सिरहामा महिलाको शंकास्पद मृत्यु, हत्या भएको आरोप

जनकपुरधाम । सिरहामा ससुराली पक्षद्वारा एक महिलाको हत्या भएको माइती पक्षले आरोप लगाएको छ । जिल्लाको धनगढीमाई नगरपालिका-६ स्थित सिमराका सुनिल महतोकी २९ वर्षीया पत्नी ज्ञानकुमारी महतो सोमबार मध्यराति १२ बजेतिर आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

घटनाबारे जानकारी पाएपछि घटनास्थल पुगेका प्रहरीले शव पोष्टमार्टमका लागि धरान पठाएको थियो । ज्ञानको मृत्यु आत्महत्या नभई हत्या भएको माइती पक्षको आरोप छ । माइती पक्षले मृतकको शव प्रहरी कार्यालय अगाडि राखेर प्रदर्शन गरेका हुन् । मृतक महिलाका श्रीमान् सुनिल कमजोर मानसिक स्थितिका छन् । आठ वर्षअघि बिहे भएका उनीहरूको एक सन्तान छ । बिहे भएदेखि नै छोरीलाई ससुरा र देवरले विभिन्न किसिमको यातना दिँदै आएको र अहिले आएर हत्या नै गरिदिएको मृतककी आमा महेश्वरी महतोले बताइन् ।

छोरीलाई पटक-पटक यातना दिँदै आएको र एक महिनाअघि पनि कुटपिट गरेपछि त्यसयता माइतीमै बस्दै आएकी मृतक ज्ञानकी आमा महेश्वरीले बताइन् । उनले भनिन्, ‘केही दिन पहिले फेरि आएर ससुराले लगे । त्यसको केही दिन नबित्दै मेरी छोरीलाई मारिदियो ।’ छोरीको हत्या गरिसकेपछि फस्ने डरले झुण्ड्याइदिएको महेश्वरीको आरोप छ ।

प्रहरी कार्यालय अगाडी प्रदर्शन
ज्ञानको हत्या भएको आरोप लगाउदै माइती पक्षले इलाका प्रहरी कार्यालय लहान अगाडि शवसहित प्रदर्शन गरेको छ । ससुरा पक्षले हत्या गरेको भन्दै माइती पक्षले मृतक महिलाको शवसहित प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

छोरीको हत्या नै भएको पटक(पटक प्रहरीलाई बताए पनि प्रहरीले आफूहरूलाई वास्ता नगरेको र जाहेरी पनि नलिएपछि शव लिएर प्रदर्शन गरेको आमा महेश्वरीले सुनाइन् । यता, प्रहरीले शव झुण्डिएको अवस्थामा भेटिएका कारण अहिले जाहेरी नलिएको बताएको छ । शवको पोष्टमार्टम भइसकेको र दुई–तीन दिनमा रिपोर्ट आएपछि त्यसको आधारमा अघि बढ्ने सिरहाका प्रहरी प्रवक्ता सुवास बुढाथोकीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *