एक वर्षमा २१ किलोमीटर सडक कालोपत्र

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड-१९ को महामारीको प्रतिकूल अवस्थाका बाबजुद प्रदेश सरकारको खर्च प्रतिशत सन्तोषजनक रहेको बताएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वीरेन्द्रनगर सुर्खेतमा आयोजित प्रदेश सरकारको आर्थिक वर्ष २०७७/०७८ वार्षिक प्रगति समीक्षामा मुख्यमन्त्री शाहीले आव २०७६/०७७ को तुलनामा ३३ दशमलव ३३ प्रतिशतले खर्च प्रगति बढेको बताएका हुन् । प्रदेश सरकारको कार्यसम्पादनको प्रभावकारिता एवं बजेट कार्यान्वयनको प्रगति क्रमशः वृद्धि हुँदै गएको भन्दै सरकारका सबै निकायमा क्रियाशील राजनीतिक तथा प्रशासनिक नेतृत्व एवं समग्र राष्ट्रसेवक कर्मचारीलाई उनले धन्यवाद व्यक्त गरे ।

समीक्षा कार्यक्रमार्फत मुख्यमन्त्री शाहीले चालू आवको बजेट कार्यान्वयनको लागि आवश्यक तयारी थाल्न मन्त्री तथा सचिवहरूलाई निर्देशन दिएका थिए । आव २०७७/७८ चालूतर्फ रु १४ अर्ब ६७ करोड २२ लाख ३२ हजार, पूँजीगततर्फ रु १९ अर्ब ०६ करोड ९१ लाख २१ हजार गरी कूल रु ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार बजेट विनियोजन गरेको प्रदेश सरकारले चालूतर्फ रु आठ अर्ब ५१ करोड ४२ लाख ७५ हजार, पूँजीगततर्फ रु १३ अर्ब ५९ करोड ४४ लाख २० हजार गरी जम्मा खर्च रु २२ अर्ब १० करोड ८६ लाख ९६ हजार अर्थात ६५ दशमलव ५२ प्रतिशत गरेको समीक्षामार्फत जनाइएको छ ।

प्रदेश सरकारले रु ३२ राजस्व सङ्कलनको लक्ष्य लिएकोमा रु ५० करोड सङ्कलन गरेको, कोभिड–१९ महामारीको प्रतिकूल अवस्थामा समेत ३३ दशमलव ३३ प्रतिशत बजेट खर्च वृद्धि गरेको, स्थानीय तहमा वित्तीय हस्तान्तरणमार्फत कूल बजेटको १० प्रतिशत रकम हस्तान्तरण गरिएको भन्दै मुख्यमन्त्री शाहीले भौतिक पूर्वाधार निर्माणअन्तर्गत २१ किलोमिटर सडक कालोपत्र, एक हजार १३६ किलोमिटर सडक ग्राभेल, ७५८ दशमलव २ किलोमिटर कच्ची सडक निर्माण, ११ वटा झोलुङ्गे पुल, सातवटा सडक पुल निर्माण सम्पन्न गरिएको बताए । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *