कोरोनाको डरलाई जितेको आस्था ! (तस्बिरहरू)

काठमाडौँ । कोरोना कहरका कारण पशुपतिनाथ मन्दिरको मूल गेट बन्द छ । साउनको तेस्रो सोमबार मन्दिरभित्र सुनसान छ तर‚ मन्दिर बाहिर भक्तजनको घुइँचो छ ।

कोरोना भाइरस नियन्त्रण गर्न लगाइएको निषेधाज्ञा खुकुलो भएपनि हालसम्म विद्यालय, मन्दिर र मानिस धेरै जम्मा हुने ठाउँहरू भने अझै खुलेका छैनन् । कोरोना कहरका कारण मूल ढोका बन्द गरिएता पनि भक्तजनहरू मन्दिर बाहिरबाटै पुजाआजा गरिरहेका छन् । न सामाजिक दुरी, न त मास्क, न त डर नै । केवल आस्था । मन्दिर परिसरमा पुगेका मानिसहरूले कारोना महामारीलाई बेवास्ता गरिएको दृष्य देख्न सकिन्छ ।

उनीहरूलाई कसैको पनि वास्ता छैन‚ छ त केवल आफ्नो भगवानप्रतिको आस्थाको‚ जसका कारण मानिसलाई कोरोनाको भय नै छैन ।

कोरोनाको तेस्रो लहर आउने जोखिम बढेपछि स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गर्दै आएको छ । तर पनि मन्दिरमा यो नियम पालना भएको देखिएको भने छैन । हिन्दु धर्मालम्वीहरूको एउटा महत्वपूर्ण महिना – साउन । आराध्यदेव भगवान शिवजीसगँ सम्बन्धित महिनाको रुपमा मनाइने गरिन्छ ।

साउन महिना धार्मिक, सांस्कृतिक एवं प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण भएकाले विशेषगरी हिन्दु धर्मावलम्बीहरूले यस महिनालाई विशेषरुपमा लिने गर्दछन् । साउनको सोमवार शिवजीको व्रत बसी पुजाआजा गर्ने परम्परा रहिआएको छ ।

पार्वतीले साउन महिनाभरि निराहार रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको भन्ने किंवदन्तीहरू पाइन्छन् । त्यसैलाई अनुसरण गर्दै हिन्दु महिलाहरूले यसलाई विशेष महिनाका रुपमा लिन्छन् । यो महिनामा व्रत बसी पूजा गरेमा श्रीमान, सन्तान तथा परिवार सबैको कल्याण हुने धार्मिक विश्वास रहेको छ ।

सोमवार व्रत बसी शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता पनि छ । त्यसैले आजको दिनमा शिवालयहरूमा भक्तजनको घुइँचो हुने गर्दछ ।

हाम्रो आफ्नै धार्मिक मान्यता त छँदैछन्‚ त्यसलाई हामीले मान्नु पनि पर्छ तर‚ कोरोना महामारीको यो समयमा स्वास्थ्य मापदण्ड नअपनाएर स्वास्थ्यलाई हेलचक्र्याइँ गर्दा कोरोना संक्रमितको संख्या झन् बढ्न सक्ने भएकाले सबैले यसप्रति गम्भीर हुन जरुरी हुन्छ ।

तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *