शेखर कोइरालालाई कांग्रेसले वैधानिकता गुमाउने चिन्ता !

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीले वैधानिकता गुमाउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । संवैधानिक सीमाभित्र १४ औँ महाधिवेशनका सम्पूर्ण प्रक्रिया अघि बढिसक्नुपर्नेमा विलम्ब भएकाले वैधानिकता गुम्ने खतरा बढेको उनको भनाई छ ।

नेता कोइरालाले पूर्व निर्धारित कार्यतालिकाको पालना नभएकोप्रति पनि असन्तुष्टि जनाएका छन् । ‘अहिलेसम्म क्रियाशील सदस्यको अन्तिम छिनोफानो समेत हुन सकेको छैन । यसले समयसीमा भित्र महाधिवेशन सम्पन्न हुने कुरामा संशय बढेको छ,’ उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘संविधानतः आगामी भाद्र २३ गते पार्टीको वैधानिकता समाप्त हुँदैछ भन्ने हामीलाई हेक्का छ कि छैन ?’

उनले पार्टी विधानमै नभएको नयाँ अभ्यास भइरहेको आरोप लगाए । ‘पदाधिकारी र पूर्व पदाधिकारीहरुको निरन्तर बैठक बस्ने तर महाधिवेशन प्रक्रिया अघि नबढ्ने यो कस्तो चाला हो ? यसको जवाफ कसले दिने ? पार्टीका सबै साथीहरूको चाहना छ,’ उनले भने, ‘संवैधानिक सीमाभित्र हाम्रो महाधिवेशनका सम्पूर्ण प्रक्रिया अघि बढिसक्नुपर्छ, अन्यथा कांग्रेसले वैधानिकता गुमाउने निश्चित छ । यसबाट हामी उम्कने बाटो छैन ।’

पार्टी महाधिवेशनको प्रक्रिया अविलम्ब सुचारू गर्न नेता कोइरालाको आग्रह छ । ‘लोकतान्त्रिक अभ्यासको पाठशाला ठानिने हाम्रो पार्टीले आफ्नो महाधिवेशन समेत समयभित्र सम्पन्न गर्न सकेन भने आउने पुस्ता, समाज र हाम्रा शुभेच्छुकहरुलाई के जवाफ दिने ? तसर्थ पार्टी महाधिवेशनको प्रक्रिया अविलम्ब सुचारू गरियोस भन्ने आग्रह छ,’ उनले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *