आजै टुङ्गिन्छ जसपा विवाद ?

उपेन्द्रपक्षीय जसपा भन्छ– हामी आधिकारिकता पाउँछौं

काठमाडौं । सत्ता समीकरणका दौरानमा दुई समूहमा विभाजन भएको जनता समाजवादी पार्टी (जसपा), नेपालले सोमबार (आज) सम्भवतः निर्वाचन आयोगबाट आधिकारिकता पाउँदैछ । निर्वाचन आयोगतर्फ जाँदै गरेका नेता महेन्द्रराय यादवले मकालुखबरसँग भने— ‘आधिकारिकता हामी पाइहाल्छौँ नि । सनाखतबाट निर्वाचन आयोगले विवाद टुङ्ग्याउने भनेको छ । यसअनुरुप हामी जाँदैछौँ । हाम्रो बहुमत छ । यसरी हेर्दा हामीले आधिकारिकता पाउँछौँ ।’

निर्वाचन आयोगले जसपाको आधिकारिकतासम्बन्धी विवादको टुङ्गो लगाउन आज पार्टीका केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई सक्कल प्रति नागरिकतासहित बोलाएको छ । यसपछि नेताहरु आयोग पुग्दैछन् । आयोगले जसपाको आधिकारिकता विवाद निरुपणका लागि इजलास गठन गरी गत साउन ७ गते कानूनी बहस सकेर पार्टी एकीकरण बखत संलग्न कागजातसहित उपस्थित हुन आग्रह गरेको थियो ।
सोहीअनुरुप जसपाका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्य सनाखतका लागि आयोगमा बिहान ११ बजे उपस्थित भएका हुन् । सनाखतपछि आयोगले आधिकारिकतासम्बन्धी सम्भवतः आजै निर्णय सुनाउनेछ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले मकालुखबरसँग भने— ‘सनाखतको कामपछि सम्भतः आजै विवादको सकिन्छ र आधिकारिकताको घोषणा हुन्छ ।’

जसपाको ५१ सदस्यीय कार्यकारिणी समिति छ । जसपा ०७७ असार २४ गते निर्वाचन आयोगमा दर्ता भएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सत्ता साझेदारी गर्दा जसपा दुई समूहमा विभाजन भएको थियो । ठाकुर पक्ष सरकारमा सहभागी भएको थियो भने यादव पक्ष प्रतिपक्षमा उभिएको थियो । दुवै पक्षले पार्टी आधिकारिकताका लागि दाबी गर्दै आयोगमा गएका थिए । पछिल्लो पटक शेरबहादुर देउवा प्रधानमन्त्री बनेर विश्वासको मत लिँदा दुवै पक्षले पक्षमा मतदान गरेका थिए ।

पछिल्लो समय खासगरी गठबन्धनको सरकार बनेपछि ठाकुर पक्षका कतिपय नेताहरु यादवको कित्तामा उभिएका छन् । सरकारमा जाने पक्का भइसकेको यादवको पक्षमा बढी कार्यकारिणी सदस्यहरु उभिएका छन् ।

यसैबीच आयोगको निर्णयअघि अध्यक्ष ठाकुर पक्षले आधिकारिकता र पार्टी विभाजन रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेको थियो । रिटमाथि आइतबार सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गर्दै साउन १५ गते दुवै पक्षलाई छलफलका लागि बलाउने आदेश दिएको थियो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *