महङ्गी बढ्यो कसरी ? (व्यङ्ग्य)

काठमाडौं । तेलको भाउ बढेर आफैं आगो लाग्ने बेला भएको रहेछ । सेलको भाउ बढेर पखाला लाग्ने भएको रहेछ । खाने, लाउने मात्र होइन‚ मुख बाउने हरेक कुरामा महङ्गीले सताएको पाइयो तर, आखिर महङ्गी बढ्यो चाहिँ कसरी ?

श्रीमान्को भिसा झरेपछि श्रीमती बजार झरिन् भुण्टा, गुण्टा र मुण्टा बोकेर । गाउँमा नङ खियाउने उनलाई आजकाल निहुरिएर काम गर्न मनै लाग्दैन । पल्लाघरकीलाई साथी पनि बनाएकी छिन् उनले । अब त खाजा र खानामा प्रतिस्पर्धा हुन्छ, नयाँ के पकाउने भनेर । स्वाद फेरी-फेरी खाने स्वादे जिब्रोमात्र होइन‚ फेसबूकमा पोस्ट्याउनु पनि त पर्‍यो । अब सधैं उही खान्की पोस्ट्याए के भन्लान् देख्नेहरुले ? तनाव छ ।

सबैथोक किनेरै खाइन्छ दुवैको भान्सामा । गाउँमा बारी बाँझो भएको वर्षौँ भइसक्यो । कोदो, घैया र कागुनु त अब बीऊ संरक्षण गरेर राख्नुपर्ने बेला भइसक्यो । विदेशी उत्पादनमा भर पर्नुपरेपछि महङ्गी बढ्दैन त ?

परपट्टी खाजा पसल बाहिर क्यारेमबोर्डको खेल चलिरहेको छ । खेल्ने चारजना छन् । केही दर्शक छन् । क्यारेमबोर्ड खेल्दै राजनीतिक बहस पनि छेडिरहेका छन् उनीहरू । क्यारेमबोर्डको दुलोमा गोटी खसेजस्तै हरेक पटक राजनीतिक चेतनाका कुरा खसि नै रहन्छन् । देश किन बनेन भनेर गजब गजबका तर्क सुन्न पाइन्छ उनीहरुका ।

खेतबारीमा काम गर्न लाज मान्ने अनि वस्तुभाउ पाल्दा इज्जत जाने तर नङ पाल्दा इज्जत बढ्ने र आधुनिक होइने ठान्नेहरुको संख्या पनि बढिरहेकै छ । उनीहरूका तर्क पनि कम छैनन् । गाउँमै खुलेका पार्लर र रेस्टुरेन्ट अनि सेकुवा कर्नरहरूमा बियर र भोड्काका बोतलको चाङ् छ । कुखुरा र बाख्रा पालन हुँदैन‚ सेकुवा कर्नरमा मासु नखाई पनि हुँदैन । खेतबारीमा अन्न फल्दैन‚ बियर र भोड्काको चुस्कीबिना निद्रै लाग्दैन ।

आफू त महादेव‚ कसले देला वर भनेझैं हरेक मानिस यहाँ महादेव नबने पनि कुम्भकर्णको बाटोमा हिँडिरहेका छन् । खेतीपातिमा नयाँपन नआएको कति भयो यहाँ ? भइरहेकै खेती बाँझियो बरु । नयाँ आविष्कारको कुरा त सेलाइगयो । कृषि आविष्कार र आधुनिकीकरणको होइन‚ लालसा, चाप्लुसी, चाकडी र दलालीको कुराको बिगबिगी छ यहाँ । अस्ति एक पार्टीको किसान संगठनका पदाधिकारीको नाम हेर्दै थिएँ, त्यसको नेतृत्वमा जिन्दगीमा कहिल्यै खेती नगरेका र हातगोडामा खेतबारीको माटोको स्पर्शधरि नभएकाहरू समेटिएका रहेछन् ।

अर्थशास्त्रको आधारभूत नियम हो- आपूर्ति घटेपछि मूल्य बढ्छ । उत्पादन नभएपछि आपूर्ति घट्ने नै भयो । त्यसो भएपछि मूल्य बढ्नुको के विकल्प भयो र ? अझ विदेशी वस्तुको भएपछि त्यसबापतको सबै रकम त विदेशै जाने भयो । अर्को दुःख ।

महङ्गी बढ्नुमा अर्को कारण पनि छ, अल्छि तिघ्रो, स्वादे जिब्रो । अल्छ्याइँचाहिँ प्रशान्त महासागरजत्तिकै गहिरो हुने तर‚ जिब्रोको स्वाद भने सगरमाथाको टुप्पोसम्म पुर्‍याउने बानीले मानिस आजकाल काकाकुलझैं बनेको छ । अब नरोप्ने खानमात्र मिठो मिठो खोज्ने बानीले महङ्गी नबढाएर के बढाओस् ?

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत आजकाल मानिसलाई बाटो खन्न लगाइन्छ । तर यिनैमध्येका कसैलाई बाँदर रुँघ्न लगाउने हो भने यहाँका कृषि बालीले त बजार पाउँथे होलान् नि ! कृषकले मेहनत गरेर खेती लगाएको हुन्छ तर‚ बाँदरले एकैछिनमा ब्युँताइदिएपछि यहाँ किसानलाई काम गर्ने मेसो छैन, हाम्रो देशमा ठूला वैज्ञानिक नभए पनि कमसेकम बाँदर धपाउने मेसीनको आविष्कार गरिदिए मात्र पनि धेरै राहत पुग्थ्यो । यहाँ महङ्गी त बाँदरले बढाएको पनि रहेछ ।

अर्काखालका बाँदरहरु पनि यहाँ प्रशस्त देख्न सकिन्छ । वाद र सिद्धान्तको पिछलग्गु, बाइक र कारको पछि लाग्ने र राणाकालीन स्वस्ति शान्तिजस्तै गणतन्त्रकालीन चाकरीमा रमाउने, पद ओगट्ने तर केही नगर्ने केही बाँदरहरुले शासकको पूजाअर्चना गरेर लाभको पदमा पुग्दछन् अनि ठेक्कापट्टा हात पार्छन् । कामै नगरी वा झारामात्र टारेर टन्न कमाउँछन् । केही बुझाउँछन्‚ बाँकी स्वयम् बुत्याउँछन् । सरुवा बढुवादेखि जागिर लगाइदिने कामसम्ममा यिनैको हालिमुहाली छ । जसबाट प्राप्त हुने रकमले यिनीहरु मोटाएका छन् । दुःखले कमाएको खर्च गर्न पो लोभ । खैराँतमा भेटेको धन उडाउन के छ र ? भनाइ नै छ ‘लुटको धन फुपुको श्राद्ध ।’ अनि महङ्गी नबढेर हुन्छ र ?

फूलमाया अचेल निकै व्यस्त छिन् टिकटक बनाउन र विदेशमा भएको श्रीमानलाई देखाउन । गाउँमा मेला-पर्म गर्ने उनको दिनाचर्या आजकल वाईफाईमा झुम्मिएर बितेका छन् । केटाकेटी पढाउन भनेपछि भाडामा बसेर जति पनि खर्च गर्न तयार हुनैपर्‍यो । उनी रोपाइँ गर्न पनि गाउँ गइनन् । उनलाई हात र गोडाका नङको खुबै माया लाग्यो । धान रोप्दा घामले डढेर छाला कालो हुने डर थियो । उनी शहरमा ब्युटीपार्लरमा फेसियल गर्दै गर्दा गाउँमा ससुरा मैजारोमा गोरु नुहाउँदै थिए ।

गाउँकै लोकबहादुर अहिले बाइकबाहेक एक पाइलो चाल्दैन । तिर्खा लागे बियर खान्छ । भोक लागे सेकुवा र मःमःमा रमाउँछ । घरजग्गा कारोबारी, गाउँमा हुने ठेक्कापट्टालगायतबाट मनग्ये आम्दानी छ । जतिपनि खर्च गर्न ऊ तयारै छ ।

गाउँमा नयाँ वर्ष, साउने संक्रान्ति, दशैं, तिहार, पुसे पन्ध्र, माघे संक्रान्ति र चैते दशैंमा मासु खाए पुग्थ्यो । अहिले हप्तादिन कुर्न पनि कम्ति सकस हुँदैन । ओहो, यो शहर अचम्मको छ, विदेशी बाख्राको मासु भए पनि‚ विकासे कुखुराको मासु भए पनि शहरले भोकलाई सम्बोधन गरेको छ । गाउँमा जब ऊ जान्छ‚ लोकल कुखुरा पनि पाउँदैन । वाह ! गाउँमा नपाल्ने तर शहरमा मरिहत्ते हाल्ने यो प्रवृत्तिले मूल्य ह्वात्तै बढाउने नै भयो ।

आजकाल गाउँमा रक्सी बनाउन पाइन्न । प्रहरी आएर रक्सीका ड्रम नै हुर्‍याइदिन्छन् तर विदेशी रक्सीको ब्रान्ड गाउँसम्म पुगिसकेको छ‚ कुनै रोकटोक छैन । वाह, हामी नेपाली कत्ति धनी, आफ्ना रैथाने कुरा बिर्सेर विदेशी ब्रान्डलाई टेवा दिइरहेका छौं, अनि महङ्गीको भाउले सगरमाथामको पाउ नटेकेर के टेकोस् ?

घरबुना कपडा हराइसके अचेल । कपासको खेती त निर्मूलै भइसक्यो । जुट र सनपाट पत्तासाफ झैं बनाइसकियो । माटोको खुत्रुकेको सट्टा प्लास्टिकको खुत्रुके आयो, स्याखुको सट्टा प्लास्टिक आयो । दुना-टपरीदेखि गिलास र थालसम्म प्लास्टिकका आए । रैथानेपन हरायो । मानिसलाई पात टिपेर दुना टपरी गाँस्न पनि झ्याउ लाग्न थाल्यो । हावाको भरमा कुद्न थालेपछि‚ जता पनि पैसाको पछि दगुरेपछि महङ्गी नै त हो बढ्ने ।

देशमा चुनाव आयो, नेताले व्यापारीको घरमा धाए अनि केही पैसा पाए । केही नेताले चुनाव जिते, केहीले हारे । चुनाव सकिनासाथ जित्ने नेताले व्यापारीको लागि भाउ बढाए, समानको भाउ बढ्यो, भाउ बढेपछि किसानले ती सामान किन्न सकेनन् । उसले धान, चामल र दूधको भाउ पनि बढायो । निजी विद्यालयले पनि स्कुलको शुल्क बढाए । अस्पतालले शुल्क बढायो । होटलले चिया र खाजाको मेनुमा शुल्क फेर्‍यो । अर्को वर्ष नेताले व्यापारीसँग केही रकम लिएर आफ्नो घर, जग्गा किने, फेरि व्यापारीले सामान बढाउने, किसानले बढाउने कामको श्रृङ्खला जारी रह्यो ।

गाउँमा बाढी आयो, शहर पसेका नेता हेलिकोप्टरमा उडेर देशाटनमा घुम्ने जोहो भयो, तीन हजारको राहत गाउँमा पुग्यो तर‚ राज्यको खर्चमा तीस लाखको हेलिकप्टर खर्च खातामा चढ्यो । यस्ता कुरा सबै प्रदेशमा भए अनि राज्यको ऋण थपियो, राज्यले कर थुपारेर ऋण घटाउन खोज्यो अनि महङ्गो बढ्यो । यहाँ मितव्ययिताको नाममा कुन कार्यक्रम गर्दा कति रकम हुने भनेर निश्चित मापदण्ड तोक्ने‚ कुन सरकारी संस्थाले कुन शीर्षकमा गुणस्तरमा र कति रकम बचाएर मितव्ययी तरिकाले काम गर्ने भनेर पुरस्कार नदिँदासम्म यो महङ्गीको सुई अझै उचाइमा पुग्ने नै छ ।

थोरै महङ्गी बढाउन त यहाँको पनि हात छ, नपत्याए हजुरका गोजीमा भएका महङ्गो मोबाइल छाम्नुस् त, त्यो कसरी आयो ? सस्तो किने पनि काम चल्थेन ? अरु अरु पनि यहाँका कर्तुत छन् है, म खोलिदिउँ ? भो महङ्गा कुरा अब नगरौं । बरु सोचौं यो घटाउनेबारे ।

तारेमाम् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *