एमाले बैठकअघि नेताहरु अनौपचारिक छलफलमा

काठमाडौं । एमालेको विघटित कार्यदलका सदस्यहरु पुनः जुटेका छन् । पार्टीभित्रको कलहलाई मिलाउनेगरी सदस्यहरु अनौपचारिक रुपमा जुटेका हुन् । यसअघि असार २८ गते नै १० बुँदे प्रस्तावना तयार परेका सदस्यहरु त्यसपछि पनि पटक–पटक भेटेका थिए । यद्यपि सहमति भने भएन । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्गले मकालुखबरसँग भने, ‘हामीले अझै एमाले एकतालाई नै जोड दिइरहेका छौँ । पार्टी विभाजन हुनुहुँदैन भन्ने ध्येयका साथ हामी रहिरहेका छौँ, भेटिरहेका छौँ । यो अनौपचारिक भेट हो ।’

अध्यक्ष केपी शर्मा ओलीले शनिबार (आज) नै स्थायी कमिटी बैठक बोलाएका छन् । उक्त बैठकअगावै एक बिन्दुमा पुग्नेगरी सदस्यहरुबीच कुराकानी भइरहेको छ । एक नेताले भने, ‘स्थायी कमिटी बैठकअगावै एउटा बिन्दुमा पुग्नेगरी हामी भेटेका हौँ । हामी त्यसैतिर प्रयास गर्छौँ । हेरौँ सम्भव कति हुन्छ ।’ कार्यदलका सदस्यहरुले अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेट गराउन खोजिरहेका छन् । तर, नेता नेपालले नचाहेका कारण दुई नेताबीच भेट हुन नसकेको ती नेताको भनाइ छ ।

यसअघि नेता नेम्वाङ्गसँगै विष्णु पौडेलले नेता नेपालले भेटेका थिए । उनीहरुले अध्यक्ष ओलीसँग भेटेर आफैं कुरा गर्नु भनेकोमा नेता नेपालले ‘म पजेटिभ भएँ’ भनेर जवाफ दिएका थिए । कार्यदलको १० बुँदामासमेत असहमति जनाएका नेता नेपाल पछिल्लो समय समानान्तर गतिविधि गर्दै अगाडि बढिरहेका छन् ।

बैठकअघि एउटा निचोडमा पुग्न कार्यदलका नेताहरु अनौपचारिक छलफलमा जुटेका हुन् । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा नेम्वाङ्ग–पौडेलसँगै, प्रदीपकुमार ज्ञवाली, भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्टलगायतका नेताहरु सहभागी छन् ।

एमालेको संस्थापन पक्षले आजको बैठक पार्टी एकताको सवालमा निर्णायक बैठक भनेको छ । अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलले यसअघि नै पार्टी एकताको नाममा पार्टीलाई गुमनाम नपार्ने भन्दै धेरै कुर्न नसक्ने सार्वजनिक अभिव्यक्ति दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *