सक्दैनौँ भन्ने भएको छ‚’ उनले भनिन् ।

यसैगरी, खानेपानी तथा सरसफाइ मन्त्रालयकी सचिव बज्राचार्यले मेलम्ची खानेपानी आयोजनाभन्दा माथिल्लो क्षेत्रको भौगर्भिक अवस्थाको अध्ययन गरिदिन एसियाली विकास बैंक (एडीबी) लाई पत्राचार गरिएको जानकारी दिइन् ।

‘२१ वर्षदेखिको प्रयास गरिएको मेलम्ची खानेपानी आयोजना के हुने भन्ने यकीन छैन’ सचिव बज्राचार्यले भनिन्, ‘आयोजनाभन्दा माथिको तटीय क्षेत्रको भौगर्भिक अवस्थाबारे एसियाली विकास बैंक (एडिबी)लाई पनि पत्राचार गरेर दीर्घकालीन अध्ययन गरिदिनुस् भनेका छौँ ।’ उनले मेलम्ची आयोजना अनिश्चित भए पनि जसरी पनि बचाउनुपर्ने बताइन् ।
उनका अनुसार सरकारले सोमबार एडीबीलाई पत्र लेखेर मेलम्चीको माथिल्लो क्षेत्रको भौगर्भिक अवस्थाको अध्ययन गरिदिन आग्रह गरिएको हो । ‘पत्र आजमात्रै लेखिएको हो‚’ उनले भनिन् ।

पत्रमा एडीबीलाई विज्ञ टोलीहरूबाट अध्ययन गरिदिन र उक्त अध्ययन टोलीमा नेपालका विज्ञहरूलाई समेत समावेश गर्न आग्रह गरिएको उनले जानकारी दिइन् । ‘हाम्रो तर्फबाट विज्ञटोलीबाट अध्ययन भइरहेको छ । विदेशी एक्सपोर्टहरूले पनि अध्ययन गरिदियोस् भन्ने सरकारको चाहना हो । जहाँ हामीले हाम्रोतर्फका उपस्थितिको पनि कुरा गरेका छौँ ।’

भौगर्भिक अध्ययन गर्न निर्देशन
सांसदहरूले मेलम्ची खानेपानी आयोजना छनौटअघि हुनुपर्ने पूर्वअध्ययन र पूर्व कार्ययोजनामा समस्या भएको जिकीर गरेपछि विकास तथा प्रविधि समितिले पनि सोहीअनुसार निर्देश गरेको छ ।

बाढीबाट मेलम्ची खानेपानी आयोजनामा पुगेको क्षतिको अध्ययन गर्न र मेलम्ची आयोजनामा भएको क्षतिको अध्ययन गर्न विज्ञ टोली बनाएर त्यसको दीर्घकालीन समाधान निकाल्न सरकारलाई निर्देशन दिएको हो ।

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना सञ्चालनका लागि २१ वर्षदेखिको प्रयास र लगानी सुनिश्चित गर्न सिन्धुपाल्चोकस्थित बाढीपहिरो प्रभावित क्षेत्रको भौगर्भिक अवस्था अध्ययनका लागि विज्ञसहितको संरचना बनाउन समितिले निर्देश गरेको हो ।

समितिले आयोजनामा भएको क्षतिपछिको पुनर्निर्माणका लागि अन्तरमन्त्रालय समन्वय गर्न र त्यसका लागि आवश्यक बजेटको सुनिश्चितता गर्न सरकारलाई भनेको छ ।

याङ्री र लार्के खोलाको पानी मेलम्चीमा पथान्तरण गर्नुअघि त्यस क्षेत्रको जियोलोजिकल र हाइड्रोलोजिकल अवस्थामा विस्तृत अध्ययन गरेर मात्रै काम अघि बढाउन समितिले निर्देश गरेको छ ।

यसैगरी, विकास तथा प्रविधि समितिले सिन्धुपाल्चोकस्थित बाढी पहिरो प्रभावित क्षेत्रलाई विपत संकटग्रस्त क्षेत्र घोषणा गरी प्रभावितहरूको उद्धार, राहत र बस्ती स्थानान्तरणको काम गर्न निर्देश गरिएको छ ।

‘अहिले पनि सुख्खा पहाडसहितको गेगर झरिरहेको सो क्षेत्रमा अत्यधिक जोखिमको अवस्था रहेकाले यस क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरी विस्थापित भएकाहरूको तत्काल उद्धार, राहत तथा पुनःस्थापनाको साथै प्रभावित बाढी पहिरोको उच्च जोखिममा रहेका बासिन्दाहरूको सुरक्षित व्यवस्थापन/स्थानान्तरणको व्यवस्था मिलाउन समिति नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देश गर्दछ‚’ समितिले दिएको निर्देशनमा उल्लेख छ ।

१ अर्ब ८८ करोड बराबरको क्षति
सिन्धुपाल्चोकमा आएको लेदोसहितको बाढी पहिरोका कारण मेलम्चीमा खानेपानी आयोजनाको मात्रै १ अर्ब ८८ करोड बराबरको क्षति भएको छ । तथापि, प्राविधिक निरीक्षणको लागि सुरुङको मुख्य गेट बन्द गरिएकाले मुख्य टनेलमा क्षति नपुगेको अनुमान मेलम्ची खानेपानी आयोजना विकास समितिको छ ।

मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठका अनुसार प्रारम्भिक अध्ययनमा करिब १ अर्ब ८ करोडको क्षति भएको पाइएको छ ।

मेलम्ची बजारदेखि हेडवकर्स क्षेत्र अम्बाथानसम्मको २२ किमिमध्ये ८ किमि सडक पूर्ण रुपमा क्षति भएको, याङ्ग्रीतर्फ ५ किमि सडक क्षति भएको, ६ वटा पक्की पुल बगाएको छ ।

यस्तै, लेदोसहितको बाढीले आयोजनाको डाइभर्सन टनेलमा २१० किलोमिटर लेदो भरिएको, हेडवर्क्सका पक्की संरचनाहरू पक्की बाँध, गेटहरू, जेनेरेटर घर र कन्ट्रोल हाउस पुरिएको छ । कन्ट्रयाक्टर लेबर क्याम्प पनि बगाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *