कर्णालीमा जीप खस्यो : २ बेपत्ता, ३ घाइते

धनगढी । कर्णाली नदीमा जीप खस्दा दुईजना बेपत्ता भएका छन् । कैलालीको चिसापानीदेखि मोहन्याल गाउँपालिकाको सोल्टा जानेक्रममा बाँकास्थित सडकबाट जीप कर्णालीमा खस्दा दुईजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुर्घटनामा परेर तीन जना घाइते भएका छन् । जीप कर्णालीमा डुबेको हुँदा नम्बर खुल्न नसकेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा डोटीको आदर्श गाउँपालिका साउले बस्ने चालकसमेत रहेका चन्द्रप्रकाश जोशी र उनको श्रीमती रुपी जोशी बेपत्ता भएका छन् । जीप खसेपछि खोजतलास गर्दा उनीहरुका तीनजना बच्चा झारीमा फेला परेको इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) पुष्कर पन्तले जानकारी दिए ।

उनकाअनुसार घटनापछि खोजतलास गर्दा अन्दाजी १२ वर्षकी लक्ष्मी जोशी, पाँच वर्षकी सावित्री जोशी र तीन वर्षकी भुवन जोशी घाइते अवस्थामा झारीमा फेला परेका हुन् । उनीहरुमध्ये सावित्री र भुवनको अवस्था गम्भीर रहेकाले लम्कीस्थित लालरत्न अस्पतालमा सामान्य उपचारपछि कोहलपुर रेफर गरिएको छ ।

डीएसपी पन्तले कर्णालीमा डुबेको जीप निकाल्ने प्रयास भइरहेको बताए । जीप सडकमा ब्याक गर्नेक्रममा कर्णालीमा खसेको उनले बताए । उनकाअनुसार जीप सडकबाट करिब ३०० मिटर तल नदीमा खसेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *