दार्चुला घटनाबारे भ्रम सिर्जना हुनेगरी सूचना प्रवाह नगर्न गृहको आग्रह

काठमाडौं । सरकारले दार्चुला घटनाको वास्तविक सत्य तथ्य पुष्टि नभई भ्रम सिर्जना हुनेगरी सूचना/समाचार प्रकाशन नगर्न आग्रह गरेको छ ।
शनिबार एक विज्ञप्ति जारी गरी गृहमन्त्रालयले उक्त घटनाको वास्तविकता पत्ता लगाउन स्थानीय प्रशासन एवं सुरक्षा निकायहरूलाई आवश्यक निर्देशन दिइसकेकाले घटनाको वास्तविक सत्य/तथ्य पुष्टि नभई सूचना तथा समाचार प्रकाशन नगर्न आग्रह गरेको हो ।
‘उक्त घटनाप्रति दुःख प्रकट गर्दै स्थानीय प्रशासन एवं सुरक्षा निकायहरूलाई सो घटनाको वास्तविकता पत्ता लगाउन आवश्यक निर्देशन दिइसकेको र घटनाको वास्तविक सत्य तथ्य जानकारी तथा खोज उद्धारका लागि जिल्ला प्रशासन कार्यालय‚ दार्चुलाबाट नेपाल प्रहरी‚ सशस्त्र प्रहरी बल नेपाल ४४ नं. गण र राष्ट्रिय अनुसन्धान विभागको टोली खटिई घटनास्थलमा आवश्यक जाँचबुझ गर्ने कार्य भइरहेको छ‚’ विज्ञप्तिमा भनिएको छ ।
सो घटनाको अनुसन्धान तथा छानबिनको क्रम जारी रहेकाले सत्य तथ्य पुष्टि भई नसकेको अवस्थामा भ्रम सिर्जना हुने कुनै पनि सूचना/समाचार प्रकाशन नगर्न गृह मन्त्रालयले आग्रह गरेको हो ।
शुक्रबार बिहान साढे ८ बजे दार्चुलाको ब्यास गाउँपालिका-२ खाङदाङ मालघाटबाट तुइनमार्फत् भारततर्फको बाटो हुँदै सदरमुकाम खलंगा आउने क्रममा तुइनबाट खोला तर्दै गर्दा खसेर जयसिंह धामी अझै बेपत्ता छन् । उनको खोजीकार्य भइरहेको छ ।









