प्रदेश १ सरकार तेस्रो लहरको कोभिडको तयारी गर्दै

विराटनगर । प्रदेश १ कि सामाजिक विकास मन्त्री उषाकला राईले कोभिड-१९ को तेस्रो लहरको पूर्वतयारीमा जुट्न निर्देशन दिएकी छन् ।

विज्ञहरूले कोरोनाको तेस्रो लहरमा बालबालिका बढी जोखिममा रहने बताएकाले सोहीअनुसारको तयारीमा जुट्न उनले आग्रह गरेकी हुन् ।

कोभिड-१९ को सम्भावित तेस्रो लहरको पूर्वतयारीको सम्बन्धमा आयोजना गरिएको भर्चुअल बैठकमा सामाजिक विकास मन्त्री राईले तयारी अवस्थामै थिएनौँ भन्ने छुट कसैलाई नभएको बताइन् । कोभिड-१९ को सम्भावित तेस्रो लहरको पूर्वतयारीमा रहन निर्देशन दिँदै उनले सबै मिलेर मात्र समस्या र चुनौतिको समाधान गर्न सकिने बताइन् ।

कोरोना नियन्त्रणका लागि सबै एकजुट भएमात्र सम्भव हुने भन्दै उनले अस्पतालको क्षमताअनुरुप कोरोना संक्रमित बालबालिकाको उपचारका लागि छुट्टै उपचार केन्द्र सञ्चालनका लागि पनि तयारी भइरहेको बताइन् । मन्त्री राईले प्रत्येक जिल्लामा गठित डीसीसीएमसीले आफ्नो जिल्लाभित्रका सबै पालिकाहरूको अवस्था, आवश्यकता र तयारीसहित जिल्लाको समस्या, आवश्यकता पहिचान गरी आवश्यक तयारीसहित सम्पूर्ण जानकारी र माग सामाजिक विकास मन्त्रालयमा तत्काल पेश गर्न निर्देशन दिइन् ।

छलफमा सामाजिक विकास मन्त्रालयका सचिव कमलप्रसाद भट्टराई, स्वास्थ्य महाशाखा प्रमुख सागर प्रसाईं, १४ वटै जिल्ला समन्वय समितिका प्रमुखहरू, सदरमुकाम तथा पालिका प्रमुखहरू, प्रमुख जिल्ला अधिकारीहरू, अस्पताल र स्वास्थ्य कार्यालयका प्रमुखहरूको सहभागिता थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *