आइडिया नेपालले हस्तकला प्रवर्द्धनमा सघाउने

काठमाडौं । हस्तकलाको व्यवसायिक संरक्षण र प्रवर्द्धनका लागि नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाईनर्स एसोसिएसन अफ नेपाल (आइडिया नेपाल) बीच सझौता भएको छ । आइतबार महासंघको कार्यालयमा आयोजित एक कार्यक्रम बीच महासंघ अध्यक्ष सुरेन्द्रभाइ शाक्य र आइडिया नेपालकी अध्यक्ष बिन्द्रा कक्षपति प्रधानले सझौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सझौताअनुसार इन्टेरिएर डिजाइनिङका विद्यार्थीबीच हस्तकला डिजाइनिङ प्रतियोगिता आयोजना हुनेछ । उत्कृष्ट तीन प्रतियोगीलाई महासंघले इन्टेरिएर डिजाइनिङ अवार्ड प्रदान गर्ने महासंघका उपाध्यक्ष एवं हस्तकला वर्ष २०२१ का संयोजक रवीन्द्र शाक्यले जानकारी गराए ।

सझौतानुसार हस्तकलाको प्रवर्द्धनका लागि आइडिया नेपालले हस्तकलालाई पनि इन्टेरिएर डिजाइनमा समावेश गर्नेछ । जसका लागि एसियन पेन्ट्सले पनि सहकार्य गर्ने भएको छ । नेपाली हस्तकलालाई समयअनुसार परिमार्जन गर्दै जाने उद्देश्यका साथ हस्तकला वर्ष २०२१ को अवसरमा हस्तकलाको प्रवद्र्धनात्मक अभियानअनुसार नै दुबै संस्थाबीच सहकार्यका लागि सझौता भएको उपाध्यक्ष शाक्यले जानकारी गराए । महासंघका अनुसार विश्वव्यापी कोरोनाका कारण हस्तकला निर्यात प्रभावित भइरहेको सन्दर्भमा नेपाली हस्तकला बजारलाई चलायनमान बनाउने कार्यमा सघाउ पुर्याउने उद्देश्य रहेको छ ।

आठ लाखभन्दा बढीलाई रोजगारीका साथै निर्यात र आन्तरिक बजारसमेत गरी वार्षिक झण्डै २० अर्ब रुपैयाँ बराबरको हस्तकला समाग्रीको कारोबार हुने गरेकोमा कोरोनाका कारण निर्यात र आन्तरिक बजार दुबै खस्किएको छ । निर्यात व्यापारको मेरुदण्डका रुपमा रहेको हस्तकलालाई पुनरजीवन महासंघले तीनवटै तहका सरकारसँगको सहकार्यमा जोड दिएको छ ।

कोरोनाका कारण कम्तिमा पनि आगामी एक वर्षसम्म नेपालमा विदेशी पर्यटक आउने सम्भावना नरहेकोले हस्तकलाको आन्तरिक बजार बिस्तार गर्न सरकारी निकायले पनि नेपाली हस्तकला समाग्रीको प्रयोगमा ल्याउनुपर्ने महासंघको माग रहेको छ । सरकारले इन्टेरिएर डिजाइनिङसँग हस्तकला समायोजन तालिम सञ्चालनका लागि आवश्यक बजेट व्यवस्था गर्नुपर्ने बताइएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *