विर्तामोडमा भेटियो होटेलमा खोप, स्वास्थ्य शाखा प्रमुखसहित खोप प्रहरी नियन्त्रणमा

विराटनगर । झापाको विर्तामोडमा एक होटलमा पुर्‍याइएको कोरोनाविरुद्धको खोप स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् । विर्तामोड नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख ओम खड्का कार्यालयको गाडीमा भ्याक्सीनसहित होटलमा पुगेको थाहा पाएपछि स्थानीयले उनलाई पछ्याएका थिए ।

कार्टुन लिएर होटलमा छिरेका स्वास्थ्य शाखाका प्रमुख गाडी बाहिर रोकेर भित्र पसेको स्थानीयले जनाएका छन् । विर्तामोडमा रहेको टाइमलेस होटलमा सरकारी गाडीमा उनी प्रवेश गरेका थिए ।

स्थानीय पोषराज कटुवालका अनुसार होटलको रिसेप्सनमा राखिएको एक कार्टुन खोपसहित विर्तामोड नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख खड्कालाई प्रहरीले ईलाका प्रहरी कार्यालय अनारमनीले लगेको थियो । शुरुमा फ्रीजमा राखिएको भनिएको खोप काउन्टरमुनि राखिएको अवस्थामा फेला परेको स्थानीयले बताएका छन् ।

कोरोनाविरुद्धको खोप मापदण्डविपरीत आफू निकटलाई मात्र दिने गरेको गुनासो भइरहेका बेला लुकाएर राखिएको खोप र विर्तामोड नगरका जनस्वास्थ्य प्रमुखलाई स्थानीय युवाले अपराह्न ४ बजे फेला पारेका थिए ।

विगत केही दिनयता जनस्वास्थ्य प्रमुख खड्काले सो होटलमा नजिकका व्यक्तिहरूलाई बोलाएर खोप लगाउने गरेको स्रोतले बताएको छ । खोपसहित जनस्वास्थ्य प्रमुख नै फेला परेपछि प्रहरी टोलीसमेत त्यहाँ पुगेको थियो ।

स्वास्थ्य शाखा प्रमुख खड्काले आफू होटेलमा नै क्वारेन्टाइनमा रहेकाले खोप ल्याइएको दाबी गरेका छन् । होटलको अभिलेखमा भने खड्का शुक्रबारमात्रै इन्ट्री भएको पाइएको छ । खड्कामाथि यसअघि पनि खोप लुकाएर प्रतिव्यक्ति १० हजार रुपैयाँ असुलेर बिक्री गर्ने गरेको आरोप लाग्दै आएको थियो । यसको पुष्टि भने भएको छैन ।

विर्तामोडमै औषधिको होलसेल पसलसमेत गर्दै आएका खड्काले कोरोना संक्रमण शुरू भएयता आफ्नै फर्मका लाखौँ मूल्यका सामग्री नियमविपरीत नगरपालिकालाई बिक्री गरी अनियमिततासमेत गर्दै आएको स्थानीयको आरोप छ ।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले प्रहरीले खोप बरामद गरिसकेको र सो विषयमा छानबिन थालिएको बताएका छन् । लक्षित वर्गबाट कोरोना खोप नपाएको गुनासो आइरहेका बेला उक्त खोप फेला परेको हो । यसबारेमा जानकारी लिन खोज्दा विर्तामोड नगरपालिकाका मेयर ध्रुबकुमार सिवाकोटीले कुनै प्रतिक्रिया दिएका छैनन् । यसअघि पनि विराटनगरका मेयर भिम पराजुलीले बुधबार राति आफ्ना कार्यकर्तालाई घरमै लगेर खोप लगाएको थाहा पाएपछि स्थानीयले लखेटेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *