सत्ता गठबन्धनमा मन्त्रालय बाँडफाँट, कसले कति पाए ?

काठमाडौं । सत्तारुढ गठबन्धनमा ‘पावर शेयरिङ’मा सहमति भएको छ। सत्तारुढ गठबन्धनका नेताहरुको बिहीबार बसेको गोप्य बैठकले मन्त्रालयको भागबन्डा टुंगो लगाएको हो । गठबन्धनको सहमतिअनुसार सबैभन्दा धेरै मन्त्रालय सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेसले पाएको छ ।

कांग्रेसले उपप्रधानसहित ८ मन्त्रालय पाउने भएको छ । यस्तै माओवादीले र जसपाले समान ७/७ वटा मन्त्रालय पाउनेगरी सहमति जुटाइएको बैठकमा सहभागी एक नेताले मकालुखबरलाई जानकारी दिए । नेकपा एमालेको माधवकुमार नेपाल समूहले भने तत्काल सरकारमा नजाने भएको छ । नेपाल समूहले सरकारमा नजाने बताएसँगै सत्तारुढ तीन दलले पावर शेयरिङमा सहमति जटाएका हुन् ।

सरकारमा सहभागी नभएपनि नेपाल समूहलाई राजनीतिक र संवैधानिक नियुक्तीमा भने समेट्ने सहमति गठबन्धनले गरेको छ । ‘उहाँहरु (नेपाल समूह) ले सरकारमा आउँदैनौं भन्नुभयो । त्यसैले हामीले आपसमा मन्त्रालयको बाँडफाँट गर्यौँ,’ ती नेताले भने, ‘तर उहाँहरुलाई राजनीतिक र संवैधानिक नियुक्तीमा भने राम्रो अवसर दिने सहमति भएको छ ।’ मन्त्रालयको भागबन्डा टुंगो लागेसँगै मन्त्री परिषद् विस्तारको तयारी समेत गरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मन्त्रिपरिषद् विस्तार तत्काल गर्नुपर्ने भएकाले मन्त्रीको नाम दिन आग्रह गरेका थिए । उनले मन्त्रालयको बाँडफाँटसमेत तत्काल गर्न भनेका थिए । देउवा र प्रचण्डको भेटवार्तापछि गठबन्धनका नेताहरु पावर शेयरिङमा छलफल गर्न जुटेका थिए । छलफलमा कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र नेता कृष्णप्रसाद सिटौला, माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रवक्ता नारायणकाजी श्रेष्ठ तथा जनता समाजवादी पार्टी (जसपा)बाट उपेन्द्र यादव, बाबुराम भट्टराई र अशोक राई सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *