किसानले गरे भारतबाट आयात गरिएको फूल जफत गरी नष्ट

भन्छन्- ‘स्वदेशी उत्पादन बचाउने विद्रोह हो यो’

काठमाडौँ । भारतबाट आयात गरिएको फूल नेपाली किसानले जफत गरी नष्ट गरिदिएका छन् । नेपाली किसानहरुको मागलाई बेवास्ता गर्दै आयात गरिएको फूल बिहान काठमाडौंको त्रिपुरेश्वरबाट जफत गरी नष्ट गरिएको हो ।

नेपाली किसानहरुले पटक पटक अनुरोध गर्दा पनि आयात नरोकिएकोले किसानहरु आक्रोसित भएर फूल जफत गरेको राष्ट्रिय किसान महासंघ अन्तर्गतको नर्सरी तथा पुष्प उत्पादक किसान संघका केन्द्रीय अध्यक्ष मोहन सिलवालले जानकारी दिए । ‘किसान साथीहरुको पटक पटकको मागलाई बेवास्ता गरिएपछि बाध्य भएर फूल जफत गरिएको हो,’ उनले भने, ‘किसानहरुको मागमा हामीले पनि ऐक्यवद्धता जनाएका छौं ।’

अध्यक्ष सिलवालका अनुसार फूल बोकेका दुईवटा बोलेरोलाई त्रिपुरेश्वरमा समातिएको हो । त्यहाबाट फूल जफत गरी बुंमती पुलबाट बाग्मती नदीमा नष्ट गरिएको थियो । किसानलाई असर गर्ने फूल नष्ट गरिएपनि विरुवा भने क्वारेन्टाइनलाई बुझाइएको अध्यक्ष सिलवालले बताए । नेपालमै ठूलो मात्रामा फूल स्टक रहेको अवस्थामा केही व्यापारीले स्वार्थपूर्वक भारतीय फूल आयात गरि स्वदेशी किसानद्वारा उत्पादित फूललाई समस्यामा पार्ने काम भइरहेको उनको आरोप छ ।

भारतबाट फूल भित्रिरहेको थाहा पाएपछि किसानहरु एकत्रित भई फूल जफत गर्न तैनाथ अवस्थामा बसेका थिए । फूल जफत गरेको जानकारीपछि अध्यक्ष सिलवाल, किसान महासंघका कोषाध्यक्ष पीएन अधिकारी, फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान)को अध्यक्षमा कुमार कसजु श्रेष्ठ, अखिल नेपाल किसान महासंघ ललितपुरका अध्यक्ष, सचिवलगायत ४० जनाभन्दा बढी किसानले फूल नष्ट गरेका हुन् ।

स्वदेशमा फूलको अभाव भएका बेला आयात गरिए किसानहरुलाई कुनै समस्या नहुने अध्यक्ष सिलवाल बताउँछन् । राज्यबाट कुनै संरक्षण र सहयोग बिना उत्पादन गरेको स्वदेशी फूलले भारतीय फूलसँग प्रतिष्पर्धा गर्न नसक्ने किसानहरुको भनाई छ ।

राष्ट्रिय किसान आयोगका सदस्य तथा प्रवक्ता जीवन्ती पौडेलले किसानहरु आफ्ना समस्या लिएको आएको र सम्बोधनको प्रयास पनि भएको बताइन् । ‘नेपाली पुष्प उत्पादक किसानहरु पटक पटक राष्ट्रिय किसान आयोगमा समस्या लिएर आउनुभएको थियो,’ प्रवक्ता पौडेले भनिन्, ‘आयोगले पुष्प व्यवसायी किसानहरुको समस्यालाई सम्बोदन गर्दै भर्चुअलमाध्यमबाट छलफल गरेको थियो । आयोग समस्या समाधानका लागि प्रतिवद्ध छौं ।’

साथै उनले व्यक्तिगत रुपमा पनि समस्या समाधानका लागि पहल गरेको बताइन् । ‘लकडाउनको समयमा काठमाडौंका किसानले मोटरसाइकलमा फूल बोकेर बजार लैजाँदै गर्दा अत्यावश्यक वस्तु होइन भनेर प्रहरीले रोकेको गुनासो आयो,’ उनले भनिन्, ‘प्रहरीसँग समन्वय गरेर निर्र्बाध ओसार्ने वातावरण मिलेको थियो ।’ यसअघि पनि पटक पटक फूल जफत गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *