अलि बेग्लै छ काठमाडौँ वर्ल्ड स्कूल

काठमाडाैँ । धेरै कुराको सम्भावना र अवसरको हब बनेको काठमाडौँ उपत्यका शैक्षिक गतिविधिको पनि प्रमुख थलो हो । काठमाडौँ, भक्तपुर र ललितपुरमा ‘गुणस्तरीय शिक्षा’का लागि सयौँ शैक्षिक संस्था खुलेका छन् । राम्रो शिक्षाका लागि नै देशभरिबाट काठमाडौँमा विद्यार्थी आउने गर्छन् ।

विकल्पै नहुँदाको कुरा बेग्लै भयो । विकल्पहरू धेरै हुँदा उपभोक्तालाई कुन छान्ने भन्ने हुन्छ । प्रतिस्पर्धी समयमा अरुभन्दा अब्बल बन्न र उपभोक्तालाई तान्न सजिलो छैन । शिक्षा क्षेत्रमा पनि बढ्दो प्रतिस्पर्धाले गुणस्तर र फरक तरिकाले अघि बढ्न सञ्चालकहरुलाई दबाब पर्ने गरेको छ ।

उपलब्ध धेरै विकल्पहरुमध्ये आफ्ना लागि सबैभन्दा उत्तम विकल्प मानिसले छनौट गर्छ । यसरी विद्यार्थी र अभिभावकको छनोट र उत्तम विकल्प बन्न लागिपरेको विद्यालय हो- काठमाडौँ वर्ल्ड स्कूल ।

भक्तपुरको गुन्डुको शहरोन्मुख क्षेत्रमा रहेको यो स्कूल जङ्गलको बिचमा छ । राजधानीको कोलाहलभन्दा टाढा र घरैघरको उकुसमुकुसभन्दा पर रहेको यो स्कूलमा अध्ययनका लागि शान्तिपूर्ण वातावरण रहेको पाइन्छ । आफूहरूले पूर्वीय दर्शन र शिक्षा पद्धतिलाई पछ्याउने क्रममा यो ठाउँ छानेको विद्यालयका प्रधानाध्यापक केसरबहादुर खुलाल बताउँछन् ।

खुलाल भन्छन्, ‘पूर्वीय दर्शन र सभ्यतालाई हेर्दा हाम्रा अग्रजको शिक्षा आर्जन गर्ने, ज्ञान हासिल गर्ने स्थान खुल्ला चौर र जङ्गल हुने गर्थ्यो । जहाँ बाहिरी दुनियाँको चहलपहल र कोलाहालले बाधा नपुगोस् । सिकाइमा कुनै अवरोध नआओस् ।

पश्चिमी सभ्यतामा पनि विद्यालय र विश्वविद्यालय ठुला र फराकिलो ठाउँमा रहेको पाइन्छ । विश्वका चर्चित स्कूलहरू अधिकांश शहरका केन्द्रमा हुँदैनन् । त्यसैले विद्यालय खुल्ला र फराकिलो ठाउँमा नै हुनुपर्छ । भौतिक पूर्वाधारका लागि, खेल्ने मैदानका लागि, व्यवहारिक जीवन उपयोगी सिकाइका लागि, रचनात्मक हुनका लागि यो जरुरी भएकाले हामीले यस्तै ठाउँ रोजेका हौँ ।’

पछिल्लो समय काठमाडौँ, भक्तपुर, ललितपुरलगायतका सहरी क्षेत्रमा जग्गाको भाउ बढेको तथा खाली ठाउँ नै कममात्र हुँदै गएकाले विद्यालयहरू पनि संकुचित हुँदै गएका छन् । एउटा सानो भवनको साँघुरो कक्षाकोठामा भएका विद्यालय र फराकिलो ठाउँमा रहेका विद्यालयका जनशक्ति फरक हुने अनुभव छ प्रधानाध्यापक खुलालको । ‘यो नित्तान्तः मैले अनुभव गरेको कुरा हो‚ कुनै खोजको आधारमा भनेको होइन‚’ खुलाल भन्छन् ।

नेपालमा बदलिँदो आर्थिक परिवेशले गर्दा काठमाडौँ वर्ल्ड स्कूलको आवश्यकता परेको प्रधानाध्यापक खुलालको दाबी छ । त्यसैले स्थापनाको ४ वर्षमा हिँड्दै गर्दा विद्यालयमा ६ सय विद्यार्थी पुग्नु यसको उदाहरण भएको उनी बताउँछन् ।

काठमाडौँ वर्ल्ड स्कूलको पनि आफ्नो लक्षित समूह रहेको स्कूलककी एडमिसन एन्ड मार्केटिङ अफिसर आरती आचार्य बताउँछिन् । ‘पहिला सम्पन्न वर्गले राजधानीलाई विकास र सहरीकरण गर्दै लगे । त्यसकै छेउछाउमा मध्यम आर्थिक हैसियत भएकाहरू बस्न थाले । जब शहर पूर्ण रुपमा विकसित हुँदै गयो‚ यहाँका धनी वर्ग शहर बाहिर र नेपालबाट समेत बाहिरिन थाले । नेपाल अहिले ठ्याक्कै त्यही अवस्थामा छ‚’ उनले भनिन् । पहिले शहरका वरिपरी बस्नेहरू अहिले शहर पस्न थालेका छन् । त्यहि स्थितिलाई मध्यनजर गर्दै स्कूल स्थापना भएको विद्यालय प्रशासन बताउँछ ।

राम्रो आर्थिक हैसियत भएका र आफ्ना सन्तानहरुलाई गुणस्तरीय शिक्षा दिन विदेश जान चाहने अभिभावकहरू त्यही कारण देश बाहिर जानु नपरोस् भनेर यो विद्यालय खोलिएको आचार्य बताउँछिन् । विद्यालय शिक्षाका लागि देशबाट रकम बाहिर नजाओस् भनेर विद्यालय खोलिएको उनले बताइन् । यो विद्यालय औद्योगिक घराना चौधरी ग्रूपले सञ्चालन गरिरहेको छ ।

काठमाडौँ वर्ल्ड स्कूलमा पुग्दा प्राकृतिक सुन्दरताका साथै फराकिलो खेल्ने मैदान, फराकिला कक्षाकोठाहरू, व्यवस्थित प्रयोगशालाहरू, हरियाली र फूल फुलेका सुन्दर बगैँचाहरू, सफा शौचालय, चराहरूको चिर्विर चिर्विर अनि वरपर देखिने खेतका फाँटहरू । मनै लोभ्याउने वातावरण छ ।

तर यो स्कूल सबै वर्गका व्यक्तिले भने धान्न सकिने खालको छैन । विद्यालयको शुल्क तुलनात्मक रुपमा अन्य निजी विद्यालयको भन्दा पनि महङ्गो छ ।

शैक्षिक गुणस्तर र शैक्षिक वातावरणलाई पठनपाठन योग्य बनाउँदै गुणस्तरीय शिक्षा दिनका लागि शुल्क तय गरिने र त्यो अरु सामान्य विद्यालयको भन्दा केही बढी नै रहेको कुरा विद्यालय प्रशासनले पनि स्वीकारेको छ । ‘हाम्रो विद्यालयको गुणस्तरीयतामाथि कहिल्यै कुनै प्रश्न उठेको छैन । अभिभावक, विद्यार्थीलगायत हाम्रो लक्षित समूह खुसी हुनुहुन्छ । राम्रो वातावरण खोज्नका लागि केही रकम लगानी गर्नैपर्ने हुन्छ र गर्नुभएको पनि छ । असाध्यै विपन्न र जेहेन्दार विद्यार्थीका लागि हामीले सरकारले तोकेअनुसारकै १० प्रतिशत छात्रवृत्तिमा पढाइरहेका छौं‚’ आचार्यले भनिन् । त्यस्ता विद्यार्थी छान्ने जिम्मा स्थानीय तहलाई दिएको र त्यसैअनुसार सिफारिस भई आउने विद्यार्थीलाई छात्रवृत्तिका लागि छनोट गर्ने गरिएको उनले बताइन् ।

विद्यालयले प्राथमिक तहमा प्राथमिक विद्यालयको अन्तर्राष्ट्रिय पाठ्यक्रम र विधिका साथमा राष्ट्रिय पाठ्यक्रम ढाँचाअनुसार नै पठनपाठन गराउने गरेको छ ।

अन्तर्राष्ट्रिय प्राथमिक पाठ्यक्रम आईपीसीले विद्यार्थीलाई यही नै पढाउनुपर्छ भन्दैन । त्यही पाठ्यक्रमका लागि विद्यालयले लाइसेन्स लिएर वार्षिक रकम तिरिरहेको छ । त्यसैले विद्यार्थीलाई अनावश्यक किताबको भार र मानसिक दबाबको स्थिति नरहने प्रधानाध्यापक खुलाल बताउँछन् । उनी भन्छन्, ‘हामी विद्यार्थीलाई पाठ्यपुस्तकको भार आवश्यक पनि ठान्दैनौँ । हामीले यही नै प्रकाशकको किताब पढाउनुपर्छ भनेर बाध्य पनि बनाएका छैनौँ । विद्यार्थीलाई पनि हामीले त्यो बाध्यताले बाँधेका छैनौँ । राष्ट्रिय पाठ्यक्रम पछ्याउनुपर्‍यो, आईपीसीको पाठ्यक्रम फलो गर्नुपर्‍यो त्यति हो । यसैगरी पठनपाठन गर्न अभिभावकले हामीलाई साथ दिनुभएको छ ।’

कोरोना महामारीका बिच अनलाइन कक्षा सञ्चानमा गरिएको सर्वेक्षणमा ९७ प्रतिशत अभिभावक र विद्यार्थी सन्तुष्ट भएको विद्यालयमा काठमाडौँ वर्ल्ड स्कूल परेको छ । यो विद्यालयले ७ कक्षासम्मका विद्यार्थीका लागि अङ्क र प्रतिशत ल्याउनभन्दा पनि प्रत्येक दिन र प्रत्येक महिना आफ्ना विद्यार्थीको स्थिति सुधार र केही नयाँ सिकाइमा जोड दिने गरेको विद्यालयले जनाएको छ ।

यसअघि लामो समय बुढानीलकण्ठ स्कूलमा अध्यापन र प्रधानाध्यापकको जिम्मेवारीसमेत कुशलतापूर्वक निर्वाह गरेका प्रधानाध्यापक खुलाल भन्छन्, ‘अबको शैक्षिक पद्धती भनेको जीवन बाँच्न सक्ने हिसाबले प्रयोगात्मक हुनुपर्छ । त्यही हिसाबले व्यवहारिक हुनुपर्छ । अबका पुस्ताले परम्परागत सबै कुरा चिने भने राम्रो हो तर बाँच्ने क्रममा त्यो कतै काम लागेन भने त्यसको कुनै अर्थ रहँदैन । त्यसैले सिकाइमा पनि प्रशस्त जीवन उपयोगी सीप हुनुपर्छ । प्रविधिले फड्को मारिसक्दा विद्यार्थीलाई दूध कहाँबाट आउँछ थाहा नपाउँदा पनि फरक पर्दैन तर दूध किन्ने प्रक्रिया मोबाईल, कम्प्युटर र इन्टरनेटको प्रयोगबारे जान्नैपर्छ । किनकी अब बिस्तारै यस्तै समय आउँदैछ ।’

काठमाडौँ वर्ल्ड स्कूल त्यस्तै जीवनोपयोगी सीप विद्यार्थीलाई सिकाउने र स्वदेशमा नै अन्तर्राष्ट्रिय गुणस्तरको शिक्षा दिई जनशक्ति निर्माण गर्ने लयमा रहेको विद्यालयको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *