डीडीसीको धुलाे दूध ‘इन्स्ट्यान्ट डेरी ह्वाइटनर’को व्यवसायिक उत्पादन सुरु

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी)ले धुलो दूधको व्यवसायिक उतपादन सुरु गरेको छ । ‘इन्स्ट्यान्ट डेरी ह्वाइटनर’ ब्रान्डमा डीडीसीले उक्त उत्पादन बजारमा ल्याएको हो । खास गरी चिया तथा कफी बनाउन उपयोगी हुने गरी उक्त उत्पादन बजारमा ल्याएको हो । डीडीसीअन्तर्गत विराटनगरको दुग्ध वितरण आयोजनाले उक्त धुलो दूध उत्पादन प्लान्ट सञ्चालनमा ल्याएको डीडीसीका महाप्रबन्धक रुद्रप्रसाद पौडेलले बताए ।

‘डीडीसीअन्तर्गत विराटनगरको प्लान्टबाट चैतको १२ गतेदेखि नै धुलो दूधको परीक्षण उत्पादन सुरु गरिएको थियो,’ उनले भने, ‘साउन पहिलो साताबाट भने व्यवसायिक उत्पादन सुरु गरेको हो ।’ गत चैतको ११ गते कृषि मन्त्रालयले आयोजना गरेको कार्यक्रममा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल धुलो दूध, बटर, अण्डा र मासुमा आत्मनिर्भर भएको घोषणा गरेका थिए । उक्त औपचारिक घोषणपछि नै डीडीसीले धुलो दूधको परीक्षण उत्पादन सुरु गरेको थियो ।

धेरै अघिदेखि डीडीसीले डेरी ह्वाइटर तथा धुलो दूध उत्पादनको प्रयास गरेको भए पनि बल्ल उत्पादन गर्न सफल भएको बताए । ‘विगतमा दूध उत्पादन नै पनि कम थियो,’ उनले भने, ‘बल्ल हामी दूध उत्पादनमा आत्मनिर्भर हुँदै गएका छौं । अब धुलो दूध उत्पादन गर्न सक्ने अवस्थामा पुगेका छौं । अर्कोतर्फ मेसिन बिग्रिएको तथा कोभिड–१९ महामारीका कारण प्लान्ट सञ्चालन पर धकेलिएको पनि थियो ।’

विराटनगरस्थित उक्त प्लान्टको उत्पादन क्षमता भने प्रतिमिटनेट ३० प्याकेट तथा प्रतिघण्टा १ हजार ८ सय प्याकेट रहेको छ । दैनिक ८ सय टनसम्म उत्पादन क्षमता राख्छ । हाल दैनिक २ सय टनसम्म उत्पादन भइरहेको छ ।

उपभोक्ता र बजारको माग हेरेर आवश्यकता अनुसार उत्पादन गरिने गरेको महाप्रबन्धक पौडेलले बताए । हाल ४ सय ग्राम र ८ सय ग्राम तौलका ह्वाइटनर प्याकेज प्लान्टबाट उत्पादन भएरहेको छ ।

डीडीसीको उक्त उत्पादन भोटभटेनी, बिगमार्ट र सेल्सबेरी जस्ता सुपरमार्केटले बिक्री गर्ने सम्झौता नै गरेका उनले बताए । भाटभटेनीले मात्रै मासिक १५ लाख रुपैयाँको डेरी ह्वाइटनर किन्ने सम्झौता गरिसकेको छ । मासिक झण्डै २० लाख रुपैयाँको ह्वाइटरको उत्पादन तथा बिक्रीको सुनिश्चितता भइसकेको उनले बताए । ‘यो माग चाँडै मासिक ४० देखि ५० लाख रुपैयाँको पुग्ने छ,’ उनले भने ।

माग बढेसँग उत्पादन समेत वृद्धि गर्दै लगिने उनले बताए । डेरी ह्वाइटनगरमा ठोस पदार्थ एसएनएफ (सोलिड नट फ्याट)मा २१ प्रतिशत चिल्लो र १८ प्रतिशत चिनी मिसाइएको हुन्छ ।

महाप्रबन्धक पौडेलका अनुसार ४ सय ग्राम तौल भएको प्याकेटको मूल्य ३ सय ७० रुपैयाँ र ८ सय ग्राम तौल भएको प्याकेटको मूल्य ७ सय ८० रुपैयाँ तोकिएको छ । डीडीसीको उक्त ह्वाइटनरको मूल्य प्रतिस्पर्धी र सस्तो भएको पनि उनले बताए । बजारमा नेस्लेको ‘एभ्री डे’ को मूल्य डीडीसीको ह्वाइटनरको तुलनामा ४ सय ग्राममा १५ रुपैयाँ र ८ सय ग्राममा ३० रुपैयाँसम्म महँगो पर्ने देखिएको छ ।

डीडीसीले साउनभित्रै होल मिल्क पाउडर (डब्ल्युएमपी)को पनि व्यवसायिक उत्पादन सुरु गर्ने जनाएको छ । ‘होल मिल्कमा चिनी मिसाइँदैन,’ महाप्रबन्धक पौडेलले भने, ‘यसमा २६ प्रतिशत चिल्लो पदार्थ र बाँकी एसएनएफ रहेको हुन्छ । याे झोल दूधबाटै उत्पादन गरिन्छ ।’ ह्वाइटनर र पाउडर दुबैको उत्पादन सुरु भएपछि नेपालको धुलो दूधमा आत्मनिर्भर अझ बढ्ने उनले बताए ।

अहिले नेपाल धुलाे दूधमा पूर्ण रूपमा आत्मनिर्भर भए पनि ह्वाइटनर जस्ता केही उत्पादन आयात समेत भइरहेका छन् ।

होल मिल्क पाउडरबाट भने दूधबाट बन्ने मिठाइहरु समेत बनाउन सकिने बताइएको छ । र, दूधकै रुपमा प्रयोग गर्न पनि सकिन्छ । होल मिल्क पनि ४ सय ग्राम र ८ सय ग्राम कै प्याकमा ल्याउने तयारी छ । सुरुमा दैनिक १ टन होल मिल्क पाउडरको उत्पादन गर्ने र विस्तार उत्पादन बढाउँदै लगिने उनले बताएका छन् ।

आयोजनाले स्किम मिल्क प्रोडक्ट(एसएमपी) समेत उत्पादन गर्दै आएको छ । उक्त उत्पादनमा चिल्लो र चिनीको मात्रा हुँदैन । डीडीसीको उक्त उत्पादनलाई कन्फेक्सनरी, विस्कुट तथा केकरी बनाउने उद्योगहरुले कच्चा पदार्थको रुपमा प्रयोग गर्दैै आएका छन् ।

हाल विराटनगरस्थित उक्त उत्पादन आयोजनाको गोदाममा १ सय ३५ टन एसएमपी मौज्दात रहेको छ । उक्त उत्पादनको मूल्य ७ करोड ४२ लाख ५० हजार रुपैयाँ रहेको छ । दिनको १ टनका दरले बिक्री भइरहेको छ ।

धुलो दूधको माग बढ्दै गएर विराटनगर प्लान्टले धान्न सक्ने अवस्था नभए नेपालगञ्जमा अर्को प्लान्ट स्थापना गर्ने सोच समेत डीडीसीले राखेको महाप्रबन्धक पौडेलले बताए ।

डीडीसीले झोल दूध, धुलो दूध, ह्वाइटनर, पनिर, चिज, बटर, आइसक्रिम, दही, घ्यु जस्ता ४१ प्रकारका डेरीजन्य उत्पादन उत्पादन र बिक्री वितरण गर्दै आएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *