दार्चुला घटनाको वास्तविकता बाहिर ल्याउन कांग्रेसको माग

काठमाडौँ । नेपाली कांग्रेसले दार्चुलामा भएको घटनाको सम्पूर्ण वास्तविकता बाहिर ल्याउन र आफ्नो नागरिकलाई न्याय दिलाउन माग गरेको छ ।

शुक्रबार कांग्रेसका प्रवक्ता विश्‍वप्रकाश शर्माले एक विज्ञप्ति जारी गरी तुइनबाट महाकाली नदी तर्ने क्रममा एक युवा बेपत्ता भएको घटनाबारे सम्पूर्ण वास्तविकता सार्वजनिक गर्न सरकारसँग माग गरेका हुन् ।

यसका साथै विज्ञप्तिमा भारतीय पक्षसँग यसबारेमा संवाद गर्न, आफ्नो नागरिकलाई न्याय दिलाउन, सम्बन्धित परिवारजनलाई राहत दिन/दिलाउनसमेत माग गरिएको छ ।

‘दार्चुला जिल्लाको व्यास गाउँपालिकाबाट भारत उत्तराखण्ड राज्यको पांगल हुँदै खलंगा आउँदै गर्दा तुइनबाट महाकाली नदी तर्ने क्रममा एक नेपाली युवा नदीमा बेपत्ता भएको घटनासँग सम्बन्धित प्रश्नप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु । भारतीय एसएसबीका जवानले तुइन काटिदिएका कारण घटना भएको समाचार सार्वजनिक भएपश्चात जिल्ला पार्टी सभापति ललितसिंह बोहरा र अन्य नेतृत्व तहले स्थानीय रूपमा गरेको थप सम्पर्क पश्चात सोही विवरण केन्द्रमा प्राप्त भएको छ‚’ विज्ञप्तिमा उल्लेख गरिएको छ‚ ‘नदी तर्ने क्रममा तुइन काटिदिएपछि ३५ वर्षीय युवा जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको घटना अत्यन्तै दुःखद मात्रै होइन अमानवीय र अत्यन्तै आपत्तिजनक छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *