प्रदेश १ : झण्डै एक महिनापछि बस्दै प्रदेश सभाको बैठक

विराटनगर । अनिश्चितकालका लागि स्थगित भएको प्रदेश १ को प्रदेश सभाको बैठक साउन २१ गते बस्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट पारित भएपछि अनिश्चितकालका लागि बैठक स्थगित भएको थियो ।

अर्को सूचना नआएसम्मको लागि भनेर गत असार २५ गते स्थगित गरिएको प्रदेश सभाको आठौँ तथा बजेट अधिवेशनको बाइसौँ बैठक साउन २१ गते बिहीबारलाई बोइएको प्रदेश सभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए । बजेट पारित भएपछि प्रदेशको नामको विषयलाई लिएर अनिश्चितकालसम्मका लागि बैठक स्थगित भएको थियो । प्रदेशको नाम ल्याउने या नल्याउने भन्नेबारेमा भने अझै निर्क्यौल निस्किएको छैन ।

केही दिनअघि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नामाकरणको बारेमा संसदीय दलका नेताहरूसँग छलफलसमेत गरेका थिए । छलफलको क्रममा पार्टीमा छलफल गरेर आएपछि मात्र नामको विषय कसरी अघि बढाउने भन्नेबारेमा कुरा गर्न सकिने सहभागीहरूले बताएका थिए ।

प्रदेशसभाभित्र प्रतिनिधित्व गर्ने सांसदहरूले भने प्रदेशको नाम आफूहरूको कार्यकालमा नआउने हो कि भन्ने चिन्ता व्यक्त गर्दै आएका छन् ।

सबै प्रदेशले प्रदेशको न्वारन गरिसकेको अवस्थामा प्रदेश १ र प्रदेश २ ले पहिचानको मुद्दालाई लिएर अहिलेसम्म नाम दिन सकेका छैनन् ।

प्रदेश १ मा कोशी, सगरमाथा, किराँत, लिम्बुवान र विराट नामहरू चर्चामा छन् । प्रदेश सभाको बैठक आह्वान गरिएपनि कार्यसूची के हुने भन्ने स्पष्ट भई नसकेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *