कर्णालीमा डुङ्गा दुर्घटना एकजनाको मृत्यु

धनगढी । कर्णाली नदीमा काठको डुङ्गा पल्टिएर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । गम्भीर घाइते भएकी मोहन्याल गाउँपालिका-३ की १९ वर्षीया धनसरा सलामी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनका एक महिनाका छोरा कर्ण सलामी मगरसमेत घाइते छन् । बालकको अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रतीक विष्टले जानकारी दिए ।

कर्णाली नदीमा आइतबार मध्याह्न १२ बजे काठको डुङ्गा पल्टिँदा एक नाबालकसहित तीन जना बेपत्ता भएका छन् । कैलालीको मोहन्याल गाउँपालिका- ३ रागा मलेखाबाट सुर्खेतको चौकुने गाउँपालिका– ४ स्थित स्वास्थ्य चौकीमा बच्चालाई खोप लगाउन र उपचार गर्न गइरहेका बेला दुर्घटना भएको हो ।

डुङ्गा  पल्टिँदा मोहन्याल गाउँपालिका- ३ की २० वर्षीया उर्मिला सलामी मगर र उनको १० दिनको बच्चा र सोही ठाउँकी २० वर्षीया पार्वती थापा बेपत्ता भएका छन् । प्रहरीका अनुसार डुङ्गामा १० जना सवार थिए । त्यसमध्ये पाँच जना पौडिएर जोगिएका छन् ।

घटनास्थलमा प्रहरी र स्थानीयले बेपत्ताको खोजी कार्य गरिरहेका छन् । नदीको बहाव उच्च भएकाले खोजीकार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *