निजी क्षेत्रलाई खोप दिलाउन वरिष्ठ उपाध्यक्ष ढकालको माग

चरिकोट । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड–१९ को महामारीबाट संकटमा परेको पर्यटनलगायत सम्पूर्ण व्यवसायलाई पुनः लयमा ल्याउन खोप अनिवार्य भएको बताएका छन् । शनिबार दोलखाको चरिकोटमा होटल एम्ब्रोसियाको उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रलाई खोपको प्राथमिकतामा राख्न सरकारसँग माग गरे ।

‘संकटमा परेको मुलुकको अर्थतन्त्रलाई पुनरोत्थानका लागि व्यवसाय र व्यवसायिक गतिविधिहरुलाई चलायमान बनाउन जरुरी हुन्छ,’ उनले भने, ‘यसका लागि अहिलेलाई खोप नै प्रमुख उपाय देखिएको छ । त्यसैले नयाँ सरकारसँग मेरो अनुरोध छ छिटोभन्दा छिटो सबै जनतालाई खोपको व्यवस्था गरौँ ।’

कोभिडपछि नेपालको पर्यटन व्यवसाय तहसनहस बनेको भन्दै ग्लोबल आइएमई बैंकका अध्यक्षसमेत रहेका ढकालले हालै मात्र बैंकले वार्षिक अनिवार्य बिदा लिने बैंकका कर्मचारीले कम्तिमा सात दिन आन्तरिक पर्यटकीय स्थलमा अनिवार्य रुपमा भ्रमण गर्नुपर्ने व्यवस्था गरेको सुनाए ।

‘कोभिडको महामारी कम नभई तत्कालका लागि बिदेशी पर्यटक आउने सम्भावना पनि कम रहेकोले अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै बैंकले यो योजना ल्याएको हो,’ कार्यक्रममा उनले भने, ‘कोभिड–१९ को महामारीका कारण पूर्णरुपमा प्रभावित पर्यटन क्षेत्रलाई पुनरोत्थान गर्न तत्कालका लागि आन्तरिक पर्यटकहरुको खाँचो रहेको छ ।’

राज्यले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको बताउँदै, उनले कर्पोरेट हाउस, बैंक तथा वित्तीय क्षेत्रले पनि यसैगरी आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग गर्न सके नेपालको पर्यटन क्षेत्र लयमा फर्कन धेरै समय नलाग्ने समेत बताए ।

दोलखा जिल्लामा लगानीको सम्भावना निकै धेरै रहेको बताउँदै त्यसमा निजी क्षेत्रको छाता संगठनको वरिष्ठ उपाध्यक्षको हैसियतमा वा एक जना लगानकर्ताको हैसियतमा जस्तोसुकै तरिकाबाट पनि आफ्नो सहभागिता रहने र त्यस्ता सम्भावित परियोजनामा आफूले लगानी गर्ने उनले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *