महाधिवेशनको कार्यतालिका हेरफेर गर्न कांग्रेसको बैठक जारी

काठमाडौं । आसन्न १४ औँ महाधिवेशनको कार्यतालिका हेरफेरलगायत विषयमा छलफल गर्न कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बसिरहेको छ । बुढानिलकण्ठस्थित सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवासमा भइरहेको छलफलमा महाधिवेशनको कार्यतालिका हेरफेर, क्रियाशील सदस्यता विवाद, मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल भइरहेको नेताहरूले बताएका छन् ।
बैठकमा प्रधानमन्त्री देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौलासहित पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरु सहभागी छन् । बैठकमा आसन्न महाधिवेशनका लागि केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले मंगलबार बुझाएको प्रतिवेदन र क्रियाशील सदस्यतामा विवाद रहेका क्षेत्रका बारेमा छलफल भइरहेको छ ।
‘आजको छलफलको मुख्य कुरा क्रियाशील सदस्यताको विवादको समाधान र महाधिवेशन नै हो । त्यसबाहेक मन्त्रिपरिषद् विस्तारका विषयमा समेत केही छलफल हुन्छ,’ बैठकमा सहभागी एक नेताले भने ।
छानविन समितिले सर्वसम्मत बुझाउनुपर्ने प्रतिवेदनमा केन्द्रीय सदस्य कल्याणकुमार गुरुङले असहमति जनाएका छन् । तर, कांग्रेसले समितिका सबै सदस्यले सर्वसम्मतरुपमा विवादको समाधान गर्ने मापदण्ड बनाएको थियो । गुरुङको असहमतिका बीच समितिले बुझाएको प्रतिवेदन स्वीकृत हुने/नहुने भन्नेपनि विवाद रहेको छ ।
विवादकै विषयलाई लिएर बारा र सर्लाहीलगायत विभिन्न जिल्लाका नेता कार्यकर्ताहरूले केन्द्रीय कार्यालयमा धर्ना जारी दिइरहेका छन् ।
कांग्रेसले भदौको १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशनको मिति तोकेको छ । तर, त्यसभन्दा अघि गर्नैपर्ने तल्ला तहको अधिवेशनको कार्यतालिका प्रभावित भइसकेको छ । अब केन्द्रीय महाधिवेशनको त्यही मितिलाई कायम राखेर तल्ला तहको महाधिवेशनको नयाँ कार्यतालिका बनाउने वा केन्द्रीय महाधिवेशनकै मिति हेरफेर गर्ने भन्ने सम्बन्धमा छलफल भइरहेको ती नेताले बताए ।








